१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस बैठक बिहीबार

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबारबाट सुरु हुने भएको छ। पार्टी विधानअनुसार प्रत्यक दुई महिनामा बस्नुपर्ने बैठक नबसेको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले सोही अनुसार बैठक बोलाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीले साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको अभियानका साथै आन्तरिक संगठनका विषयमा छलफल हुनेछ।

पार्टी विधानअनुसार गठन गर्नु पर्ने निकाय र विभागहरू अझै गठन नगरेको कांग्रेस बैठकमा त्यस विषयमा पनि कुरा हुनेछ। साथै, पार्टी विधि र विधानअनुसार नचलेको भन्दै संस्थापन इतर पक्षले सभापति शेरबहादुर देउवाको आलोचना गर्दै आएका छन्। तर, नेपाल विद्यार्थी संघ, तरुण दलसहितका भ्रातृ संगठन विधानविपरीत गठन गर्दा पनि मौन बसेको विषयमा पनि बैठकमा संस्थापन पक्षले नै कुरा उठाउने तयारी गरेका छन्।

सभापति देउवाले संस्थापनइतरको सहमतिमै भ्रातृ संगठनका केन्द्रीय समिति विस्तार गरेको जनाउँदै निकट एक सदस्यले भने, ‘आफ्नो अनुकूल हुँदा जे पनि जायज हुने प्रतिकूल हुँदा विधानको कुरा उठाउने गलत परम्परा पार्टीमा बसेको छ त्यस विषयमा कुरा हुन्छ।’

उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने पक्षमा रहेका नेता शेखर कोइरालाले मंगलबार निकट नेताहरूको बैठक बोलाएका छन्। सुशासन अजेन्डा बोकेर जनता माझ जाने तयारीमा रहेका कोइरालाले बैठकमा उठाउने अजेन्डाका विषयमा निकटहरूसँग छलफल गर्न लागेका हुन्।

उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत आमन्त्रण गरेका छन्। पौडेल काठमाडौंमा भए बैठकमा सहभागी हुने तयारीमा रहेका छन्।

पार्टीको १४औं महाधिवेशनमा पौडेल नेता कृष्णप्रसाद सिटौलाको कोटाबाट शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए। शर्मा देउवा समुहबाट महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि नेता प्रकाशमान सिंहसँग जोडिएर महामन्त्रीको उम्मेदवार बनेका थिए। अहिले शर्मा र पौडेल दुवै सिटौला-देउवा वा सिंह–देउवा दुवै समूहमा छैनन्।

प्रकाशित: २ आश्विन २०८० ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App