५ वैशाख २०८१ बुधबार
राजनीति

दोलखामा कांग्रेसको चुनावी अभियान सुरु

दोलखा – २०४८ यताका अधिकांश चुनाव वामपन्थीले जित्दै आएको दोलखामा यस पटक दोलखा कांग्रेसले कम्युनिस्ट गढ भत्काउने गरी आक्रामक रणनीतिसहित चुनावी अभियान थालेको छ । 

सोमबार जिल्लाका दुवै प्रादेशिक क्षेत्रबाट संयुक्त रूपमा सुरु भएको चुनावी अभियान २४ दिनसम्म चल्ने जिल्ला कांग्रेसले जनाएको छ । प्रदेश सभा क्षेत्र नं (क) को वैत्येश्वर गाउँपालिकास्थित नाम्दु र (ख) को कालिञ्चोक गाउँपालिकास्थित सुन्द्रावतीबाट सुरु चुनावी अभियानमार्फत दोलखा कांग्रेसका नेताहरूले यसपटकको निर्वाचनमार्फत जिल्लामा कम्युनिस्ट किल्ला तोडिछाड्ने उद्घोष गरे।  

‘हिजो कम्युनिस्टहरूले कांग्रेस र दोलखाका जनताबीच आफ्नो स्वार्थका निम्ति पर्खाल खडा गरेका थिए,’ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खड्काले भने, ‘यस पटक त्यो पर्खाल दोलखाबासी र हामीले संयुक्त रुपमा तोडेर कांग्रेस र जिल्लाबासीलाई जोड्दैछौं।’ 

पार्टीका जिल्ला सचिव सन्तोष रिमालका अनुसार महिला, दलित, जनजातिसहित विभिन्न समुदायबीच उम्मेदवारहरु विशेष अभियानसहित पुग्नेछन् । यस्तै उम्मेदवारको प्रचारप्रसारमा नयाँ शैली अपनाइने पार्टीले जनाएको छ । चुनाव प्रचार गर्न जिल्लाभर ५ हजार युवा शक्ति परिचालन गर्ने तयारी कांग्रेसको छ । 

पार्टी जिल्ला तहका शीर्ष नेताहरु गाउँपालिका र नगरपालिकाको चुनावी कमान्ड सम्हाल्ने गरी खटिएका छन् । पूर्वपार्टी सभापति उद्धवराज काफ्ले जिल्लास्तरीय चुनावी परिचालन समितिको कमान्डर तोकिएका छन् भने पूर्वकेन्द्र्रीय सदस्य जिपछिरिङ लामा, पूर्वपार्टी सभापति ताराबहादुर कोइराला, देवी न्यौपाने, जिल्ला नेता ईश्वर मानन्धर, नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले, जिल्लाको दुई गाउँपालिकामा पार्टीका तर्फबाट निर्वाचित अध्यक्षहरु छवि लामा र युधिष्ठिर खड्का जिल्लाका विभिन्न स्थानीय तहको चुनावी कमान्डर तोकिएका छन् । 

कांग्रेसको चुनावी अभियान सोमबार दुवै क्षेत्रबाट सुरु भएको  छ । ‘यसअघि एक्लै चुनावमा लडिन्थ्यो,’ एक जिल्ला नेताले भने, ‘यसपटक दुई पार्टीको गठबन्धनसँग निर्वाचन लड्न लागिएका कारण आक्रामक रणनीति सहित चुनावी अभियान सुरु गर्न लागिएको हो ।’ 

उम्मेदवारका अनुसार वामपन्थी गठबन्धनविरुद्ध कांग्रेसले दुवै क्षेत्रमा अजेन्डागत प्रचार गरिनेछ । ‘२०४८ सालदेखि कम्युनिस्टले लगातार जित्दै जिल्लावासीबाट लगेको मत धेरै पटक दुरुपयोग भयो,’ प्रदेश सभा (ख) का कांग्रेस उम्मेदवार केशवराज चौलागाईंले भने, ‘विकासका काम देखि कुनै पनि कुरामा नयाँ दृष्किोण केही नदिई आफैंमा मोटाएका कारण विकासका क्षेत्रमा गरेको मनपरीतन्त्र बोकेर जनतामा जाँदैछौं’ । क्षेत्र नं (ख) मा चौलागाईंसँग एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले प्रतिस्पर्धा गर्दैछन् ।  

यस्तै पार्टीले माओवादी केन्द्र र एमालेले जिल्लाको विकासमा स्वार्थ राखेको आरोप लगाउँदै त्यसलाई समेत अजेन्डाका रूपमा अघि सारेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार खड्काले सुन्द्रावतीमा आयोजित कार्यक्रममार्फत तामाकोसी तेस्रो आयोजना निर्माण गर्न तयारी भएको नर्वेजियन कम्पनीलाई करोडौं चन्दा मागेर वामपन्थीले नै यो जिल्लाबाट लखेटेको आरोप लगाए । खड्कासँग एमालेका पार्वत गुरुङले प्रतिस्पर्धा गर्दैछन् । 

क्षेत्र नं (क) मा एमाले र माओवादीबीच लामो समयदेखिको टकरावको फाइदा लिने रणनीति कांग्रेसको छ । (क) मा कांग्रेसबाट बर्मा लामा र वामपन्थी गठबन्धनका तर्फबाट माओवादीका विशाल खड्का चुनावी मैदानमा छन् । गत स्थानीय चुनावमा एमाले कार्यकर्ताको हत्या हुँदा माओवादीका उम्मेदवार खड्कासहित ३९ जना नेताकार्यकर्ताविरुद्ध एमालेले मुद्दा दायर गरेको छ। 

प्रकाशित: १४ कार्तिक २०७४ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App