६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कोरला नाकाबारे बुझ्दै प्रदेश सरकार

प्रधानमन्त्रीको चीन भ्रमणपछि नाका खुल्ने आश

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमामा पर्ने कोरला नाकाको स्थलगत अवलोकन गर्नु पुगेका गण्डकी प्रदेशका मुख्यमनत्री सुरेन्द्रराज पाण्डे सहितको टोली । तस्बिरः नागरिक

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदा गण्डकी प्रदेशका बासिन्दाको एउटै अपेक्षा थियो–मुस्ताङको कोरला नाका खुल्ने। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सीमामा पर्ने कोरला नाका खुलाउन स्थानीयले लामो समयदेखि माग गर्दै आएका थिए। प्रधानमन्त्रीको भ्रमण दौरान नाका खुल्नेबारे चीनसँग सहमति हुनेमा स्थानीय विश्वस्त पनि थिए।  

स्थानीयले मात्र नभई कोरला नाका खुलाउने विषयलाई भ्रमणको एजेन्डामा समेट्न पोखरेलीले समेत प्रधानमन्त्रीलाई सुझाएका थिए। चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका थिए। स्थानीय रुपमा प्रयोगमा आएका चीन र नेपालबीचका नाका खोल्नका लागि दुई देशबीच सहमति भएको पनि प्रधानमन्त्रीले जानकारी दिएका थिए।

नाका खोल्नका लागि प्राविधिक र आवश्यक तयारी पूरा गर्नुपर्ने समेत प्रधानमन्त्री दाहालको भनाई थियो। यतिसम्मकी केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको समेत प्रधानमन्त्री दाहालले भ्रमणबाट फर्केपछि बताएका थिए।

नाका खुल्ने विषयमा प्रधानमन्त्री दाहालले दिएको आश्वासनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितको टोली अहिले हिमाली जिल्ला मुस्ताङ पुगेको छ। मुस्ताङ पुगेका मुख्यमन्त्री सहितको टोलीले बुधबार कोरला नाका क्षेत्रको स्थलगत अवलोकन गरेको छ। नाका अवलोकन सहित जिल्ला र प्रदेश सुरक्षा समितिको बैठक पनि भएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १८ जना कर्मचारी, चारवटै सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारी, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी सहितको टोली मुस्ताङमा पुगेको छ। मुस्ताङका संघीय र प्रदेश सांसद पनि मुख्यमन्त्री सहितको टोलीमा मुस्ताङमै मिसिएका थिए।

त्यस्तै बाढीले क्षतविक्षत पारेको कागबेनी क्षेत्रको अवस्थाबारे पनि मुख्यमन्त्री पाण्डे सहितको टिमले जानकारी लिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार मुख्यमन्त्रीको भ्रमणका क्रममा स्थानीयले जतिसक्दो छिटो कोरला नाका खुलाउन पहल गरिदिन आग्रह पनि गरेका थिए।

‘प्रधानमन्त्रीको चीन भ्रमणसँगै यहाँका बासिन्दाले कोरला नाका खुल्ने अपेक्षा गरेका रहेछन्। स्थानीयको अपेक्षा र प्रधानमन्त्रीको भनाई अनुसार नाका खुल्ने अवस्थाबारे बुझ्न मुख्यमन्त्री सहितको टोली कोरला आएको हो,’ अधिकारीले भने, ‘प्रदेशको कार्यक्षेत्र भित्र पर्ने भएकोले पनि यो नाकाको अवस्थाबारे मुख्यमन्त्रीले स्थलगत भ्रमण गर्नुभएको हो।’ उनका अनुसार कोरला नाकाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री दाहाल समेत कोरला आउने तयारी छ।

अधिकारीका अनुसार चीनले कोरला नाकामा आफ्नो भूभागपट्टि पर्याप्त पूर्वाधार बनाएको छ। तर, नेपालतिर भने आवश्यक पूर्वाधार बनिसकेका छैनन्। ‘स्थानीयले कोरला नाका जतिसक्दो छिटो खुलिदिए हुन्थ्यो भन्ने अपेक्षा राखेका छन्। तर, हाम्रोतिर पूर्वाधार अझैकमजोर छन्। नेपालतिरको पहुँचमा अझै सहज छैन,’ उनले भने। त्यस्तै प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिको बैठक पनि बसेको अधिकारीले जानकारी दिए। ‘दुई देशबीचको सिमाना भएकोले नाकाको सुरक्षा अवस्था बारे थाहा पाउन र निगरानी बढाउनका लागि सुरक्षा समितिको बैठक बसेको हो,’ उनले भने।

कोरला नाकामा वर्षमा दुई पटक लाग्ने द्विपक्षीय व्यापार मेला पनि पछिल्लो केही वर्षदेखि लाग्न सकेको छैन। कोरोना भाइरस संक्रमण सुरु भएपछि नाकामा लाग्ने मेला रोकिएको थियो। अन्तर देशीय त्यो व्यापार मेलाको समन्वय दुई देशका प्रशासन तथा सुरक्षा निकायको समन्वयमा नाकाबाट १० किलोमिटर पर तिब्बततर्फ लाग्ने गरेको थियो। तर कोरोना संक्रमण सुरु भएपछि विगत चार वर्षदेखि त्यो मेला पनि लाग्न छाडेको छ।

त्यो व्यापार मेलामा नेपालले आयात भन्दा पनि निर्यात गर्ने बस्तु धेरै पाउँथ्यो। तर, अहिले मेला नै लाग्न छाडेको छ। स्थानीयले सिजनल भएपनि मेला आयोजना गर्न अनुरोध गरिरहे पनि चिनियाँ पक्षले भने सधैंका लागि नाका खुलाउने इच्छा राख्दा व्यापारिक मेला पनि लाग्न सकेको छैन। अहिले नेपालतर्फ भन्सार भवन मात्र छ। त्यसबाहेक बोर्डर आउटपोष्ट (बिओपी) पनि छ। 

प्रकाशित: १७ आश्विन २०८० ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App