१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रसंघका महासचिव आउँदै

महासचिव गुटेरेस

गत पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेसँगै शक्तिराष्ट्रका प्रतिनिधिहरू एकपछि अर्को गर्दै काठमाडौं उत्रिने क्रमले निरन्तरता पाएको छ।

दुई छिमेकी मुलुक भारत र चीनका साथै अन्य शक्तिराष्ट्रहरूले पनि नेपालप्रति चासो बढाइरहेका बेला त्यहाँका विभिन्न तहका अधिकारीहरू एकपछि अर्को गर्दै काठमाडौं उत्रिने क्रम जारी छ।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि नेपालको शान्तिप्रक्रियाका साथै आर्थिक, सामाजिक र राजनीतिक विषयमा शक्तिराष्ट्रहरूको चासो बढ्दै गएको हो।

१० वर्षे हिंसात्मक आन्दोलन अन्त्य गरेर माओवादी शान्तिप्रक्रियामा आएको लामो समय भएको छ। तर अहिलेसम्म शान्तिप्रक्रियाका बाँकी काम टुंगो लाग्न नसक्दा दाहाल नेतृत्वको सरकार दबाबमा परेको छ।

दलीय सहमतिका आधारमा सत्यनिरूपण तथा मेलमिलापका काम टुंगोमा पुर्‍याउन प्रमुख दलहरू असफल बनेका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने लागेका छन्।

असोज २६ देखि २९ गतेसम्म महासचिव गुटेरेस नेपाल भ्रमणमा आउने तयारीमा रहेको परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री दाहालले महासचिव एन्टोनियोसँग भेट गरेका थिए। त्यहाँबाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गरेर प्रधानमन्त्री दाहाल असोज १२ गते काठमाडौं उत्रिएका हुन्।

एमसिसी सम्झौता कार्यान्वयनका विषयमा अमेरिकाले चासो राख्दै आएको छ। त्यसको कार्यान्वयनका लागि पछिल्ला दिनमा अमेरिकाका विभिन्न उच्च अधिकारीहरू एकपछि अर्को गर्दै काठमाडौं आउने क्रम रोकिएको छैन।

सोही क्रममा एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट काठमाडौं उत्रिएकी थिइन्। काठमाडौंमा रहँदा प्रधानमन्त्री दाहालसहित उच्च राजनीतिक नेतृत्वसँग भेट गरेकी उनले नेपालको राजनीतिक र आर्थिक विषयमा चासो राखेकी थिइन्। एलिस अलब्राइट काठमाडौंमा भएकै बेला अस्ट्रेलियाका सभामुख मिल्टन डिक नेपाल भ्रमणमा आएका थिए।

जेठको दोस्रो साता प्रधानमन्त्री दाहाल भारत भ्रमणमा निस्किएका थिए। त्यसअघि भारतका विदेश सचिव विनय मोहन क्वात्रासहितका उच्च अधिकारीहरू काठमाडौं आएका थिए। सोही बेला दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर पनि काठमाडौं आइपुगेकी थिइन्।

अख्तियारपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार नेपाल भ्रमणमा आएकी थिइन्।

माघ २४ गते अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग प्रमुख समान्था पावर काठमाडौं आएर माघ २५ स्वदेश फर्केकी थिइन्। माघ १६ र १७ गते अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आएकी थिइन्।

अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघकी आयुक्त जुटा उर्पिलाइनेन, बेलायतका रक्षामन्त्री एन्ड्र्यु मोरिसनसहितका उच्च अधिकारीहरूले औपचारिक रूपमै नेपाल भ्रमण गरेका छन्। दुई छिमेकी मुलुक भारत र चीनका उच्च अधिकारीहरू अनौपचारिक रूपमा लगातार नेपाल भ्रमणमा रहेको परराष्ट्र स्रोतको दाबी छ।

प्रकाशित: १९ आश्विन २०८० ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App