२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसमा ‘रिफ्रेसमेन्ट’ को खाँचो: सह-महामन्त्री पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसमा ‘रिफ्रेसमेन्ट’ को खाँचो रहेको बताएका छन्। जनताको चाहाना अनुरूप पार्टीलाई परिमार्जित गर्दै जानुपर्ने भन्दै उनले ऊर्जा, आशा र अभिभावकत्वको खाँचो रहेको बताए।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सह–महामन्त्री पाण्डेले रूपान्तरित कांग्रेस र आधुनिक कांग्रेस बनाउनु पर्ने आजको आवश्यकता रहेको बताए।

२०१५ साल देखी अहिलेसम्म एउटै पद्धतिमा कांग्रेस हिँडिरहेको भन्दै त्यसलाई बदल्न आवश्यक रहेको उनको भनाइ थियो।

‘पुरानो पद्धतिले हुँदैन, युवाको सोच अनुसार कांग्रेस अगाडी बढ्नुपर्छ’ उनले भने, ‘मतदाता र युवाको भावनालाई समेट्दै अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नु पर्छ।’

सरकारले औसत काम गरिरहेको भन्दै उनले अझै ऊर्जाशील भएर काम गर्नुपर्ने बताए। हजारौं युवाहरू पलायन भइरहेकाले त्यो निराशाजनक अवस्थाबाट बाहिर निकाल्नुपर्ने दायित्व सरकारको भएको उनले बताए। युवाहरुमा आशा जगाउन नसके देशको अवस्था अझ जटिल बन्दै जाने उनको भनाई छ।

सन्धिखर्कको संगम फुडल्याण्डमा आयोजना भएको दुई दिने प्रशिक्षण कार्यक्रम शनिबार सकिएको छ। आन्तरिक संगठन सुदृढ बनाउने तथा नेता कार्यकर्तालाई जागरूक बनाउने उद्देश्यले आयोजना भएको तालिमको समापन गरिएको हो।

नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री पाण्डे सहित नेता देवराज चालिसे, केन्द्रीय सदस्य पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, लगायतले प्रशिक्षण दिएका छन्।

प्रकाशित: २७ आश्विन २०८० ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App