९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उम्मेदवार सिफारिसमा ‘आर्थिक चलखेल’

लहान- लक्ष्मीपुरपत्तारी गाउँपालिका–१ को वडाध्यक्षमा बुधबार दिउँसो १ बजे कांग्रेसबाट शिवकुमार साहले मनोनयनपत्र दर्ता गराए । उनी मत मागिरहँदा सोही साँझ त्यस पदमा कांग्रेसबाटै अर्को व्यक्ति दरबारी मण्डलको उम्मेदवारी प¥यो ।

                एउटै पदमा पार्टीले दुईजनालाई कसरी उम्मेदवारी सिफारिस गर्न सक्छ ? कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवसँग उनले प्रश्न गरे । जबाफमा यादवले आफूले नै दरबारीलाई सिफारिस गरिदिएको खुलाएपछि उनी जिल्ल परे । एउटै व्यक्तिले एउटै पदका लागि दुईजनालाई उम्मेदवार मनोनयनको सिफारिस किन गरे ? साहको जिज्ञासामा  सभापति यादवले गाउँपालिका अध्यक्षका उम्मेदवारको आग्रहमा आफूले अर्को उम्मेदवार सिफारिस गरेको बताए ।

                पार्टी जिल्ला नेतृत्वको उक्त हर्कतले आफ्नो सामाजिक प्रतिष्ठामाथि आँच पुगेको भन्दै साह यतिबेला जोडतोडका साथ विरोधमा उत्रिएका छन् । उनले भने, ‘जिल्ला पार्टीभित्र बाहुबली प्रवृत्ति हावी छ, यसले पार्टीलाई अहित गर्छ ।’ यो गाउँपालिकाका सबै क्याडरलाई पन्छाउँदै पहुँच र पैसाका बलमा नवप्रवेशीलाई टिकट दिइएको उनको गुनासो छ । ‘गाउँपालिकाका अध्यक्ष उम्मेदवार चतुरानन्द ठाकुर पार्टीमा नवप्रवेशी हुन्,’ उनले भने, ‘नवप्रवेशीको लहडमा लागेर मजस्तो क्याडरलाई पन्छाइयो ।’

‘पैसा हुनेको पहुँच कसिलो हुँदो रहेछ,’ उनले भने, ‘पैसा हुनेले निर्णय पनि उल्टाउने ताकत राख्दो रहेछ भन्ने कुरा बल्ल थाहा पाएँ ।’

                लक्ष्मीपुरपत्तारी गाउँपालिकाका निर्वाचन अधिकृत डिल्लीराम अधिकारीका अनुसार दिउँसो सिरहा कांग्रेसले वडाध्यक्षका आधिकारिक उम्मेदवार शिवकुमार साह भनेर सिफारिस गरेको थियो । जसअनुसार उनको उम्मेदवारी दर्ता भयो । उनले भने, ‘साँझ दरबारी मण्डलको सिफारिस आउँदा आधिकारिकता विवाद भएको थियो । तर, पार्टीका जिल्ला सभापतिले साँझ मण्डललाई आधिकारिक उम्मेदवार भनेपछि साहको उम्मेदवारी खारेज भयो ।’

                सिरहाको चुनावी राजनीतिमा साह पहँुच र पैसावालको नहुनुको पीडा एक्लै भोगेका होइनन्, उनीजस्ता धेरै छन् र सबै पार्टीमा छन् । धनगढीमाई नगरपालिका ११ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवारी दिन समर्थकको भीडसहित बुधबार मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका विवेक डोटेलको उत्साह क्षणमै मत्थर भयो । कारण थियो,  उनको ठाउँमा जिल्ला पार्टीले अर्कै उम्मेदवार सिफारिस गरिसकेको थियो । ‘पार्टी जिल्ला सभापतिले मलाई रित्तो हात फर्किने गरी अर्कैलाई सिफारिस गरिदिए,’ उनले भने । मतदातामा पकडको हिसाबले नभएर पहुँच र पैसाका भरमा उम्मेदवार खडा गरिएको उनको भनाइ छ ।

                ‘यहाँ टिकट पाउन पैसा र पहुँचवाला हुनुपर्दो रहेछ । नेतालाई प्रभावमा पार्नेले सजिलै टिकट हत्याउन सक्दो रहेछ,’ उनले भने । जनमतभन्दा पनि नेताहरूले आफ्ना नजिकका र प्रभावमा पार्न सक्नेलाई टिकट दिएर कलह मच्चाएको उनको आरोप छ ।

                धनगढीमाई नगरपालिकाका उपमेयरका लागि कांग्रेस केन्द्रीय कार्यालयले भदौ २० गते चलानी नम्बर १२१ को पत्रअनुसार गीताकुमारी यादवलाई उम्मेदवार बनायोे । जिल्ला सभापतिलाई सम्बोधन गरेर पठाइएको उक्त पत्रअनुसार कांग्रेसबाट उपमेयरमा गीताकुमारीको मनोनयन दर्ता हुनुपर्ने थियो । तर, यो पदमा विमला साहको मनोनयन दर्ता भएको छ । ‘केन्द्रको पत्र जिल्ला सभापतिलाई बुझाएर नामांकन फारमसहितको सिफारिसपत्र माग्दा उनले दिन मानेनन्,’ गीताका पति रामदयालले नागरिकसँग भने, ‘व्यक्तिगत स्वार्थमा टिकट वितरण गरिँदा बबाल मच्चिएको छ ।’

                सिरहा नगरपालिकाका मेयरमा कांग्रेसबाट डा. सुभाषचन्द्र यादवले मनोनयन दर्ता गराएका छन् । उनीसँग कांग्रेसबाटै मेयरका लागि पूर्वउपमेयर उपेन्द्र यादव पनि आकांक्षी थिए । यादव ०५४ सालमा यो नगरपालिकाका उपमेयर पद सम्हालिसकेका छन् । अर्को चुनावमा मेयर बनेर सिरहा नगर हाँक्ने रहर पालेका उनको जीवनमा यो अवसर    दुई दशकपछि आयो । तर, उनले पार्टीबाट टिकट पाउन सकेनन् । ‘टिकट पाउन नेतासँग नजिकको सम्बन्ध हुनुपर्दो रहेछ । जनतामा होल्ड भएकालाई सम्बन्धले पन्छाइदिँदो रहेछ,’ उनले भने ।

                यो नगरका मेयर उम्मेदवार सुभाषचन्द्र कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवका छोरा हुन् । उम्मेदवारी दिँदा नेताहरूले इमानदार, पार्टीमा लामो समय क्रियाशील र संघर्ष गरेकालाई भन्दा आर्थिक हैसियतमा रहेका, नेताका वरिपरि घुम्ने र नातागोतालाई च्यापेको पुराना क्याडरको आरोप छ ।

सबैजसो पार्टीले यसैगरी उम्मेदवार बनाएको गुनासो सार्वजनिक भैरहेका छन् । राम्रालाई होइन, आफ्नालाई उम्मेदवार बनाएको गुनासो व्याप्त छ । ‘यस्तो असन्तुष्टि नभएका दल बिरलै छन् यहाँ । असन्तुष्टिले अन्तर्घात बढाउँछ,’  एक क्याडरले भने, ‘सधंैभरि भोटर बनेर कनिष्ठलाई नेता बनाउन सकिन्न ।’ ‘यसपालि स्थानीय तह चुनावको तामझाम देख्दा जित्न लाखौं रुपैयाँ खर्च हुने अवस्था छ,’ लहानका प्राध्यापक चक्रपाणि दाहाल भन्छन् ।

प्रकाशित: २४ भाद्र २०७४ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App