२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ। प्रमुख प्रतिपक्षी एमालेले जस्तै सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सांसदले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेपछि सरकारलाई नैतिक दबाब परेको हो।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब सय किलो तस्करीको सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको तस्करीको सुन बरामद भएपछि प्रमुख प्रतिपक्षी एमालेले निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने माग राखेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार ललितपुरमा पत्रकार सम्मेलनमा गरी तस्करीको सुन कसले ल्यायो भन्ने विषयमा निष्पक्ष छानबिन गर्न न्यायिक समिति गठन आवश्यक रहेको बताए। उनले गत वैशाखयता विमानस्थलबाट करिब ९ सय किलो तस्करीको सुन भित्रिएको दाबी गर्दै यसले विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न खडा गरेको बताए।

ओलीले नेपाल सरकारको सर्वाधिक कडा सुरक्षा प्रबन्ध रहेको भनिने अन्तर्राष्ट्रिय विमानस्थलबाट पटकपटक तस्करीको सुन भित्रिनुले यसमा राजनीतिक र प्रशासनिक संरक्षण, मिलिमतो र संलग्नता रहेको सहजै बुझ्न सकिने बताए। उनले माओवादी केन्द्रका नेताहरूको नाम पनि सुन तस्करीमा जोडिएको समाचार सार्वजनिक भइरहेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार ललितपुरमा पत्रकार सम्मेलनमा गरी तस्करीको सुन कसले ल्यायो भन्ने विषयमा निष्पक्ष छानबिन गर्न न्यायिक समिति गठन आवश्यक रहेको बताए।

ओलीले भने ‘अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत उच्चपदस्थ प्रशासनिक र सुरक्षा अधिकारीहरूले एकैसाथ बिदा लिनु, अध्यागमन र भन्सारका गतिविधिको नियमित अनुगमन गर्न मिल्नेगरी अर्थ र गृह मन्त्रालयमा जोडिएका क्लोज सर्किट क्यामेराको कनेक्सन शंकास्पद ढंगले विच्छेद गरिनु, एक्सरे मेसिन र मेटल डिटेक्टरले पटकपटक जाँचको संकेत गर्दा पनि पुनः परीक्षण नगरिनु, सुन बरामद भएको घटना बाहिर आउनासाथ विषयान्तर गर्नेगरी सत्तानिकट व्यक्तिहरूले विभिन्न कुप्रचार गर्नुलाई संयोग मात्र मान्न सकिने स्थिति छैन।’

ओलीले सुन तस्करी सत्ता संरक्षित सुनियोजित गैरकानुनी र आपराधिक क्रियाकलाप हो भन्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताउँदै प्रधानमन्त्री र गृहमन्त्रीले यस्तो अवस्थामा नैतिकताको आधारमा राजीनामा दिनुको साटो न्यायिक छानबिन समिति बनाउन पनि आनाकानी गरिरहेकोमा भन्दै आक्रोश पोखे।

‘पछिल्लोपटक बरामद करिब सय किलो तस्करीको सुनलगायत चर्चामा रहेका सबै भ्रष्टाचार, अनियमितता र घोटालाको निष्पक्ष र गहिरो छानबिन हुनुपर्छ। भ्रष्टाचारी, तस्कर र राज्यको साधनस्रोत दोहन गर्नेलाई कानुनको कठघरामा उभ्याइनुपर्छ भन्नेमा हामी स्पष्ट छौं र यसका लागि निरन्तर प्रयत्नशील छौं,’ ओलीले भने।

ओलीले वर्तमान सरकार राष्ट्रिय हितको रक्षा गर्न पूर्णतः असफल भएको आरोप लगाए। ‘सत्ता टिकाउन जस्तोसुकै शक्तिसँग जस्तोसुकै सम्झौता गर्न तयार सरकारको नेतृत्वले आगामी दिनमा मुलुकलाई झनै जोखिमतिर धकेल्ने सम्भावना टड्कारो छ’, ओलीले भने।

सरकार क्षुद्र स्वार्थका लागि संविधानको मर्म कुल्चिन पछि नपर्ने कुरा कोसी प्रदेशमा सभामुख पदको गरिमालाई कुल्चिदै गरिएको हरकतले स्पष्ट पारेको उनले बताए। उनले सरकारले स्वतन्त्र संस्थामाथि नांगो हस्तक्षेप गरेको आरोप लगाए।

ओलीले वर्तमान सरकार राष्ट्रिय हितको रक्षा गर्न पूर्णतः असफल भएको आरोप लगाए। ‘सत्ता टिकाउन जस्तोसुकै शक्तिसँग जस्तोसुकै सम्झौता गर्न तयार सरकारको नेतृत्वले आगामी दिनमा मुलुकलाई झनै जोखिमतिर धकेल्ने सम्भावना टड्कारो छ’, ओलीले भने।

ओलीले सत्ताकै संरक्षणमा सुन तस्करी भइरहेको आरोप लगाए। ‘हाम्रो पार्टीले यस विषयमा सदन र सदनबाहिरबाट पनि सरकारको बारम्बार ध्यानाकर्षण गराइरहेको छ। गृह र अर्थ मन्त्रालयलगायतको उच्च प्रशासनिक र राजनीतिक नेतृत्व जोडिएको यो विषयमा गृह मातहतका निकायबाट निष्पक्ष छानबिन हुन सक्दैन भन्नेमा हाम्रो पार्टी स्पष्ट छ,’ ओलीले भने, ‘यथार्थ त ई–सिगरेटभित्र लुकाएर तस्करी गरिएको ९ केजी सुन प्रकरणमा प्रत्यक्ष जोडिएका सत्तारुढ पार्टीका नेता र निजका परिवारका सदस्यलाई सामान्य सोधपुछसम्म पनि नगरिएको तथ्यबाटै पुष्टि भइसकेको छ।’

ललिता निवासमा पनि जोगाउन खोजियो

ओलीले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन मन्त्रिपरिषद्बाट निर्णय गराउन मुख्य भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई अदालतको निर्देशनात्मक आदेश हुँदा पनि सरकारी निकायले अहिलेसम्म सामान्य बयानका लागिसम्म बोलाउन नसकेको भन्दै आक्रोश पोखे। ‘हामी यस प्रकरणको सत्यतथ्यको गहिराइमै पुगेर अन्वेषण गर्न, बिनादबाब र प्रभाव सत्यतथ्य बाहिर ल्याउन, दोषीहरूलाई कडा कारबाही गर्न र यस्ता घटना भविष्यमा दोहोरिन कुराका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत प्रबन्धका लागि उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भनेर हामीले निरन्तर दबाब दिँदै आएका छौं,’ ओलीले भने। तर सरकार स्वतन्त्र, निष्पक्ष उच्चस्तरीय न्यायिक छानबिन समितिको माग सुन्नासाथ तर्सिने गरेको आरोप लगाए।

ओलीले २०७४ माघमा यस्तै प्रकृतिको गठबन्धन रहेको बेला भएको ३३ किलो सुन तस्करी प्रकरणलाई आफ्नो पालामा उच्चस्तरीय छानबिन गरेर मुख्य अपराधीलाई कानुनको कठघरामा ल्याएको बताए। ‘निश्चित व्यवसायीको स्वार्थ र उनीहरूकै व्यक्तिको अवैध उपस्थितिमा करका दरहरू हेरफेर गर्ने, ठूला ठेक्कापट्टालगायत राज्यका साधनस्रोतहरू निश्चित व्यवसायीहरूको स्वार्थमा दोहन गर्न छुट दिने, विदेशबाट अवैध रूपमा भित्रिएको धनलाई सेतो तुल्याउन राष्ट्र बैंकलाई दबाब दिनेलगायतका कामले मुलुकको वित्तीय छबि अन्तर्राष्ट्रिय जगतमा धमिलिएको छ,’ ओलीले भने।

सरकारमा एमालेको रुचि छैन

एमाले अध्यक्ष ओलीले संसद् अवरोध गर्ने अवस्था नै सरकारले निम्ताएको आरोप लगाए। उनले एमालेलाई सरकारमा कुनै रुचि नभएको तर देशको चिन्ता भएको बताए। देशको अर्थतन्त्र सरकारकै कारण ध्वस्त भएको आरोप उनले लगाए। ‘हामीले सत्तातिर हेरेकै छैनौं, यसको अर्थ हामीले हेरेका छैनौं भनेपछि सरकारले जे गरे पनि ढुक्क रहेछ नि भन्ने कुरा चल्दैन,’ उनले भने।

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउने हल्ला मात्र

एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग नेताहरूले भेटेको विषयलाई लिएर एमालेभित्रै गुटबन्दी गराउन खोजेको आरोप लगाएका छन्। उनले पूर्वराष्ट्रपति भण्डारी एमालेमै फर्किएर राजनीति गर्ने हल्ला चलाएर पार्टीभित्र समस्या सिर्जना गर्न खोजिएको बताए। पूर्वराष्ट्रपति भण्डारीसँगको भेटलाई सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न उनले आग्रह गरे। ‘यस्तो कुरा गरेको विषयलाई कार्ड छपाएर लिएर जानुभयो रे, पार्टीमा आइदिनुपर्‍यो भनेर निम्ता गर्‍यो भन्ने खालको कुरा गर्नु भएन, यो खालका प्रयासलाई मलजल नगर्दा राम्रो हुन्छ,’ ओलीले भने, ‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ।’

प्रकाशित: २९ श्रावण २०८० ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App