५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चहलपहल बढे पनि उम्मेदवारको टुंगो लागेन

जनकपुर- तेस्रो चरणको स्थानीय तह निर्वाचन तयारीसँगै विभिन्न दलका जिल्लास्तरीय नेताहरूको बढ्दो चहलपहलले दुई नम्बर प्रदेशका विभिन्न जिल्ला सदरमुकाममा सरगर्मी बढेको छ । महत्वपूर्ण मानिएका नगरपालिकाका मेयरमा चुनाव लड्ने आकांक्षीहरू पार्टी मुख्यालय धाइरहेका छन् भने अन्य नगर, गाउँ तथा वडाका उम्मेदवारका रूपमा टिकटको दाबी गर्नेहरू जिल्ला सदरमुकाम ओगटेका छन् । आगामी असोज २ गते दुई नम्बर प्रदेशका आठ जिल्लामा हुन लागेको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन एक हप्ता बाँकी रहँदा पनि दलहरूले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

यसअघिका दुवै चरण निर्वाचनमा आशातीत सफलता प्राप्त गर्न नसकेको कांग्रेसले उम्मेदवार छनोटमा भएको ढिलाइकै कारण आवश्यक तयारी नपुगेर पराजित हुनुपरेको निष्कर्ष निकालेको थियो ।

गत साउनको तेस्रो साता जनकपुरमा कांग्रेसले आयोजना गरेको बृहत् चुनावीसभामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले दुई नम्बर प्रदेशमा अविलम्ब उम्मेदवार टुंग्याउने बताएका थिए । तर, मनोनयनपत्र दाखिला गर्ने दिन नजिकिँदै जाँदा पनि उम्मेदवार बन्ने आकांक्षा भएकाहरू दोधारमा छन् ।

एमालेले मुख्य नगरमा कांग्रेसले उम्मेदवारको टुंगो लगाएपछि आफ्ना उम्मेदवार चयन गर्ने पर्खाइमा छ । दुई नम्बर प्रदेशको सम्भावित राजधानी जनकपुरका मेयर पदका लागि कांग्रेसले उम्मेदवार घोषणा गरेपछि एमालेले उम्मेदवार तय गर्ने पार्टीका एक केन्द्रीय नेताले जनाए । ‘कांग्रेसका उम्मेदवारसँग मुकाबिला गर्न सक्ने उम्मेदवारलाई अघि सार्ने हाम्रो तयारी छ,’ ती नेताले भने ।

सोमबार एमाले सचिव गोकर्ण विष्ट जनकपुर आइपुगे । त्यसअघि युवा संघका अध्यक्ष राजीव पहाडी शनिबार यहाँ आइपुगेका थिए । सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल पनि आउँदैछन् । जनकपुरलाई केन्द्रविन्दु बनाएर दुई नम्बर प्रदेशको चुनावी तयारीमा जोडतोडले लाग्ने एमालेको निर्णय छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायत शीर्ष नेताहरू सोमबारै जनकपुर आइपुगेका छन् । प्रदेशस्तरीय अगुवा नेतासँगको छलफलपछि मंगलबार बृहत् पार्टी प्रवेश कार्यक्रम गर्न लागेको माओवादीले चुनावसम्म जनकपुरलाई केन्द्र बनाएर परिचालित हुन शीर्ष नेतालाई निर्देशन दिएको छ ।

चुनावी मिति निकट आउँदा पनि कांग्रेस, राजपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमका शीर्ष नेताको उपस्थिति भने देखिएको छैन । धनुषाबाटै निर्वाचित कांग्रेस नेता विमलेन्द्र निधि चुनावी रौनक तीव्र भएका बेला यस क्षेत्रमा आएका छैनन् । कांग्रेसले केन्द्रीय कार्यालयबाटै गाउँ र नगरका उम्मेदवार चयन गर्ने तयारीमा छ भने अन्य दल उम्मेदवार खोज्न सकेका छैनन् ।

प्रकाशित: १३ भाद्र २०७४ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App