१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ कमजोरी स्वीकार्दै सच्चिनका लागि हो : पौडेल

नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेललेले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ विगतका कमजोरी स्वीकार्दै सच्चिनका लागि भएको बताएका छन्।  

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत पोखरामा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पार्टी र नेतृत्वबाट गल्ती कमजोरी भएकाले त्यसलाई स्वीकार्दै आगामी दिनमा सच्चिनका लागि अभियान सञ्चालन गरिएको बताए।

‘विगतमा गल्ती कमजोरी भएकै हो’, उनले भने, ‘पार्टी अलमलमा परेकै हो, अलिअलि हामी नेतृत्व बिग्रिएकै हौं। हुँदाहुँदा दुई तिहाईको जनमत र सरकार जोगाउन सकेनौं। यी सबै कमजोरी स्वीकार्छौं र अब आगामी दिनमा यसलाई नहोदोर्याउने वाचासहित सच्चिने प्रण गर्छौ।’

पूर्व शिक्षा मन्त्रीसमेत बनेका माओवादी नेता पौडेलले यो अभियान पार्टी र नेता, कार्यकर्ता रुपान्तरणको अभियानपनि भएको बताए। ‘हिजो हामी बिग्रिएकाले जनतासँग माफी माग्ने हो’,उनले भने, ‘यो अभियानसँगै म पनि रुपान्तरण हुने हो । अनि हरेक नेता कार्यकर्ता सबै रुपान्तरण हुने हो।’ उनले जनतामा जाँदा पार्टी र नेतृत्वको आलोचना भए वचन नफर्काई आलोचना सुन्न कार्यकर्तालाई निर्देशन दिए।  

अभियानका क्रममा जनताको घरदैलोमा जाँदा फरक पार्टी समर्थितको घरमा पनि जान उनले आग्रह गरे । ।।।तपाईंहरू छानीछानी माओवादीकोमा मात्र नजानुहोला । कांग्रेस, एमाले वा अन्य कुनै पार्टी समर्थितको घर भएपनि गएर उहाँहरूको कुरा सुनिदिनुहोला । गाली नै गरेपनि सहेर सुनिदिनुहोला ।’

माओवादी सचिव पौडेलले माओवादीलाई लगाइएको भ्रमपूर्ण आरोपलाई भने खारेज गर्न कार्यकर्तालाई निर्देशन दिए। ‘हामीमाथि मन्दिर भत्काउने, मान्छे मार्ने, धन सम्पती लुट्ने भनेर मिथ्या आरोप लगाइएको छ,’ उनले भने, ‘यो दुस्प्रचारको खण्डन गर्दै आरोपलाई खारेज गर्नुहोला। हामी त देश र जनताको पक्षमा, परिवर्तनको पक्षमा लड्ने योद्धा हौं भनेर बुझाउनुहोला ।’ उनले वलिदान दिएर परिवर्तन आएको तथा दलित, जनजाति, महिला, मधेशी, अल्पसङ्ख्यकलगायतको अधिकारपनि प्राप्त भएको बताए।

नेकपा माओवादी केन्द्र–पोखरा ११ र २० का ईञ्चार्ज जीवन खातीले जनतासँग टुटेको सम्बन्ध जोड्नका लागि अभियान सफल हुने विश्वास व्यक्त गरे। दलित, जनजाति, महिला, मधेशी, अल्पसङ्ख्यकलगायतको अधिकार स्थापित गर्ने माओवादी भएपनि अहिले अरुले त्यसको जस लिने दुस्प्रयास गरिरहेको आरोप लगाए। ‘अधिकार दिलाउने माओवादी हो तर त्यहि माओवादीबिरुद्ध धावा बोल्ने काम भईरहेको छ। त्यसविरुद्ध जेहाद छेड्न अभियान सफल हुनेछ’, उनले भने ।

प्रकाशित: १६ भाद्र २०८० ११:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App