१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चिठ्ठा विधेयकको विषयलाई लिएर बागमती प्रदेश सभामा ‘घम्साघम्सी’

चिठ्ठा विधेयकको विषयलाई लिएर बागमती प्रदेशसभाको बैठकमा घम्साघम्सीको अवस्था सृजना भएको छ।

प्रदेश सरकारले विधेयक पेश गर्न खोजेपछि सोमबारको बागमती प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद र मर्यादापालकबीच घम्साघम्सीको भएको हो।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित पुनर्विचारको लागि प्रदेश सभामा फिर्ता पठाएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न खोजेपछि एमालेका सांसद र मर्यादापालकका बीचमा घम्साघम्सी भएको हो।

गत जेठ ७ गते बागमती प्रदेशका प्रमुख शर्माले उक्त विधेयकमाथि पुनर्विचार गर्नुपर्ने भन्दै प्रदेशसभा बैठकमै फिर्ता पठाएका थिए। बागमती प्रदेश सरकारले उक्त विधेयकमा कुनै परिवर्तन नै नगरी तथा संसद्लाई सूचना नै नदिएर सदनमा पेश गर्न खोजेको भन्दै एमालेका सांसदहरुले बैठकमा होहल्ला र विरोध गरेका हुन्।

सभामुख भुवनकुमार पाठकले आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठको तर्फबाट प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामालाई उक्त विधेयक सदनमा पेश गर्न अनुमति दिएपछि एमालेका सांसद केशवप्रसाद पोखरेल उठेर आपत्ति जनाए।

सांसद पोखरेको आपत्तिका बाबजुद मन्त्री लामाले उक्त विधेयक प्रस्तुत गरेपछि एमालेका सांसदहरुले रोष्टम अगाडी उभिएर नाराबाजी गरेका हुन्। त्यति गर्दा पनि मन्त्री लामा नरोकिएपछि एमालेका सांसदहरु विधेयकको विरोध गर्दै रोष्टम घेर्न पुगेपछि मर्यादापालक र सांसदहरुबिच घम्साघम्सी भएको हो।

एमालेका सांसद पोखरेलले सरकारले प्रदेश प्रमुखबाट फिर्ता भएको विधेयक फिर्ता हुनुको कारण र टिप्पणीका विषयमा सांसदहरुलाई जानकारी नै नदिएर गलत बाटोबाट विधेयक पेश गर्न खोजेकोले विरोध गरिएको बताए।

एमालेका सांसद्ले विधेयक फिर्ता हुनु परेको कारणहरु स्पष्ट पार्दै सूचना दिएर विधिवत् बाटोबाट विधेयकलाई सदनमा पेश गर्न अनुरोध गर्दै तत्काललाई उक्त विधेयक प्रस्तुत गर्ने विषय कार्यसूचीबाट हटाउन माग गरेका थिए। एमाले सांसदहरुको विरोध र होहल्लाका कारण सदन संचालन गर्न नसक्ने भएपछि १५ मिनेटका लागि संसद् स्थगित गरिएको थियो।

अन्तिममा सदन चल्ने अवस्था नभएपछि असोज १६ गते मंगलबार दिउँसो २ बजे बस्ने गरी सूचना टाँसेर बैठक स्थगित गरिएको छ।

प्रकाशित: १५ आश्विन २०८० १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App