१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लिङ्देनलाई सघाउने निर्णयले झापाका वाम कार्यकर्ता असन्तुष्ट

उम्मेदवारी दर्ताका क्रममा राप्रपा नेता लिङदेन । तस्बिर : राजु अधिकारी

झापा— झापा ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाउने एमाले –माओवादी नेताहरुको निर्णयविरुद्ध बाम गठबन्धनभित्रबाटै तीव्र असन्तोष शुरु भएको छ। एमाले र माओवादीका कार्यकर्ताहरुले झापाको गठबन्धनले ‘बाम गठबन्धनको बेइज्जत भएको’ भन्दै असन्तोष प्रकट गरेका छन्। 

संविधानमा उल्लेखित ‘समाजवाद प्राप्तिका लागि’ भन्दै गरिएको बाम गठबन्धनमा हिन्दूवादी राप्रपा समेट्ने काम ‘गलत र आश्चर्यजनक’ भएको जनाउँदै  गठबन्धनका कार्यकर्ताले असन्तोष प्रकट गरेका हुन्। गठबन्धनभित्र असन्तोष शुरु भएको प्रमाण बिहीबारको उम्मेद्वारी दर्ता क्रममै देखियो। 

लिङ्देनको उम्मेद्वारी दर्ताका क्रममा  प्रस्तावक र समर्थकमा बाम गठबन्धनबाट एक–एक जना बस्ने जिल्ला तहका नेताहरुबीच सहमति भएको थियो। सहमति पहिल्यै दिन कार्यान्वयन भएन।  एमाले र माओवादीका सबै उम्मेद्वारहरुका समर्थक–प्रस्तावक बाँडिएका छन्। तर, राप्रपाको हकमा त्यसो हुन सकेन। 

 ‘गिरिजाप्रसाद माले, मसाले र मण्डले एकै हुन् भन्थे’, माओवादी केन्द्र झापाका प्रभावशाली नेता हिक्मत घिमिरेले बिहीबारै फेसबुकमा लेखे ‘आज प्रमाणित नै भयो।’ 

जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा जब प्रस्तावक र समर्थकको खोजी भयो त्यसबेला माओवादी केन्द्रका नेता–कार्यकर्ता अनुपस्थित थिए। त्यसपछि राप्रपाकै अञ्जार आलम प्रस्तावक बने, समर्थकमा एमालेका धर्म शिवाकोटी। ‘नेताहरुले गरेको निर्णय गलत थियो, त्यही कुरा जनाउन हामी समर्थक नबसेका हौं’, माओवादीका प्रदेश सभा सचिवालयका एक  नेताले नागरिकन्युजसँग भने ‘बाम गठबन्धनमा हिन्दुवादी राप्रपाको प्रवेश ज्यादै अस्वाभाविक भयो।’ 
बामपन्थीहरु एकताबद्ध रहँदा २०४८ मा झापासहित मेची अञ्चलमै सबै सिट जितेका थिए। यसपटक बाम एकता भएपछि झापाको पुरानो किल्ला फर्काउने भन्दै दुवै दलका कार्यकर्ता उत्साही थिए। तर अन्तिम समयमा नाटकीय रुपमा गठबन्धनमा राप्रपाको प्रवेश भएपछि निष्ठावान बाम कार्यकर्ता आक्रोशित छन्। 

यसअघि एमाले र माओवादीबीच जिल्लाका प्रतिनिधिसभाका पाँच  र प्रदेशका १० सिट बाँडफाँड हुने सहमति भइसकेको थियो। राप्रपा काँग्रेससँग तालमेलमा सहभागी थियो।  बाम गठबन्धनबाट एमालेका पुष्प पोखरेल उम्मेद्वार हुने तय थियो। महासचिव ईश्वर पोखरेलका भाई समेत रहेका पूवै सांसद पोखरेललाई टिकट दिन ईश्वर पोखरेलले जोडबल लगाएका थिए।

उता लोकतान्त्रिक गठबनधनमा चाहिँ  लिङदेन प्रत्यक्षमा र सिटौला समानुपातिकमा रहने सहमति थियो। अन्तिम समयमा  काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले समानुपातिकमा बस्न अस्वीकार गर्दै  झापा ३ मा उम्मेद्वारी दिने निर्णय लिएपछि राप्रपाले ‘प्रदेश १ मा काँग्रेससँग गठबन्धन टुटेको’ जनाएको थियो। लगत्तै राप्रपाले बाम गठबन्धनसँग झापा ३ मा आफूलाई सघाए मेची अञ्चलभरि गठबन्धनलाई सघाउने प्रस्ताव पनि राख्यो।  प्रस्तावले गठबन्धन लोभियो। उम्मेद्वारी दर्ताको अघिल्लो दिन एमाले र माओवादी नेताहरुले अन्ततः राप्रपालाई सघाउने निर्णय लिए। लगत्तै एमाले र माओवादीका कार्यकर्ताले सामाजिक सञ्जालमार्फत तीव्र असन्तोष प्रकट गरे।

केन्द्रमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्ने निर्णय हुँदै गर्दा दुवै पार्टीका झापाका कार्यकर्ताले सामाजिक सञ्जालको भित्तोमा लेखे ‘पुरानो लालकिल्ला अब फर्किने भो।’ तर, राप्रपालाई क्षेत्र दिँदा सपना पूरा नहुने भन्दै उनीहरुले असन्तुष्टि पोखेका हुन्।  ‘गिरिजाप्रसाद माले, मसाले र मण्डले एकै हुन् भन्थे’, माओवादी केन्द्र झापाका प्रभावशाली नेता हिक्मत घिमिरेले बिहीबारै फेसबुकमा लेखे ‘आज प्रमाणित नै भयो।’ 

राप्रपालाई गठबन्धनमा सहभागी गराएको विरोधमा एमालेभित्रै पनि ठूलै हलचल आएको छ। यतिञ्जेल उम्मेद्वारका रुपमा चर्चामा रहेका नेता पुष्प पोखरेल र उनका समर्थकहरु बिहीबार उम्मेद्वारी दर्ताका क्रममा उपस्थित भएनन्। यसरी एमाले र माओवादीभित्र व्यापक असन्तोष शुरु भएपछि शीर्ष नेताहरु त्यसलाई साम्य पार्न लागेका छन्। 
उम्मेद्वारी दर्तापछि आयोजित संयुक्त कार्यक्रममा माओवादी र एमालेका नेताहरुसँगै बसेर राप्रपा महामन्त्री लिङ्देनले सभालाई सम्बोधन गरे। ‘राष्ट्रवादी र आत्मसमर्पणवादको विपक्षमा रहनेहरुको यो गठबन्धन हो’ भन्दै उनले एमाले र माओवादीलाई अन्यत्र ‘फाउमा भोट दिलाइदिने’ वाचा गरे। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने काँग्रेसको बेइमानीविरुद्ध यस्तो कदम चालेको बताए। ‘काँग्रेसले राप्रपासँग बेइमानी गर्यो’, उनले भने ‘हामीसँग सहकार्यको प्रस्ताव आयो। हामीले इमान्दारीपूर्वक स्वागत गरेका हौं।’ माओवादी नेता राम कार्कीले भने यो ‘ट्याक्टिकल’ कदम भएको बताए। ‘कम्युनिष्टहरुको दुईटा कुरा हुन्छ, एउटा रणनीति र अर्को कार्यनीति’, उनले भने ‘एमालेसँगको सहकार्य रणनीतिक हो, जुन दीर्घकालीन हो । राप्रपासँगको विजातीय सहकार्य कार्यनीतिक हो, जुन अल्पकालीन हो।’ 

 

प्रकाशित: १७ कार्तिक २०७४ ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App