१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लाेकतान्त्रिक र वाम गठबन्धनबीच प्रतिस्पर्धा

सुरेन्द्र पौडेल/भाषा शर्मा

काठमाडौं – पहिलो चरणअन्तर्गत मंसिर १० गते प्रदेश नम्बर ७ का चार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । निर्वाचन हुन लागेको प्रदेश नं.७ का चार जिल्लामा बैतडी, बाजुरा, बझाङ र दार्चुला छन् । यी चार जिल्लाबाट प्रतिनिधिसभामा ४ जना (प्रत्येकबाट एक÷एक) र प्रदेशसभामा ८ जना (प्रत्यकेबाट दुई÷दुई) गरी कुल १२ जना निर्वाचित हुनेछन् । 

चारवटै जिल्लामा प्रमुख प्रतिस्पर्धा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिन्छ । स्थानीय निर्वाचनको मत परिणामअनुसार चारवटै जिल्लामा लोकतान्त्रिकको तुलनामा वाम गठबन्धन बलियो देखिएको छ । 

वाम गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, परिवार दल, चुरेभाबर, जनजागरण पार्टी नेपाल, समाजवादी जनता पार्टी छन् । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल छन्। 

बैतडी 

मंसिर १० गते हुने निर्वाचनमा बैतडीबाट प्रतिनिधिसभाका लागि एक जना र प्रदेशसभामा दुई जना निर्वाचित हुनेछन् । बैतडीमा ६ गाउँपालिका र ४ नगरपालिका गरी कुल १० वटा स्थानीय तह रहेका छन् । यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा बैतडीका स्थानीय तहमध्ये ५ वटामा लोकतान्त्रिक गठबन्धनले र ४ वटामा वाम गठबन्धनले जितेको थियो । 

प्रतिनिधिसभामा एक मात सीट रहेको बैतडीमा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि कुल ७५ हजार १ सय ९८ मत खसेको थियो । खसेको मतमध्ये वाम गठबन्धनले ४० हजार ८ सय ५० मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ३३ हजार ५ सय ५३ । बैतडीमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ७ हजार २ सय ९७ मत बढी ल्याएको थियो । 

बैतडी प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा स्थानीय निर्वाचनमा वाम गठबन्धनले २० हजार ८ सय ४८ र लोकतान्त्रिक गठबन्धनले १६ हजार १ सय ९९ मत पाएका थिए । यस क्षेत्रमा लोकतान्त्रिकको भन्दा ४ हजार ६ सय ४९ बढी मत वाम गठबन्धनले प्राप्त गरेको थियो । यस्तै, बैतडी प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा २ हजार ६ सय ४८ बढी मत प्राप्त गरेको थियो । यो क्षेत्रमा वाम गठबन्धनले २० हजार २ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले १७ हजार ३ सय ५४ । 

बाजुरा 

बाजुराबाट पनि मंसिर १० गते हुने निर्वाचनमार्फत प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जना उम्मेदवार विजयी हुनेछन् । बाजुरामा ४ नगरपालिका र ५ गाउँपालिका गरी कुल ९ स्थानीय तह रहेका छन् । यीमध्ये गएको स्थानीय निर्वाचनमा ६ वटामा कांग्रेस र ३ वटामा एमाले उम्मेदवारले जितेका थिए । बाजुरामा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि कुल ४९ हजार ९ सय ७७ मत खसेको थियो । खसेको मतमा लोकतान्त्रिक गठबन्धनको भन्दा वाम गठबन्धनले ३ हजार १ सय १३ मत बढी पाएको थियो । बाजुरामा वाम गठबन्धनले २६ हजार ५ सय २५ र लोकतान्त्रिक गठबन्धनले २३ हजार ४ सय १२ मत प्राप्त गरेका थिए । 

बाजुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा गएको स्थानीय निर्वाचनमा वाम गठबन्धनले १० हजार ७ सय ५९ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ७ हजार ९ सय ७ । लोकतान्त्रिकको भन्दा यहाँ वाम गठबन्धनले २ हजार ८ सय ५२ बढी मत पाएको थियो । बाजुरा प्रदेशसभा निर्वाचन क्षेत्रन नं.१ (ख) पनि वाम गठबन्धन लोकतान्त्रिक भन्दा केही मजबुत देखिन्छ । यो क्षेत्रमा गएको स्थानीय निर्वाचनमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा २ सय ६१ मत बढी पाएको थियो । यहाँ वाम गठबन्धनले १५ हजार ७ सय ६६ र लोकतान्त्रिकले १५ हजार ५ सय ५ मत प्राप्त गरेका थिए । 

बझाङ

बझाङबाट पनि प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुईजना निर्वाचित हुनेछन् । बझाङमा २ नगरपालिका र १० गाउँपालिका गरी कुल १२ स्थानीय तह छन् । यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा बझाङका स्थानीय तहमध्ये ८ वटामा एमाले र ३ वटामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । प्रतिनिधिसभाका लागि एक मात्र सिट रहेको बझाङमा गएको स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि कुल ६६ हजार ५ सय २७ मत खसेको थियो । खसेको मतमध्ये वाम गठबन्धनले ४० हजार ६ सय ६९ मत र लोकतान्त्रिक गठबन्धनले २५ हजार ८ सय १८ मत पाएका थिए । बझाङमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १४ हजार ८ सय ५१ मत बढि प्राप्त गरेको थियो । 

बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क)मा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले ६ हजार ५ सय ९४ मत पाएको थियो । यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले १८ हजार ९ सय ७१ र लोकतान्त्रिक गठबन्धनले १२ हजार ३ सय ७७ मत पाएका थिए । यस्तै, बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धनले २१ हजार ६ सय ९८ मत पाएको थियो भने लोकतान्त्रिकले १३ हजार ४ सय ४२ । यो क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ८ हजार २ सय ५६ मत बढी प्राप्त गरेको थियो । 

दार्चुला

दार्चुलाबाट प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जनाले प्रतिनिधित्व गर्नेछन् । दार्चुलामा २ नगरपालिका र ७ गाउँपालिका गरी कुल ९ स्थानीय तह रहेका छन् । यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा दार्चुलाका स्थानीय तहमध्ये ५ वटामा लोकतान्त्रिक गठबन्धनले र ४ वटामा वाम गठबन्धनले जित हात पारेका थिए । स्थानीय निर्वाचनमा दार्चुलामा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि कुल ५२ हजार ९ सय ४६ मत खसेको थियो । यो मतमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ८ हजार ३ सय २८ मत बढि पाएको थियो । दार्चुलामा वाम गठबन्धनले ३० हजार ५ सय १२ र लोकतान्त्रिक गठबन्धनले २२ हजार १ सय ८४ मत प्राप्त गरेका थिए । 

दार्चुला प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क)मा गएको स्थानीय निर्वाचनमा वाम गठबन्धनले १५ हजार ७९ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ८ हजार ५ सय ४५ । यो क्षेत्रमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले ६ हजार ५ सय ४५ मत बढी ल्याएको थियो । यस्तै, दार्चुला प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा स्थानीय निर्वाचनमा वाम गठबन्धनले १५ हजार ४ सय ३३ र लोकतान्त्रिक गठबन्धनले १३ हजार ६ सय ३९ मत पाएका थिए । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा लोकतान्त्रिक भन्दा वाम गठबन्धन १ हजार ७ सय ९४ मतले अगाडि रहेको थियो । 

 

 

प्रकाशित: १८ कार्तिक २०७४ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App