२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेशसभा अधिवेशन अन्त्य, विधेयक अलपत्र

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राती १२ बजे देखि लागूहुने गरी चालू प्रदेशसभा अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।  

प्रदेश प्रमुखको कार्यालयका प्रबक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी बुधबार राती १२ बजे देखि कोशी प्रदेशसभाको चालू तेस्रो अधिवेशन प्रदेश प्रमुख पर्शुराम खापुङले अन्त्य गरेको जानकारी दिएका हुन्। कोशी प्रदेशसभाको चालु अधिवेशन  प्रदेश प्रमुख पर्शुराम खापुङले असार १४ गते आह्वान गरेका थिए। अधिवेशन भर जम्मा ५ वटा मात्रै बैठक बसेको थियो। यहि अघिवेशनमा कोशी प्रदेशसका मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिएका थिए।

भदौ ४ गते विश्वासको मत लिंदा सभाध्यक्षकोसमेत मत लिएको भन्दै मुख्यमन्त्री उद्वव थापाले लिएको विश्वासको मत संविधान विपरित भएको दाबी गर्दै पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्बोच्च अदालतमा रिट दायर गरेका छन्। भदौ ६ गते कोशी प्रदेशसभाको बैठक प्रतिपक्षी दलहरू नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। प्रदेशसभा अधिवेशन अन्त्य भएपछि कोशी प्रदेशसभामा पेश भएको अर्थसम्बन्धी दुई वटा विधेयक अलपत्र परेका छन्। अघिल्लो हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न  प्रतिस्थापन विधेयक ल्याउने सरकारले तयारी गरेको भए पनि पछिल्लो राजनीतिक घटनाक्रमले  प्रदेशसभा बैठक सञ्चालन हुने अवस्था नदेखे पछि सरकारले अधिवेशन नै अन्त्य गरेको हो। सरकारले अध्यादेशमार्फत नयाँ बजेट ल्याउने तयारी गरिरहेको स्रोतले जनाएको छ।  

प्रकाशित: ७ भाद्र २०८० ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App