३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालमा लगानीको वातावरण सुधार गर्नु नै पहिलो प्राथमिकताः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीको वातावरण सुधार गर्नु नै आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताएका छन्।

शुक्रवार लगानी बोर्डको वार्षिकोत्सव समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले देशको समावेशी र दिगो रूपमा आर्थिक विकासका लागि एफडीआईलगायत निजी लगानी बढाउन निरन्तर काम गरिरहेको पनि बताए। प्रधानमन्त्री दाहालले नेपाल लगानीको आकर्षक गन्तव्य भएको सन्देश विश्वभर फैलाएकोमा खुशी व्यक्त गरे।

उनले नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको भएपनि कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समयसीमाभित्रै आकांक्षाहरू साकार पार्नु प्रमुख चुनौतिको रूपमा रहेको उल्लेख गरे। १६ औं आवधिक योजनाको मस्यौदा तयार गर्दा नेपाल सरकार राष्ट्रिय विकासका लागि निजी क्षेत्र–स्वदेशी र विदेशी–स्रोत परिचालन महत्वपूर्ण छ भन्ने कुरामा दृढ विश्वास रहेको बताए। प्रधानमन्त्री दाहालले व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताए।

उनले भने, ‘नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाएकोमा हाम्रा मूल्यवान लगानीकर्ताहरूलाई विशेष सम्मान गर्न चाहन्छु। यसले हाम्रो आत्मविश्वास बढाएको छ र म विश्वस्त छु कि यसले हामीलाई भविष्यमा थप लगानीहरू प्राप्त गर्न मद्दत गर्नेछ। आज मैले भन्नैपर्छ, १२ वर्षअघि सन् २०११ मा यस्तो उच्च शक्ति प्राप्त निकायको स्थापना ठूलो मात्रामा लगानीको कुशल सहजीकरणका लागि नेपालको प्रतिबद्धताको प्रमाण हो। पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सरकारले गरेको यो एउटा गम्भीर प्रयास हो। यस अवधिमा ठूला पूर्वाधार आयोजनाहरूलाई सहजीकरण र परिचालन गर्ने सन्दर्भमा सङ्कलन गरेको अनुभवका आधारमा सरकार यस संस्थालाई सुदृढ गर्न प्रतिवद्ध छ। यसले ठूला पूर्वाधार आयोजनाहरूको विकास, निर्माण र व्यवस्थापन र पीपीपी आयोजनाहरूको प्रभावकारी सहजीकरणमा निजी लगानीलाई थप परिचालन गर्ने विश्वास लिएको छु। नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको छ तर कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समयसीमाभित्र हाम्रा आकांक्षाहरू साकार पार्नु प्रमुख चुनौतिको रूपमा रहनेछ।’

प्रकाशित: २२ भाद्र २०८० १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App