६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

विशेष आयोग बनाएर सबै नेताहरूको छानबिन हुनुपर्छ: नेता शर्मा

पत्रकार सम्मेलनमा माओवादी नेता शर्मा लगायत।

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विशेष आयोग बनाएर सबै नेताहरूको विभिन्न प्रकरणको छानबिन गर्नुपर्ने माग गरेका छन्।

मंगलबार प्रेस सेन्टर नेपाल मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै नेताहरूको यथार्थ छानबिन गरी जनताको सामु ल्याउनुपर्ने माग गरेका हुन्। सुन तस्करी लगायतका विभिन्न प्रकरणमा नाम जोडिएका माओवादीका नेताहरूको पनि आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए।

‘कसैको नाम जोडिने बित्तिकै छानबिन रोकिने भन्ने हुन्न। प्रक्रियामा सबैको छानबिन भइरहेकै छ’, शर्माले भने, ‘प्रधानमन्त्री नै भएपनि छानबिनको दायरामा ल्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन छ। विशेष आयोग बनाएर सबैको छानबिन गरी यथार्थ वस्तुस्थिति जनताकोमा ल्याउनुपर्छ भन्ने मेरो माग हो।’

ललिता निवास प्रकरणसम्म आइपुग्दा अनुसन्धान रोकिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अनुसन्धान एवम् कारबाही प्रक्रिया नरोकिने दाबी गरे। सरकारी सम्पत्ति सरकारको स्वामित्वमा आउनुपर्ने उल्लेख गर्दै उनले नेपालमा पूर्वपश्चिम सबैतिर भएको सरकारी सम्पत्तिको हिनामिना रोक्दै संलग्नलाई कारबाही गर्नुपर्ने धारणा राखे।

पार्टी र समाजको रूपान्तरण जरुरी रहेकोले माओवादीले रूपान्तरण अभियान सञ्चालन गरेको उपमहासचिव शर्माले जानकारी दिए। सरकारले गरेका राम्रा काम कारबाही जनताको सामु लैजान पनि यो अभियान सहयोगी हुने उनको भनाई थियो। यस अभियानपछि विधान अधिवेशन हुने उनले जानकारी दिए।

यस्तै विशेष महाधिवेशन गर्ने तयारी समेत रहेको नेता शर्माको भनाई थियो। समग्र राज्यको रूपान्तरण अहिलेको आवश्यकता रहेको औँल्याउँदै उनले भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियानमा आम जनताको साथ र सहयोग आवश्यक रहेको धारणा राखे। जनतासँग माओवादी अभियानले जनता र कार्यकर्तासँगको सम्बन्ध सुदृढीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित: १२ भाद्र २०८० १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App