१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शेरबहादुरसँग दुरी बढाउँदै शेखर

सहमतिमा पार्टी र सरकार सञ्चालन नगरिए आफ्नै ढंगले अघि बढ्ने कोइरालाको चेतावनी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दुरी बढाउँदै जाने संकेत गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका कोइराला आगामी महाधिवेशनमा पनि सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। कोइरालालाई उनीनिकट केही नेताले सभापति देउवासँग सम्बन्ध विस्तारमा लागेको आरोप लगाउँदै आएका छन्। यस्तो आरोप खेपिरहेका कोइरालाले बुधबार बिहान देउवालाई भेटेर उनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

पार्टी विधि र विधानअनुसार सञ्चालन हुन नसकेको र पूर्वप्रतिबद्धताअनुसार सभापति देउवाले काम नगरेको भन्दै कोइरालाले कार्यशैलीमा परिवर्तन ल्याउन आग्रह गरेका छन्। पार्टीका भ्रातृ संगठनका केन्द्रीय समिति विस्तार, विभाग गठन तथा केन्द्र र प्रदेशमा सरकार विस्तारमा पनि देउवाले आफूहरूसँग छलफल नगरेको गुनासो कोइरालाको छ।

पछिल्लो दुई दशकमा पार्टीका प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिलासँगका महाधिवेशन दुई पटक मात्र भएका छन्। अधिकांश भ्रातृ संगठनहरू तदर्थवादमा चलेका छन्। केही समयअघि विधानभन्दा बाहिर गएर नेपाल विद्यार्थी संघ र तरुण दलको केन्द्रीय समिति विस्तार गरिएको छ। त्यसप्रति पनि कोइरालाले देउवासँग असन्तुष्टि जनाएका छन्। तर सभापति देउवानिकट नेताहरूले भने कोइरालासहितका नेताहरूकै सहमतिमा भ्रातृ संगठनका केन्द्रीय समिति विस्तार गरिएको दाबी गर्दै आएका छन्। ‘उहाँहरूले अझै केही नाम दिएर भ्रातृ संगठनका केन्द्रीय समिति विस्तार गर्न भन्दै आउनुभएको छ,’ देउवानिकट एक नेताले भने, ‘बाहिर जेभन्दा अनुकूल हुन्छ, त्यही भनिदिएर मात्र संगठन चल्दैन।’

सभापतिसँगको भेटमा कोसी प्रदेश सरकार गठनका विषयमा पार्टीले दुई पटक गल्ती गरेको धारणा राखेका कोइरालाले विधानअनुसारका विभाग र समितिहरू तत्काल गठन गर्नुपर्नेमा जोड दिएका छन्। केही दिनअघि सभापति देउवाले १५ विभागका प्रमुख तोके पनि अन्य विभागका प्रमुख तोकिएका छैनन्। प्रमुख तोकिएका विभागले पनि पूर्णता पाउन सकेका छैनन्।

आफूनिकटका नेताहरूसँग मंगलबार छलफल गरेका कोइराला बुधबार सभापति देउवालाई भेट्न उनकै निवास पुगेका थिए। केन्द्रीय समितिको पूर्वसन्ध्यामा सभापति देउवालाई भेट्न पुगेका कोइरालाले कार्यशैलीमा परिर्वतन नल्याए अब संवादका लागि नआउने चेतावनी दिएका छन्। पार्टी विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने कुनै पनि निकायले पूर्णता नपाएको भन्दै कोइरालाले विभाग र केन्द्रीय समितिलाई तत्काल पूर्णता दिन देउवालाई सुझाएका छन्।

सहमतिमा पार्टी र सरकार सञ्चालन नगरिए आफू आफ्नै ढंगले अघि बढ्ने जानकारी पनि कोइरालाले देउवालाई गराएका छन्। पुष्पकमल दाहाल नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने धारणा राख्दै आएका कोइरालाले सरकारको कामप्रति पनि असन्तुष्टि जनाएका छन्। दाहाल नेतृत्वको सरकारमा कांग्रेस मन्त्रीहरू केही गर्न सक्ने अवस्थामा नरहेको र मुलुकको अवस्था पनि निकै अप्ठेरोमा पुगेको कोइरालाले बताएका थिए।

जनतालाई देशमै केही हुन्छ भन्नेमा विश्वस्त तुल्याउन नसके दसैं÷तिहारपछि मुलुक थप अप्ठेरो अवस्थामा पुग्ने कोइरालाको बुझाइ छ। मुलुक र जनताका अजेन्डा लिएर देशभरि घुम्ने तयारीमा रहेका कोइरालाले सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै आएका छन्। सुशासनको पक्षमा कांग्रेस खरोरूपमा प्रस्तुत हुनुपर्ने निष्कर्ष कोइरालानिकट नेताहरूको भेलाले निकालेको छ। कोइराला निकट केन्द्रीय सदस्यले बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा सुशासनको मुद्दालाई प्रमुखता साथ उठाउने तयारी गरेका छन्।

सभापति देउवामाथि थप दबाब सिर्जना गर्ने र पार्टी विधानअनुसार संगठन सञ्चालन गर्न बाध्य बनाउने कोइराला पक्षको रणनीति छ। कांग्रेस विधानअनुसार नै चार वर्षभित्र महाधिवेशन हुन्छ भन्ने सन्देश प्रवाह गरी दाहालपछिको सरकार नेतृत्व लिने कोसिसमा संस्थापन इतर पक्ष छ। तर संसदीय दल र केन्द्रीय समितिमा देउवा पक्षको उपस्थिति बलियो छ। संस्थापन इतरका प्रभावशाली नेता कोइराला र पार्टी महामन्त्री गगनकुमार थापाबीच पनि मतैक्यता छैन। एकले अर्कालाई उपयोग गर्ने रणनीतिमा रहेका कोइराला र थापाले गुटगत बैठक भने सँगै गर्दै आएका छन्। तर दुवैले आफूलाई केन्द्रमा राखेर समानान्तर अभ्यास पनि गर्दै आएका छन्।

थापा पक्षका नेताले कोइराला सभापति देउवासँग सम्बन्ध विस्तार गरेर नेतृत्वमा पुग्न लागेको आरोप लगाउँदै असन्तुष्ट पक्षको नेताकारूपमा थापालाई प्रस्तुत गर्दै आएका छन्। यसले गर्दा पनि संस्थापन इतर पक्ष कमजोेर बन्न पुगेको निकटहरूको बुझाइ छ।  कोइरालासँगको भेटमा सभापति देउवाले सहमतिबाटै पार्टी सञ्चालन गर्ने बताएका छन्। पार्टी सहमतिमै अघि बढ्ने धारणा राख्दै देउवाले कोइराला छलफलमा नआए आफू नै आउने धारणा राखेका थिए।

 

 

प्रकाशित: ४ आश्विन २०८० ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App