आज बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यससँगै प्रदेश सरकारले थप चार निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा काठमाण्डौँ बुढानीलकण्ठ-५ की कृष्ण कुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसै गरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज सहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
यसै गरी ग्रामीण सडक सञ्जाल सुधार आयोजना सञ्चालनका लागि म्याचिङ्ग फण्डको सुनिश्चितता गरी नेपाल सरकार, एसियाली विकास बैंक र मन्त्रालयबिच आयोजना सम्झौता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिवलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रकाशित: १८ भाद्र २०८० १५:२४ सोमबार