६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गरे।

चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेको सम्मेलनमा उनले भने, 'हामीले लगानीमैत्री वातावरण बनाउनका लागि सम्बन्धित नीति तथा कानून संशोधन तथा अद्यावधिक गरेका छौँ, त्यसैले अहिले नेपालमा लगानीको वातावरण राम्रो बनेको छ।'

प्रधानमन्त्री दाहालले नेपालमा पर्यटन, पूर्वाधार, उर्जा, कृषि, औषधिजन्य उत्पादनलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको भन्दै लगानी गरी लाभ लिन पनि आग्रह गरे। 'नेपालमा पछिल्लो समय लगानीको वातावरण बनेको छ, सम्भावना भएका क्षेत्रमा लगानी गरी लाभ लिन म यहाँहरूसमक्ष आग्रह गर्दछु', चिनियाँ लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, 'नेपालमा श्रम कानून पनि लगानीमैत्री र लचिलो छ।'

उनले नेपालमा कर पनि तुलनात्मक रूपमा कम रहेको भन्दै लगानीको उचित वातावरण बनेको स्पष्ट पारे। नेपालमा लगानीको सुरक्षा र आवश्यक एवं उचित वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए। 

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको सम्बन्ध प्राचीन तथा ऐतिहासिक भएको उल्लेख गरे।  

प्रकाशित: ७ आश्विन २०८० १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App