२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीमा दलहरूकाे एउटै धारणा: मध्यावधी निर्वाचन उपयुक्त हुँदैन, सहकार्य गरौं

कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले दलहरूवीच सहकार्य गरेर कोशी प्रदेशमा सम्भावित मध्यावधिको निर्वाचन रोक्न दलहरूवीच सहकार्य गर्नु पर्ने धारणा राखेका छन्। बुधबारको प्रदेशसभा बैठकमा बोल्दै दलका नेताहरूले  कोशी प्रदेशमा मध्यावधी निर्वाचन उपयुक्त नहुने भन्दै सहकार्य गरेर अघि बढनुपर्ने धारणा राखेका हुन्।

प्रदेशसभामा कांग्रेसका संसदीय दलका नेता उद्वव थापाले कुर्सी फेर्ने खेलले उपलब्धि नहुने बताए। उनले सरकारको रहरसमेत पुगिसकेको भन्दै सहकार्य गरेर अघि बढ्न सबै दलहरूलाई आग्रह गरे। थापाले भने ‘प्रदेश र जनताको अवस्थालाई ध्यानमा राखेर संविधानको धारा १६८(५)मा सहमति र सहकार्य गरेर अघि बढौं।’ थापाले कांग्रेस सहमति र सहकार्यका लागि तत्पर रहेको स्पष्ट पारे।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आफू सरकारमा हुँदा सहकार्यको कुरा गर्ने र सरकारमा नहुँदा खुट्टा तान्ने प्रवृत्तीले समस्या निम्त्याएको बताए। उनले कोशी प्रदेशको विशिष्ट अवस्थाले कुनै पनि दल ठूलो सानो नभई सबै दलको महत्वपूर्ण भूमिका रहेको बताए। आङ्वोले प्रदेशमा राजनीतिक स्थिरताका लागि सानो ठूलो दल नभनि सबै दल जिम्मेवार बन्नुपर्ने धारणा राखे। राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले कोशी प्रदेशको राजनीतिक अस्थिरताले प्रदेश सरकारप्रति नै प्रश्न उठ्न थालेको बताए। उनले प्रदेश जोगाउने हो भने स्थिरत सरकारका लागि सबै दलबीच सहकार्य आबश्यक रहेको धारणा राखे।

नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दलहरू मिलेर मात्रै समस्याको समाधान गर्न सकिन्छ भन्ने जान्दा जान्दै पनि प्रयत्न गर्न चाहिं चुकिरहेको बताए । उनले अरुलाई नस्वीकार्ने प्रबृत्ती त्रुटिपूर्ण हुने बताए। ‘बहुमतको सरकार अल्पमतको प्रतिपक्ष भन्ने कुरालाई मान्ने कि नमान्ने’ राईले भने। उद्वव थापाको बहुमतको सरकारलाई एमालेले नमानेको आरोप लगाए। उनले भने कोशी प्रदेशसभामा ४७ भए बहुमत हुने अघिल्लो उद्वव थापाको सरकार बहुमतको हुँदा हुँदै पनि एमालेका कारण सरकार ढलेको र प्रदेश अस्थिरतातर्फ गएको  राईले बताए।

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशमा सहकार्यको वातावरण तयार पार्न सबै दल जुट्न आग्रह गरे। उनले यहि सरकारलाई विश्वासको मत दिन आग्रह पनि गरे।  ‘यहि सरकारलाई विश्वासको मत दिएर अघि बढौं ’ उनले भने‘त्यासो हुँदैन भने १६८(५) अनुसारको सरकारका लागि सबै दल सहकार्य गरेर अघि बढौं।’ भण्डारीले अहिलेको सरकारले विश्वासको मत नपाए पनि नेकपा एमाले सहकार्यगरेर अघि बढ्न तयार छ।  

प्रकाशित: १७ आश्विन २०८० १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App