१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्ता कब्जा गर्दैनौं : दाहाल

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनले आउँदो चुनावमा बहुमत ल्याए पनि सत्ता कब्जा नगर्ने स्पष्ट पारेका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा उम्मेदवार दाहालले बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा उक्त कुरा बताएका हुन् ।
    एमालेसँग चुनावमा तालमेल मात्रै नभएर पार्टी एकीकरण गर्ने पक्कापक्की नै भएको उनले बताए । ‘कम्युनिस्टहरू अनेक चिरामा रहने हो भने कांग्रेसको फेरो समाएर भए पनि सत्तामा त पुग्ने भए तर डाडुपन्युँ हातमा आउने भएन । यस्तो अवस्था रोक्न पनि हामी एक हुने दिशामा अगाडि बढेका हौं,’ दाहालले भने । तर कम्युनिस्टहरूले जित्दा अधिनायकवाद आउँछ भन्ने चर्चा भ्रम फैलाउन मात्रै गरिएको उनले बताए ।
    ‘राज्यलाई लोकतान्त्रिक तरिकाले सदुपयोग गरेर समाजवाद ल्याउन सकिन्छ भन्ने सन्देश हामीले दिँदैछौं । यो अधिनायकवाद ल्याउन खोजेको हैन,’ दाहालले भने । उनले आफूहरु लोकतान्त्रिक विधिभन्दा बाहिर नजाने बताए । एमालेसँग पार्टी एकताको निर्णय गरेर मात्रै चुनावी तालमेल भएको उनले बताए । ‘हामीले पार्टी एकता संयोजन समिति बनाएर तालमेलको निर्णयमा पुगेको हो । एकता हुन्छ–हुन्छ,’ दाहालले भने ।
    एकीकरणको विषय दशकौंदेखि उठ्दै आएको उनले बताए । ‘मदन भण्डारीको निधन हुनुअघि नै भेटघाट गर्ने क्रम सुरु भएको थियो । जेठ ११ गते वार्ताको मिति तय भएका बेलामा जेठ ३ मै उहाँको ज्यान गयो । ११ गते वार्ता भएको भए एकता उहिल्यै हुन्थ्यो कि,’ दाहालले भने । सशस्त्र संघर्षका बेलामा पनि एमाले र आफूहरुका बीचमा ५० औं पटक छलफल भएको उनले बताए ।
    ‘जनयुद्ध कालमै रोल्पाको लिसेवाङमा एमालेका नेताहरुसँग सहमतिपत्रमा हस्ताक्षर गरेका थियौं । त्यो सहमति नभएको भए दिल्लीमा ६२ सालको मंसिरमा कांग्रेसलगायतका दलहरुसँग १२ बुँदे सहमति पनि हुन्थ्यो कि नाइँ । त्यसैले यो नयाँ विषय होइन,’ दाहालले भने । अहिले पनि तोकेको समयमा नभएर १० दिनका लागि मात्रै भए पनि चुनाव सारेको भए पार्टी एकीकरण भइसक्ने अवस्था रहेको उनले बताए ।
    दाहाल चुनावी अभियानका लागि केही दिनका लागि चितवन आएका हुन् । एमाले र माओवादी संगठनमा आबद्ध चितवनका महिलाको सभालाई सम्बोधन गरेपछि उनले बिहीबार नै आफ्नो चुनावी क्षेत्र पुगेर घरदैलो कार्यक्रममा सहभागी भए ।
महिला सभामा बोल्दै नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले संसदको चुनाव लडेर आएको पार्टीले अधिनायकवाद ल्याउन खोज्दै नखोज्ने बताए ।

प्रकाशित: २४ कार्तिक २०७४ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App