१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिट बाँडफाँटमा समस्या हुँदा गठबन्धन सकसमा

झापा- गठबन्धनका ‘हेभिवेट’ नेताहरूका लागि भाग पु¥याउनै  समस्या भएपछि झापामा वाम र लोकतान्त्रिक गठबन्धनलाई सिट बाँडफाँट मुद्दा जटिल बनेको छ । जिल्लाका नेताहरूको उपस्थितिमा राजधानीमा चलिरहेका बैठकबाट सिट बाँडफाँटको सकस समाप्त भएको छैन ।
दुई प्रभावशाली नेताले एउटै क्षेत्र नछाड्ने अड्डी लिँदा लोकतान्त्रिक गठबन्धन समस्यामा छ  । कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन दुवै झापा ३ छाड्न तयार छैनन् । राप्रपा महामन्त्री लिङदेन त गठबन्धन तोडिएको अभिव्यक्ति दिँदै झापा ३ नछाड्ने बताइरहेका छन् । वाम गठबन्धनमा चाहिँ एमाले र माओवादी केन्द्र दुवैका अध्यक्षले आफ्नो ‘दाहिने हात’ का लागि झापा २ को दाबी नछाड्दा  सकस चुलिएको हो ।  एमाले र माओवादीका नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली झापा २ मा आफू निकटका नेता अग्नि खरेललाई कुनै पनि हालतमा उम्मेदवार बनाउने अडानमा छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल  सोही क्षेत्रमा आफ्ना सहयोगी राम कार्कीलाई उम्मेदवार बनाउने अभियानमा छन् । ‘एउटै क्षेत्रमा दुई शीर्ष नेताको दाबीले सकस परेको छ’, माओवादी केन्द्र स्रोतको भनाइ छ, ‘तर, यो चाँडै समाधान हुन्छ ।’
झापाकै सिट बाँडफाँटको विवादले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपा रहनेल वा नरहने अन्योल सिर्जना भएको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएर झापा–३ को  प्रत्यक्षमा राखेपछि गठबन्धनको सहयात्री दल राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन आक्रोशित बनेका छन् । गठबन्धनका क्रममा झापा ३ मा लिङ्देन प्रत्यक्षमा लड्ने र सिटौलालाई समानुपातिक सूचीमा राख्ने सहमति भएको थियो । सोहीअनुसार कांग्रेसले उनको नाम पहिलो नम्बरमै राखेको थियो । तर, आफूलाई क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्न चर्को दबाब आएको भन्दै सिटौलाले समानुपातिक सूचीबाट नाम हटाउन लगाएर प्रत्यक्षतर्फ लड्ने घोषणा गरेपछि यी दुई दलको सहयात्रा जोखिममा परेको हो ।
राप्रपाभित्र प्रभावशाली भूमिकामा  रहेका महामन्त्री लिङ्देनले  सार्वजनिक रूपमै कांग्रेससँगको गठबन्धन टुटेको अभिव्यक्ति दिइसकेका छन् । ‘एउटै गठबन्धनबाट एकै क्षेत्रमा दुई उम्मेदवार बन्ने कुरा हुँदैन’, लिङ्देनले भने, ‘हामी आफू–आफू चुनाव लडेपछि गठबन्धन टुटेको भन्न मिल्छ ।’ दुई सातायता घरदैलोमा व्यस्त रहेका लिङ्देनलाई कांग्रेसले झापा ५ बाट उठ्न आग्रह गरेको छ । जहाँ वाम गठबन्धनबाट एमाले अध्यक्ष ओली उम्मेद्वार बन्दैछन् । ‘राप्रपा र कांग्रेस मिलेपछि झापा ५ बलियो क्षेत्र हो, त्यो क्षेत्र हामीले छाड्ने भनेका छौं,’ झापा कांग्रेसका एक पदाधिकारीले भने, ‘राजेन्द्रजी त्यहाँ उठे हुन्छ ।’ तर, लिङ्देनले भने आफ्नो पुरानो क्षेत्र कुनै हालतमा नछाड्ने अडान लिएका छन् । ‘मैले आफ्नो क्षेत्र छाडेर अन्यत्र जाने कल्पना कसैले गरेको छ भने त्यो भ्रम हो’, लिङदेनले भने ‘यसपटक सिटौलालाई हराउने मेरो धोको चाहिँ पूरा हुनेभयो ।’
संविधानसभाको दोस्रो निर्वाचनमा सिटौलाले झापा ३ मा जित्दा थोरै मतान्तरले लिङदेन पछि परेका थिए । तर, यसपटकको स्थानीय तह चुनावमा राप्रपाले लिङ्देनकै नेतृत्वमा झापा ३ मा उत्कृष्ट नतिजा ल्याएको  छ ।  झापा ३ मा पर्ने कचनकवल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडाध्यक्ष जितेको राप्रपाले यही क्षेत्रको हल्दीबारीमा पनि गाउँपालिका अध्यक्ष जितेको छ । सिटौलाको आधारभूमि मानिने भद्रपुरमा एमालेले प्रमुख–उपप्रमुखसहित बहुमत स्थान जितेको छ । देशभरि राप्रपाले खराब नतिजा ल्याउँदा झापामा तीन गाउँपालिका जिताएर प्रशंसा बटुलेका लिङ्देन  र यही क्षेत्रबाट पटकपटक जित्दै आएका कांग्रेस नेता सिटौलाको आत्मविश्वासले लोकतान्त्रिक गठबन्धनमा समस्या ल्याउने खतरा बढेको छ ।  झापा ३ का कांग्रेस नेताहरू गठबनधन तोडिए पनि फरक नपर्ने बताइरहेका छन् । ‘हामीले सधैं जितेको क्षेत्र राप्रपालाई किन छाड्नुपर्ने ?’, उनीहरूको प्रश्न छ ।
वाम गठबन्धनमा दुई ठूला नेताले आफ्ना सहयोगीलाई च्याप्न खोज्दा जिल्ला तहबाट सिफारिस भएर गएको नाम गायब हुने खतरा बढेको छ । झापा २ बाट एमालेले पवित्रा खरेलको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस गरेको छ । तर, उनी सिफारिसमा परेको क्षेत्रमा ओलीले अग्नि खरेललाई अघि सारेपछि पवित्राको नाम समानुपातिक सूचीतिर सरेको छ । ओलीले राम कार्कीलाई झापा १ मा उम्मेदवार बन्न भनिरहेको एमाले स्रोतले जनाएको छ । तर, माओवादीले झापा २ को आफ्नो दाबी छाडेको छैन । माओवादीका जिल्ला तहका नेताकार्यकर्ता पनि कार्कीलाई  झापा २ मा उम्मेदवार बनाउनुपर्ने मागमा छन् ।   प्रतिनिधिसभाका लागि पाँच सिट रहेको झापामा १ सिट माओवादीले लिने सहमति छ । झापा १ मा भने एमालेले गोपाल बुढाथोकीको नाम सिफारिस गरेको थियो ।  
एमालेका प्रभावशाली नेताहरूले आआफ्ना सहयोगीलाई सिट दिन खोज्दा समस्या भएको स्रोतको भनाइ छ । ‘झापा ३ मा पुष्प पोखरेल हुनैपर्ने अडान ईश्वर पोखरेलको छ, ४ मा एलपी साँवा नभई नजितिने कुरा ओलीको छ’, स्रोतले भन्यो ‘दुई पनि अग्निलाई चाहिने अनि पाँच ओलीले आफैं राख्ने भएपछि बाँकी रह्यो एक, त्यहाँ माओवादी जानै नमान्ने भएपछि समस्या आएको हो ।’

प्रकाशित: १६ कार्तिक २०७४ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App