१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक : 'गुट–उपगुटले कांग्रेस पराजित'

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीमा रहेको गुट–उपगुटका कारण स्थानीय तहको निर्वाचनमा पराजित भएको धारणा राखेका छन्। पहिलो र दोस्रो चरणको निर्वाचन समीक्षा गर्न शनिबार सुरु भएको केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले उम्मेदवार छनोट पनि ठिक ढंगबाट सञ्चालन नभएको आरोप लगाउँदै आगामी निर्वाचनमा त्यस्तो गल्ती नदोहोर्‍याउन नेतृत्वलाई सचेत गराएका छन्। 

राम्रोलाई भन्दा हाम्रोलाई उम्मेदवार बनाउने परिपाटीले निर्वाचनमा पार्टीको उपस्थीति कमजोर बन्न पुगेको तर्क गर्दै सदस्यहरुले पार्टीका सबै निकायलाई पूर्णता दिन माग गरेका छन्। नेता रामचन्द्र पौडेल निकट नेताहरूले संसदीय बोर्डसहितका सबै निकाय तत्काल गठन गर्नुपर्ने धारणा राखेका हुन्।

बैठकमा नेता पौडेलले पार्टी विधानअनुसार गठन हुनुपर्ने निकायहरुले पूर्णता पाउन नसक्दा त्यसको असर निर्वाचनमा समेत परेको धारणा राख्दै तत्काल केन्द्रीय समिति, संसदीय बोर्ड, विभागका साथै भ्रातृ संगठनहरुलाई तत्काल पूर्ण दिनुपर्ने धारणा राखे।

पार्टी र सरकार राम्रोसँग चल्न नसकेको धारणा राख्दै पौडेलले सभापति शेरबहादुर देउवालाई जिम्मेवारी बाँडफाँड गरेर अघि बढ्न प्रस्ताव गरेका थिए। दुवैजना ७० वर्षभन्दा बढी भइसकेको धारणा राख्दै पौडेलले भनेका थिए, 'हामी दुवै ७० वर्ष पार गरिसकेकाले हाम्रो पालामा ठूलो पार्टी बनाएर अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। त्यसका लागि जिम्मेवारी बाँडफाँट गरेर काम गर्न तयार छु।'

पार्टीलाई जीवन्त र प्रभावशाली बनाउने दायित्व दुवैजनाको भएको बताउँदै उनले सरकार र पार्टी मिलेर चलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए।

सहमतिका नाममा टिकट वितरण गर्दा जिल्ला तहको सिफारिस उल्ट्याउँदा निर्वाचनको परिणाममा प्रभाव परेको तर्क उनले गरेका थिए। मेरो र तेरो भन्ने भावनाले कार्यकर्तालाई काखा र पाखा गरेको कारण निर्वाचनमा अनपेक्षित हार बेहोर्नुपरेको टिप्पणी गर्दै पौडेलले निर्वाचनको पराजयको समीक्षा गर्दै स्थानीय तहको बाँकीका साथै प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीको ध्यान केन्द्रित गर्नुपर्ने तर्क गरे।

पार्टी कब्जा गर्ने रणनीतिका साथ सदस्यता वितरण गर्ने र निर्वाचनका बेला पार्टी क्रियाशील सदस्य जति पनि उम्मेदवारले भोट नपाएको सुनाउँदै उनले पार्टीलाई चुस्त र दुरुस्त बनाउँदै प्रदेश र केन्द्रको चुनावको तयारीमा जुट्नुपर्ने धारणा राखे।

संविधान संशोधन प्रस्ताव टुंगो लगाएर अघि बढ्नुपर्ने धारणा राख्दै पौडेलले भने, 'संशोधन प्रक्रिया लैजाँदा राम्रो हुन्छ।'

बैठकमा महेश आचार्यले गुट र उपगुटभन्दा माथि उठ्न सबैलाई आग्रह गर्दै कांग्रेसको परम्परागत मतदाताले पनि छाड्दै गएको धारणा राखेका थिए। निर्वाचन परिणाम विश्लेषण गर्दा अहिले जनता र आममतदाता कांग्रेससँग चिढिएको बताउँदै जनताको असन्तुष्टिलाई बु‰न जरुरी रहेको बताए। 'हाम्रो परम्परागत शक्ति र मतदाता किन रिसाए, त्यसलाई बुझ्नु जरुरी छ,' उनले भने, 'जुन निकै गम्भीर कुरा हो।'

सामाजिक एकता र सद्भाव खलबलिँदै गएको धारणा राख्दै आर्चायले त्यसलाई जोड्न कांग्रेसले पनि नसकेको धारणा राखेका थिए। 

बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा टिकट जित्नेले पाउनुपर्ने स्वाभाविक प्रक्रिया भए पनि त्यसो नगरिएको तर्क गरे।

बैठकमा धनराज गुरुङ, चन्द्र भण्डारीसहित नेताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाभियोग पक्षमा पार्टीलाई नउभ्याउनु, प्रधानन्यायाधशीमाथि महाभियोग प्रस्ताव दर्ता गराउनु र प्रहरी प्रमुखको नियुक्तिसहितका मुद्दाका कारण पार्टी पराजित भएको तर्क गरेका थिए। 

त्यस्तै, केन्द्रीय सदस्य रामकृष्ण यादवले कांग्रेसले परिर्वतनको पक्षमा नेतृत्व गर्दै आए पनि जनता किन हाम्रो विपक्षीमा देखिए त्यसको खाजी गर्नुपर्ने धारणा राखेका थिए।

पार्टीभित्रको गुटउपगुटकै कारण पार्टी पराजित भएको तर्क गर्दै नेता बलबहादुर केसीले बैठकमा भने, 'हामी अरुबाट नभई गुउटपगुटको सिकार भएका छौं।'

नेता गुरु घिमिरेले कांग्रेसले आफूले गरेको काम जनतासम्म पुर्‍याउन नसक्दा स्थानीय निर्वाचनमा पराजित भएको धारणा राखे।

नेत्री सरिता प्रसाईले समयमा टिकट वितरण नहुनु र मेरो र तेरोको भावनाले टिकट वितरण गर्दा पार्टी पराजित भएको बताइन्।

मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, मीन विश्वकर्मासहितका नेताले स्थानीय तहको निर्वाचन पार्टीभित्रको अन्तरघातकै कारण पराजित भएको भन्दै सभापति शेरबहादुर देउवाको बचाउ गरेका थिए। बैठक आइतबार बिहान ८ बजे पुनः बस्नेछ।

प्रकाशित: ८ श्रावण २०७४ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App