४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको चीन भ्रमण अजेन्डा अझै अनिर्णित

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण नेपालको चुच्चे नक्सा र नेपालका लागि चिनियाँ राजदूतको विषयमा छलफल भएको छ। समितिको बैठकमा उपस्थित परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका कुनै पनि अजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन्।  

प्रधानमन्त्री आगामी अक्टोबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने तयारी छ। परराष्ट्रमन्त्री साउदले विभिन्न समझदारीपत्र र सम्झौताका ड्राफ्ट तयार भरहेको जानकारी दिए। अहिले पनि अजेन्डाको तयारी भइरहेकाले घोषणाका विषय सार्वजनिक गर्न हतार हुन्छ, निश्चित समयमा हामी गर्ने नै छौं,’ उनले भने।  

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य एवं नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले प्रधानमन्त्री संयुक्त राष्ट्र संघ (युएन)बाट सिधै चीन जान नहुने बताए। उनले नेपाल आएर एक दिनपछि जाँदा राम्रो हुने सुझाव दिए।

‘प्रधानमन्त्री युएनबाट सिधा चीन जाने कुरा छ। तर, त्यो मिल्दैन बरु नेपाल आएर एकदिन बसेर जाँदा राम्रो हुन्छ,’समितको बैठकमा उनले भने, ‘अमेरिकाबाट सिधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।’ आम जनता पार्टीका प्रभु साहले प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा सीमा विवादको विषय उठाउनुपर्ने र नाका खोल्ने विषयमा पनि पहल गर्नुपर्ने बताए।  

चुच्चे नक्सा जानकारी गराउनु नेपालको दायित्व  

समिति बैठकमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको नक्सा जारी भएपछि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु नेपाल सरकारको दायित्व भएको बताए। जानकारी गराएको भए कुनै अधिकारी उपस्थित थिए कि थिएनन् र त्यसको रेकर्ड राखिएको छ कि छैन ? भनेर नेता नेपालले प्रश्न गरे।  

‘मौखिक जानकारी मात्रै गरिएको हो भने पनि त्यसबारे पनि जानकारी माग गरियोस्,’उनले भने। नक्सा जारी भएपछि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु नेपाल सरकारको दायित्व हो भन्दै उनले भने, ‘कमजोरी भएको भए भविष्यमा यस्तो नहोस् भनेर ध्यान दिन जरुरी छ। जब कमी देखिन्छ त्यहिबेला समीक्षा गर्नुपर्छ।’  

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालामा नेपालको चुच्चे नक्सा जारी भएको थियो। तर, चीनले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा र त्यसअघि भारतले जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे भाग समेटिएको छैन। परराष्ट्रमन्त्री साउदले आफ्नो केही दिनअघिको अभिव्यक्ति दोहो¥याए। उनले भने, ‘म मन्त्री भइसकेपछि मैले सम्बन्धित शाखामा बुझ्दा कसैले पनि जानकारी पठाएको भेटिएको छैन। पठाएको तथ्य भए ल्याएमा म खुसी नै हुनेछु।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले नक्साको मुद्दा अत्यन्तै संवेदनशील रहेको बताए। नक्साको विषयमा संयुक्त राष्ट्रसंघमा जानकारी गराइएको गराइएन भनेर प्रश्न गर्दै उनले भने, ‘नगराएको भए कहिले गर्ने भनेर परराष्ट्र मन्त्रालयले कार्यसूची दिनुपर्छ।’ बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नक्साको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी नगराइएको भन्ने कुरा सामान्य नभएको भन्दै समिति बनाएर त्यसको छानबिन गर्नुपर्ने बताए। ‘गल्ती गरेको पाइए दण्डित गर्नुपर्छ, यसै छोड्न मिल्दैन,’ उनले भने, ‘यसलाई नजरअन्दाज गरियो भने आउने दिनमा गम्भीर संकट ल्याउनसक्छ।’  

राजदूतको अभिव्यक्तिबारे ध्यानाकर्षण  

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने छुट कुनै पनि कूटनीतिज्ञहरूलाई नभएको बताए। नेपालको घरेलु मामिलामा टिप्पणी गर्नेहरूलाई सरकारले सचेत गराउनुपर्ने उनको भनाइ छ।  

समितिको बैठकमा उनले भने, ‘को राजदूतले, कहाँको राजदूतले भन्यो भन्दा पनि हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्ने या कोही छिमेकसँग या तेस्रो पक्षसँग नेपालको सम्बन्धको विषयमा अरूले टिप्पणी गर्ने परम्परा बसाल्न दिनै हुँदैन। यो बेठिक हो, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि र हाम्रो कूटनीतिमा पनि।’ आम जनता पार्टीका प्रभु साहले चिनियाँ राजदूतको अभिव्यक्तिको विषयमा उनले माफी मागे माफी दिनुपर्ने र भविष्यमा नदोहोरिने सुनिश्चित गर्नुपर्नेसमेत बताए।  

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले हालैमात्र नेपाल–भारत व्यापारका विषयमा कडा टिप्पणी गरेका थिए, जसलाई कूटनीतिक मामलाका जानकारहरूले ‘गैरकूटनीतिक अभिव्यक्ति’ भनेर आलोचना गरेका छन्। जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ। पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै यस्तो माग गरेका थिए।

प्रकाशित: २२ भाद्र २०८० ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App