४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

आर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव: प्रधानमन्त्री

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताएका छन्। उनले नागरिकको जीवनस्तर उकास्न भोकमरी विरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि बेरोजगारी न्यूनीकरण अपरिहार्य भएको उल्लेख गरे।  

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आएका प्रधानमन्त्री दाहालले अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केन र अमेरिकी सहयोग नियोग (युएसएआइडी)  का प्रमुख प्रशासक सामन्था पावरले आयोजना गरेको  ‘डेमोक्रेसी डेलिभर्स’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै भने, “नेपालको इतिहास नागरिकको सङ्घर्ष र योगदानका आधारमा निर्मित छ, यस्तो सङ्घर्ष स्वतन्त्रता, न्यायिक अधिकार, समानता र सशक्तीकरणका लागि भएको थियो।”  

नेपालले २००७ सालमा सम्पन्न गरेको जहानियाँ राणाशासन र २०४६ सालको प्रजातन्त्रको लडाईंको स्मरण गर्दै उनले भने, “नेपालको इतिहास जहानियाँ शासनविरुद्धको आन्दोलन सन् १९५० देखि सुरु भएको हो। त्यो सन् १९९० मा थप सशक्तरूपमा देखापरेको थियो।”

प्रधानमन्त्री दाहालले नेपालमा १० वर्ष लामो सशस्त्र विद्रोह सन् १९९६ देखि २००६ सम्म जारी रहेको र नागरिकको भद्र आन्दोलन सन् २००६ मा सम्पन्न भएर राजाको प्रत्यक्ष शासनलाई अन्त्य गरेको बताए।

“हामी प्रजातान्त्रिक र समावेशी संविधान २०७२ मा जारी गर्न सफल भएका छौँ । यो हाम्रा लागि कोसेढुङ्गा सावित भएको छ”, उनले भने।

प्रधानमन्त्री दाहालले २०७२ सालको संविधानले आवधिक निर्वाचन, शक्ति पृथकीकरण, सन्तुलित समाज, स्वतन्त्र न्यायपालिका, मानवअधिकारको संरक्षण र सम्वर्द्धन तथा नागरिकका मूलभूत अधिकारजस्ता विषय निर्दिष्ट गरेको स्पष्ट पारे।

उनले स्वतन्त्र प्रेस, समावेशी सहभागिता, व्यक्तिगत अधिकार, सामाजिक न्याय, कानूनी राजजस्ता विषय संविधानको मुख्य विशेषता भएको उल्लेख गरे। प्रधानमन्त्रीले भने, “नेपालले पूर्णरूपमा समावेशी, सहभागितामूलक सिद्धान्तमा आधारित समाज निर्माणका लागि पूर्ण प्रतिबद्धता जाहेर गरेको छ। नेपालको संविधानले महिला, अल्पसङ्ख्यक र समावेशी सहभागितालाई महत्त्वपूर्ण अधिकार दिएको छ।”

“नेपालले गत वर्ष सम्पन्न गरेको स्थानीय तहको निर्वाचनमा ४१ प्रतिशत महिला निर्वाचित गराउन सफल भएको छ। यसैगरी हामीले संवैधानिकरूपमा नै सङ्घ र प्रदेशको सभामा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेका छौँ। नेपालले निर्वाचनमा जनताको सहभागिता वृद्धि गराउँदै स्वतन्त्र र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा सुधारलाई निरन्तरता दिँदै आएको छ”, प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा भने।

उनले नेपालको शान्ति प्रक्रिया आन्तरिक घरेलु वातावरणमा र नमूनाका रूपमा मात्र अगाडि बढेको नभई राजनीतिक विषयमा पनि एउटा सफलताको कथा भएको बताए।

प्रकाशित: ३ आश्विन २०८० १६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App