१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कोशीमा राप्रपाले भन्यो: मुख्यमन्त्री कार्कीको बहुमत पुग्ने अवस्थामा मात्रै मत दिन्छौं

राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउने अवस्थामा मात्रै मतदान गर्ने बताएका छन्।

आइतबार विराटनगरमा अयोजित पत्रकार भेटघाट कार्यक्रममा सिटौलाले मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने अवस्था देखिए मात्रै मतदान गर्ने बताएका हुन्।

सिटौलाले विश्वासको मत दिने नदिनेबारे पार्टीले परिस्थितिजन्य निर्णय गर्ने स्पष्ट पारे। एमाले चुनावी गठबन्धनको साझेदार पनि भएका कारण राप्रपाको मतले मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था देखिएको खण्डमा पार्टीले विश्वासको मत दिने निर्णय गर्ने सिटौलाले बताए।  ‘चुनावी गठबन्धनको साझेदार भएका कारण हामीले मत नदिएका कारण मुख्यमन्त्रीले विश्वासको मत नपाउने  अवस्था आए मात्रै मतदान गछौं नभए मतदानमा सहभागि हुँदैनौं ’ सिटौलाले भने।

यस अघि मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिंदा पनि राप्रपाले पक्ष वा विपक्ष कतै मनि मतदान गरेको थिएन। मतदानको दिन राप्रपाका सांसदहरू प्रदेशसभामा उपस्थित भएका थिएनन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान अनुसार असोज २० गते भित्रमा विश्वासको मत लिनु पर्ने छ। तर, अझैसम्म विश्वासको मत पाउने आधार देखिएको छैन। हाल मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका कार्यवहाक सभामुखसहित ४० सांसदको मात्रै समर्थन रहेको छ।

सभामुखले बराबर भएको अवस्थामा बाहेक विश्वासको मत दिन नमिल्ने सर्बोच्च अदालतले यस अघि नै फैसला गरिसकेका कारण मुख्यमन्त्रीको पक्षमा ३९ मत मात्रै देखिएको छ। राप्रपाले विश्वासको मत दिंदा ४५ मत मात्रै हुने छ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्दछ। विपक्षी गठबन्धनमा भने ४७ मत रहेको छ।  जसमा कांग्रेसका २९ माओवादी केन्द्रका १३, एकिकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।  

कांग्रेससँग एजेण्डा मिले सहकार्य  

राप्रपा संसदीय दलका नेता सिटौला र कांग्रेस संसदीय दलका नेता उद्वव थापाबीचको व्यक्तिगत इगोका कारण थापा नेतृत्वको सरकारलाई राप्रपाले विश्वासको मत नदिएको कांग्रेस सांसदहरूको बुझाइ रहेको छ। उद्वव थापा बाहेक अन्यलाई संसदीय दलको नेता बनाउँदा राप्रपाले विश्वासको मत दिने कांग्रेस सांसदहरूको धारणा रहेको छ। त्यहि कारण  कोशी प्रदेशमा कांग्रेस संसदीय दलको नेता परिवर्तनको आवाज कांग्रेस भित्र उठ्न थालेको छ।  

कांग्रेसका सांसदहरूले बाहिर मात्रै बोल्दै आएको दलका नेता परिवर्तनको विषय संसदीय दलको बैठकमा समेत प्रवेश गरेको छ। आसोज १२ गतेको कांग्रेस संसदीय दलको बैठकमा  सांसदहरूले दलको नेता परिवर्तनको आवाज उठाएका थिए। तर, सिटौलाले कांग्रेसको जो सुकै संसदीय दलको नेता भए पनि त्यसले राप्रपाको निर्णय प्रभावित नहुने स्पष्ट पारे। ‘सहकार्य हुँदा कांग्रेससँग हुने व्यक्तीसँग नहुने भएकाले उद्धव थापा संसदीय दलको नेता हुँदा सहकार्य नहुने भन्ने कुरै आउँदैन’ सिटौलाले भने‘ सरकारमा जाँदा कांग्रेस र हामीवीच एजेण्डा मिले सहकार्य हुन्छ।’ तर, अहिले सम्म कांग्रेसका नेताहरू औपचारिक रुपमा सहकार्यको प्रस्ताव लिएर  नआएको सिटौलाले बताए।  

राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालले आफूले अध्यक्ष सम्हाले यताको दुई महिनाको अवधिमा गरेका कामहरूबारे जानकारी गराएका थिए। उनले नेपाललाई हिन्दुराष्ट्र घोषणा,संघीयता खारेज र राजसंस्था पुनः स्थापनाका लागि राप्रपाले मोरङका सबै स्थानीय तहमा अभियान सञ्चालन गरिरहेको बताए।  

प्रकाशित: १४ आश्विन २०८० १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App