१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

धरानमा मेयर र वडा अध्यक्षबीच चर्काचर्की, कार्यपालिका बैठक स्थगित

धरानको कार्यपालिका बैठक। तस्बिर: रोहित राई/नागरिक।

मेयर हर्क साम्पाङ र वडा अध्यक्षहरुबीच चर्काचर्की परेपछि धरानको कार्यपालिका बैठक बीचैमा स्थगित भएको छ।

बैठकमा घण्टाघरबाट निकालिएका २ जना कर्मचारीहरुलाई पुर्नवहाली गर्ने कि ३ महिनाको तलब सुविधा दिएर बिदा गर्ने भन्ने एजेण्डामा विवाद सुरु भएको थियो।

मेयर साम्पाङ कर्मचारीलाई सुविधा दिएर बिदा गर्ने पक्षमा थिए भने वडा अध्यक्षहरु एक वर्षको लागि म्याद थप्नुपर्ने पक्षमा थिए। यही विवाद लम्बिँदै जाँदा मेयर साम्पाङ र वडा अध्यक्षहरुबीच चर्काचर्की परेर बैठक अघि बढ्न सकेन।

कार्यपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले घण्टाघरका ज्यालादारी कर्मचारीलाई हटाएर मेयरले आफ्नो ज्वाँई नियुक्त गरेको प्रसङ्ग उठाएका थिए। लगत्तै मेयर साम्पाङले वडा १७ को कार्यवाहक अध्यक्ष मनिष विष्ट (वडा सदस्य) भएकोले भट्टराई बैठकमा उपस्थिति अवैध भएको आरोप लगाएपछि अन्य वडा अध्यक्षहरु पनि मेयरप्रति आक्रोशित रुपमा प्रस्तुत भए।

वडा नं १० का अध्यक्ष विवेक राईले नियुक्त भएका कर्मचारीहरुको नाम, विवरण पाउनुपर्ने र शनिबार पनि मेयर साम्पाङले आफ्ना समर्थकहरु ओसार्न नगरको गाडी दुरुपयोग गरिरहेको भन्दै प्रश्न उठाएका थिए।

वडा अध्यक्ष राईको प्रश्नले आक्रोशित बनेका मेयर साम्पाङले श्रमदानमा एक दिन पनि नआउने तर श्रमदाता बोक्दा विरोध गर्ने भन्दै जवाफ दिएका थिए। र उनले बैठक नै स्थगित गरे।

प्रवक्ता एवं वडा १७ का अध्यक्ष भट्टराईले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै आफू काम विशेषले इनरुवा जाँदा कार्यवाहक दिएको तर बैठकमा आउनुअघि कार्यालय पुगेर नै आएको जिकिर गरे। कार्यपालिका सदस्यहरुले घण्टाघरको विषयमा, शनिबार गाडी चढेको विषयमा केही प्रश्न गर्दा मेयर साम्पाङ आवेशमा आएर बैठक रोकेको उनले बताए।

‘कार्यवाहक दिएको दिन वडा अध्यक्ष बैठकमा आउन पाउँदैन भन्ने कुन ऐनमा छ ? त्यो देखाउनुपर्‍यो नि,’ उनले भने, ‘जनताले जुन खालको मत अभिव्यक्त गरेका छन्, त्यसको परिणाम अहिले देखिँदै छ। सुन भनेर जनताले खोजेको विकल्प पित्तल भएछ।’

मेयर साम्पाङले आफ्नो क्षेत्राधिकार भएको सानातिना विषयमा पनि विरोध गर्ने गरेकोले समस्या भएको बताए।

‘मेरो अधिकारमा भएको सानातिना कुरामा पनि विरोध गर्नुहुन्छ। कर्मचारी सरुवा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गर्ने हो नि, यसमा पनि विरोध। श्रमदानमा पनि विरोध,’ उनले भने, ‘घण्टाघरमा मेरो आफन्त राख्यो भन्छन्। वडा अध्यक्षले आफ्नो श्रीमती पनि खानेपानी बोर्डमा राखेको रहेछ। बेरोजगार मान्छेले रोजगार पाउनु राम्रो हो, धरानका सबै मेरा आफन्त हुन्, तर त्यही एउटा कुरा निकालेर कराएको काराकै गर्छन्।’ हद भएपछि आफू आक्रोशमा आएको भन्दै मेयर साम्पाङले केही दिनमा बैठक बस्ने पनि बताए।

उपमेयर अइन्द्रबिक्रम बेघाले बैठक रोकिनु दुःखद भएको बताए। जनताले काम गर्नभन्दा लड्न पठाएको जस्तो भएको उनले प्रतिक्रिया दिए।

‘बैठक सुचारु गर्नेबारे सल्लाह गछौं। म आज पनि, भोली पनि नगर कार्यपालिका सहमति, सहकार्य, सहअस्तित्वको आधारबाट चल्नुपर्छ भन्छु,’ उनले भने, ‘सोपान क्रमको जिम्मेवारी वहन गर्ने र त्यस अनुसार भूमिका निर्वाह गर्ने हो भने यस्तो लफडा नै आउँदैन, एकले अर्कालाई सम्मान गर्ने, सहयोग गरेर जाने हो भने केही नै हुँदैन।’

प्रकाशित: १७ आश्विन २०८० १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App