२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पेसा छाडेर राजनीतिमा

बालकृष्ण अधिकारी\सुरेश यादव

जनकपुर- जानकी मन्दिरको दर्शन गर्न आउने स्वदेशी वा विदेशी पर्यटक जनकपुरको कोसेली मिठाई नै लिएर फर्किने गर्छन् । त्यो पनि मन्दिर नजिकै रहेको हंसराज मिठाई पसलबाटै । दुई दशकअघिसम्म जानकी मन्दिर क्षेत्रको फुटपाथमा थोत्रो ठेलामा नास्ता पसल चलाउने हंसराज साह त्यसअघि जनकपुरकै शिव मिष्ठान भण्डारमा काम गर्थे । मारवाडी समुदायको उक्त मिष्ठान भण्डारको काम छाडेर ठेलामा आफ्नै नास्ता पसल चलाउने उनले पछिल्लो डेढ दशकयता आफैं पसल सञ्चालन गर्दै आएका छन् ।

जनकपुरमा ख्याति कमाएको हंसराज मिठाई पसलका सञ्चालक हसंराज अहिले करोडौंका मालिक भइसकेका छन् । तिनै हंसराज असोज २ गते हुने स्थानीय तह निर्वाचनमा जनकपुर उपमहानगरपालिकाका प्रमुखमा उम्मेदवारी दिएका छन् । नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा लडेका उनी दोस्रो संविधानसभा निर्वाचन तयारी चलिरहँदा सद्भावना पार्टीमा प्रवेश गरे पनि सक्रिय राजनीतिमा कहिल्यै लागेनन् । यतिबेला चुनावमा पैसा खर्च गर्न सक्ने हैसियतकै आधारमा लोकतान्त्रिक फोरमले औपचारिक रूपमा पार्टी प्रवेशसमेत गराउन नपाउँदै उनलाई टिकट दिएको हो ।

उम्मेदवारी दर्ता हुनुभन्दा एक साताअघिसम्म मिठाई पसलमै बसिरहने उनले मेयरमा लडिदिन प्रस्ताव आएपछि अचानक राजनीतिमा होमिएको बताए ।

‘बालबच्चालाई पुग्नेजति सम्पत्ति आर्जन गरिसकेपछि फुर्सदको जीवनमा अवसर पाएका बेला राजनीतितिरै लागिहालेको हो,’ उनले भने, ‘जितियो भने नगर चलाउँछु नभए मिठाई पसलको काउन्टर त छँदैछ ।’

बाल्यावस्थादेखि नै संघर्षपूर्ण जीवन सुरु गरेका उनले जनकपुरवासीको सहयोगकै भरमा आफू सफल व्यवसायी बनेको बताए । ‘अहिलेसम्म जनकपुरले मलाई दियो,’ उनले भने, ‘अब मैले ऋण तिर्नुपर्ने बेला आएको छ । जनकपुरको विकासमा निस्वार्थ भावले काम गर्न खुलेर राजनीतिमा आएको हुँ ।’

व्यापार गरेर राजनीति गर्ने व्यक्ति इमानदार हुने बताउँदै उनले थपे, ‘नेपालमा राजनीतिका नाउँमा व्यापार गर्ने प्रवृत्ति हाबी छ, त्यस्तालाई जनताले चुनावकै माध्यमबाट पाखा लगाउनुपर्छ ।’ उनले भोटका लागि घरदैलो अभियानमा पनि यसै कुरामा जोड दिने गरेको बताए ।

पुरानो पेसा छाडेर राजनीतिमा जोडिने जनकपुर उपमहानगरमा हसंराजमात्र  होइनन् । उनी जस्तै अरू पनि छन् । जिल्ला कृषि सेवा कार्यालयमा मत्स्य विकास अधिकृत रहेका लक्ष्मीनारायण भगत (साह) ले पनि प्रमुख पदमै उम्मेदवारी दिएका छन् । भदौ १६ गतेमात्र सरकारी जागिर छाडेका भगतले एमालेबाट प्रमुखको उम्मेदवारी दिएका हुन् ।

सम्भावित प्रादेशिक राजधानी सहरलाई राजनीतिक स्वार्थकै कारण कुरूप बनाइएको बताउने उनी स्पस्ट भिजन भएका व्यक्ति मेयरमा चयन हुनुपर्ने विचार राख्छन् । जनकपुरको समग्र राजनीतिक अवस्था हेरेपछि योग्य उम्मेदवार नदेखेरै आफू जागिरबाट राजीनामा गरेर यसतर्फ लागेको उनले बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष उमेश साहले पनि जनकपुरको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । गत बुधबार अचानक पत्रकार महासंघको सदस्यता परित्याग गरेका उनले केही घन्टापछि नै नयाँ शक्तिबाट मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । ‘जनता परिवर्तनको आशा लिएर आन्दोलनमा सहभागी भए, सहादत प्राप्त गरे । अंगभंग हुनुप¥यो । तर, परिवर्तन नेताको हैसियतमा मात्र भयो । जनता त्यस्ता रूप फेरुवाहरूसँग मुक्ति चाहन्छन्,’ उनले भने, ‘२५ वर्षे पत्रकारिताको अनुभवका आधारमा जनकपुरलाई आधुनिक सहर निर्माणमा लाग्नेछु ।’

प्रकाशित: २५ भाद्र २०७४ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App