२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वर्णविन्यास मुद्दामा एमिकस क्युरी माग

सर्वोच्च अदालतले नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै दर्ता भएको रिट निवेदनमा एमिकस क्युरी (अदालतलाई राय दिने विज्ञ) मगाउने आदेश गरेको छ। न्यायाधीशहरू कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले वर्णविन्यासका विषयमा राय दिन नेपाल बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ता वा अधिवक्ता मगाउने आदेश गरेको हो। सर्वोच्चले नेपाली भाषामा दखल राख्ने कानुनका विज्ञलाई राय दिन मगाउने आदेश गरेको हो।

‘भाषा र वर्ण विन्यासमा ज्ञान भएका वरिष्ठ अधिवक्ता र अधिवक्तामध्येबाट नेपाल बार एसोसिएसनबाट दुईजना र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुईजना गरी चारजना एमिकस क्युरी माग गर्ने आदेश गरेको’ सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

अदालतले कुनै जटिल र विशेष प्रकारका मुद्दामा राय दिन एमिकस क्युरी मगाउने चलन छ। २०७३ भदौ २४ मा दर्ता भएको रिट निवेदन दुई वर्षपछि बिहीबार मुद्दामाथि सुनुवाइ भएको हो। अग्राधिकार पाएको सार्वजनिक सरोकारको मुद्दा पटकपटक पेसी चढे पनि कहिले हेर्न नभ्याइनेमा पर्ने र कहिले स्थगित हुने हुँदै आएको थियो।

नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै पत्रकार टपेन्द्र कार्की, अधिवक्ता स्वागत नेपाल, बलदेव शर्मा अधिकारी, लालानाथ सुवेदी, महेश्वर न्यौपाने लगायतले छुट्टाछुट्टै चारवटा रिट निवेदन दर्ता गरेका थिए। २०६७ सालमा शिक्षा मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले आफ्नो पुरानो ‘सम्पादन प्रकाशन शैली’मा परिमार्जन गर्ने निर्णय गरेपछि भाषा विवाद उत्पन्न भई त्यसमा मुद्दा परेको हो। 

प्रकाशित: ५ आश्विन २०८० ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App