१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रसुवामा २३ उम्मेदवार

रसुवा – आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा रसुवाबाट २३ जना उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचनमा भाग लिनका लागि आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अन्तिम नामावली प्रकाशन गरेको छ। 

एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवामा दुईटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभामा ११ जना र प्रदेश सभामा १२ जना गरी २३ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । 
निर्वाचनमा वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन, लिबरल डेमोक्रेटिक पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले चुनावमा भाग लिँदैछन् । ११ जना दुईटै गठबन्धनले उठाएका स्वतन्त्र उम्मेदवार हुन् । नामावली प्रकाशनसँगै निर्वाचनमा भाग लिने उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न प्रदान गरेको छ। 

मतदाता शिक्षा सामग्री नआउँदा समस्या
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन करिब एक महिनामात्र बाँकी रहँदा जिल्लामा मतदाता शिक्षा सामग्री नआएको पाइएको छ। 

मतदाता शिक्षा सामग्री अभावले जिल्लामा निर्वाचन शिक्षा कार्यक्रम सुरु गर्न समस्या भएको छ । ढिलो गरेर सामग्री आउँदा मतदाता शिक्षा कार्यकर्ता समयमा नै परिचालन हुन नसक्ने हुँदा मतदाताले प्रभावकारी रूपमा जानकारी नपाउने जानकार बताउँछन्। 

गत वैशाख ३१ गते भएको निर्वाचनमा पनि मतदाता शिक्षा कार्यकर्ता समयमा नै गाउँ तहमा नपुग्दा धेरै मत बदर भएको थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार मतदाता शिक्ष सम्बन्धी अख्तियारी, सामग्री र रकम नआएकाले छनोट गरिएका कार्यकर्ता परिचालन गर्न सकिएको छैन। 

जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले भने, “मतदाता शिक्षा कार्यकर्ता छनोट गरेका छांै, सामग्री आयो भने कात्तिक १३ गतेबाट तालिम सञ्चालन गर्छौं।”

यसअघि गाउँमा खटाइएका निर्वाचन शिक्षा कार्यकर्ता गाउँ नपुगेपछि राजनीतिक दलले आ–आफ्नै चिह्नमा मतदान गर्नका लागि मतदातालाई सिकाएका थिए । यसले बदर मतको संख्या केही घटे पनि मतदाताले आफूले छानेको उम्मेदवारलाई मतदान गर्न सकेका थिएनन्। 

जिल्लामा ४५ वटा मतदान केन्द्र र ३६ वटा मतदानस्थल कायम गरिएको छ । स्थानीय तह निर्वाचनमा ४२ वटा मतदान केन्द्र थिए ।  यो पटक खाल्डे, स्याफ्रु र नवजीवन थपिएका छन्। 

एउटामात्र निर्वाचन क्षेत्र रहेको रसुवामा यो पटक ३२ हजार ३ सय २२ मतदाताले मतदान गर्नेछन् । जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिने छन् भने २ सय ४० म्यादी प्रहरी खटाइने प्रहरी नायब उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले बताए। 

प्रकाशित: ९ कार्तिक २०७४ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App