७ वैशाख २०८१ शुक्रबार
राजनीति

टाढिएका बाम प्यूठानमा नजिकिँदै

प्यूठान— केन्द्रमा पार्टी एकिकरणको चर्चासँगै चुनावी तालमेलमा होमिएका दलहरु एक आपसमा पुराना कुरा बिर्सिएर नजिक हुन थालेका छन्। एक अर्कालाई सत्तोसराप गर्ने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता यतिबेला सम्बन्ध सुधारमा जुटेका हुन्।

२०४८ सालदेखि २०५६ सालसम्म नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चालाई सघाउँदै आएको नेकपा एमाले २०७० सालको संविधान सभाको निर्वाचनमा एक÷एक निर्वाचन क्षेत्र बनाउन राजमोले नमानेपछि एमाले अलग्गिन पुगेको थियो।

२०५२  सालदेखि भूमिगत राजनीति गर्दै आएको तत्कालीन नेकपा माओवादी पनि २०६४ सालको संविधान सभा निर्वाचनमा राजमो र एमालेलाई पछाडि पार्दै जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्नो विजयी झण्डा फहरायो। त्यस बेलादेखि कम्युनिष्ट भएर पनि एक आपसमा शत्रुका रुपमा रहँदै आएका यी तीन कम्युनिष्टहरु २०७० सालको निर्वाचनले झन टाढा बनायो।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका बामदेव गौतम प्यूठान क्षेत्र नं. १ मा उमेद्वारी दिएसँगै जिल्लामा यी तिनै दलले आफ्नो पकड जमाउने दाउमा चुनावी मैदानमा होमिए।संविधान सभा दोस्रो निर्वाचनमा एमालेले पहिलो पटक दुवै निर्वाचन क्षेत्रमा बिजयी भयो।

अघिल्ला निर्वाचनमा एमालेले राजमोलाई सघाउँदै आएपनि यो निर्वानपछि एमालेसँग कुनैपनि सहकार्य र सम्झौता नगर्ने भन्दै राजमो जिल्ला पार्टीले बिज्ञप्ती जारी गरेको थियो। त्यसपश्चात जिल्लामा हुने हरेक संघ संस्था र ब्यवसायीसम्बन्धी चुनावमा एमाले एक्लिन पुग्यो। राजमोले कांग्रेस र माओवादीसँग तालमेल गर्न थालेको थियो। यो क्रम स्थानीय तह निर्वाचनसम्म जोडिन पुग्यो।

२०६४ सालको संविधान सभा निर्वाचन पश्चात टाढिएका एमाले, राजमो, माओवादी कार्यकर्ता एक आपसमा चिढिएका थिए। यतिबेला भने एकाएक यु–टर्न भएका छन् । २०७० को दोस्रो संविधान पछि त यी दलहरु एक अर्काबीच पानी बारावार जस्तै भएको थियो। राजमो र एमालेको सम्बन्ध सबैको भन्दा चिसो थियो।

जिल्लामा पहिलो शक्तिको रुपमा रहेको राजमोलाई एमालेले संविधान सभा निर्वाचनमा नसघाउँदा दुबै पटकको निर्वाचनमा पराजीत भएकोले राजमो एमालेसँग रुष्ट थियो। त्यसपछि राजमोको प्रमुख सत्रु एमाले बन्दै आयो। २०६४ मा माओवादी र २०७० मा एमालेले दुबै निर्वाचन क्षेत्रमा आफ्नो बिजयीको झण्डा फहराए पश्चात राजमो झनै कमजोर बन्न पुग्यो।

एमालेको सहयोगले बिगतका संसदीय तथा स्थानीय निकाय निर्वाचनमा प्रमुख बनेको राजमो संविधान सभा निर्वाचनमा सहकार्य नहुँदा एमाले र माओवादीसँग दुबै पटकका निर्वाचनमा पराजीत हुन पुग्यो। त्यसदेखि नजिक हुँदा मात्रै बोल्ने यी दलका नेता कार्यकर्ता अहिले संयुक्त सभा र बिज्ञप्ति समेत जारी गर्दै हिँड्न थालेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा पनि सम्बन्ध नजिकिएको अभिब्यक्ति यी दलका कार्यकर्ताहरुले पोष्ट गर्न थालेका छन्। राजनैतिक दुश्मन अस्थायी हुन्छ भन्दै कार्यकर्ताहरुले सामाजिक सञ्जाल र भेटका बेला एक अर्का पार्टीको बचाउ समेत गर्न भ्याउँछन्। बामपन्थी एकीकरणको चर्चासँगै यतिबेला जिल्लाका साबिकका बिभिन्न गाविसमा संयुक्त आमसभा गरिरहेका छन्।

एक साताअँघि गौमुखी गाउँपालिकाको खुङमा संयुक्त सभा आयोजना गरेका एमाले, राजमो र माओवादीले मंगलवार जुम्रिकाँढामा पनि सभा संचालन गरेका छन्। यी ठाउँबाट उनीहरुले एकैसाथ राष्ट्रियता रक्षाको खातीर सबै बाम एक हुनुपरेको टिप्पणी गर्दै आएका छन्। राष्ट्रिय बाम गठबन्धनले सम्बन्ध सुधार्ने मौका पाएका प्यूठानका कम्युनिष्टहरु यतिबेला जिल्लाको प्रमुख शक्तिको रुपमा देखिएका छन्।

स्थानीय तह निर्वाचनमा राजमो, माओवादी र कांग्रेसले चुनावी तालमेल गर्दा एमाले जिल्लामा एक्लै चुनावी मैदानमा थियो। २०७० सालको निर्वाचनमा पहिलो शक्तिको रुपमा देखा परेको एमाले यसपालीको स्थानीय तह निर्वाचनमा पनि पहिलो पार्टी बनेको छ।

केन्द्रिय तथा प्रदेश स्तरीय निर्वाचनमा एकैसाथ होमिएका दलहरु जिल्लामा पहिलो पार्टी एमाले सँगको सहकार्य राजमो र माओवादीले सबैभन्दा उपयुक्त ठानेका छन् । केन्द्रमा एक र प्रदेशमा दुई सिट रहेको प्यूठानमा राष्ट्रिय समिकरण अनुसार केन्द्रमा राजमो र प्रदेशमा एमाले, माओवादीले एक÷एक सिटमा प्रत्यक्ष चुनाव लड्ने सहमति भएको छ ।
प्यूठान जिल्ला कम्युनिष्टहरुको नर्सरीको जिल्लाको रुपमा परिचित रहेपनि यतिबेला प्रमुख बाम घटक एक ठाउँमा हुनुले विकासको गति लिने एमाले प्यूठानका अध्यक्ष तुलसीराम शर्मा बताउँछन् । जिल्लामा पहिलो शक्तिको रुपमा एमाले भएपनि राष्ट्रिय समिकरण अनुसार साझा उमेद्वारको रुपमा राजमोलाई दिएको उनले बताए।

सबै दल मिल्नुको बिकल्प नभएको भन्दै माओवादी केन्द्र प्यूठानका इन्चार्ज कृष्णध्वज खड्काले बाम एकता आजको आवस्यकता रहेको औंल्याए। बाम शक्तिहरु तँ ठुलो म ठुलो भन्नुभन्दा एजेण्डालाई प्रमुख बनाएर जानुपर्ने उनको धारणा छ। वि.स. २००६ सालदेखि नै यहाँ कम्युनिष्ट पार्टी स्थापना भएको जनाउँदै राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष कृष्ण बहादुर खड्काले त्यसताकाका संस्थापक मोहनविक्रम सिंह अहिले पनि नेकपा मसालको महामन्त्रिको रुपमा सक्रिय रहेको बताए। 

विभिन्न टुटफुट र बैचारिक संघर्ष गर्दै हालसम्म भिन्न भिन्न पार्टीको रुपमा संघर्ष गर्दै आएका कम्युनिष्टहरु अहिले भने संगै चुनावी मैदानमा दौडिनु संयोग मात्र नभई आवस्यकता भएको उनले जानकारी दिए। पार्टीगत एकताको प्रयाससँगै जिल्लाका सबै कम्युनिष्टहरु एकैसाथ चुनावी तालमेल र सहकार्यमा एकमनाका साथ लाग्ने खड्काको धारणा छ।

 

प्रकाशित: ९ कार्तिक २०७४ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App