२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दलहरूको ध्यान २०८४ तिर

प्रतिनिधि र प्रदेशसभा निर्वाचन भएको एक वर्ष पुग्न तीन महिना बाँकी छ। जनताबीच आर्थिक विकास र समृद्धिका विभिन्न आश्वासन बाँडेर राजनीतिक दल र तिनका प्रतिनिधिहरूले निर्वाचन परिणाम आफ्नो पक्षमा पारे। चुनावमा व्यक्त प्रतिबद्धता पूरा गर्न लाग्नुपर्ने दलहरूको ध्यान भने अहिलेदेखि नै चार वर्षपछि हुने निर्वाचन केन्द्रित बन्न पुगेको छ। दलहरू २०८४ सालमा हुने आम निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न संगठन सुधारका कार्यक्रममा केन्द्रित बन्न पुगेका छन्। निर्वाचनका समयमा जनताबीच गरेका वाचा पूरा गर्नभन्दा पनि पार्टी संगठन निर्माणका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन नेताकार्यकर्ता केन्द्रित बन्न पुगेका हुन्।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्र, नेपाली कांग्रेसदेखि प्रमुख प्रतिपक्षी नेकपा एमाले हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्मले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। जनहित र सुशासनको पक्षमा काम गर्ने जनाउँदै आएको रास्वपाले २०८४ को आम निर्वाचनलाई मिसन नै बनाएको छ। मिसन २०८४ नारा बनाएको रास्वपाले पार्टी सदस्यता वितरणदेखि संगठन निर्माणमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न पुगेको छ।

प्रमुख प्रतिपक्षी एमाले संगठन सुदृढीकरणको दोस्रो चरणमा छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिएलगत्तै उसले संगठन सुधारका कार्यक्रम सुरु गरेको हो। मिसन ग्रासरुट नाम दिएर गरेको अभियानअन्तर्गत एमालेका नेताहरू गाउँगाउँ पुगे। तर त्यसबाट एमालेले सन्तोषजनक परिणाम हात पार्न नसकिएको नेताहरूको बुझाइ छ। पार्टीभित्र फरक मतको सम्मान नभएको र अध्यक्ष केपी ओलीसहित निकटहरू मात्र हाबी भएको भन्दै तल्लो तहसम्म असन्तुष्टि बढ्दो छ।

चुनावमा व्यक्त प्रतिबद्धता पूरा गर्न लाग्नुपर्ने दलहरूको ध्यान भने अहिलेदेखि नै चार वर्षपछि हुने निर्वाचन केन्द्रित बन्न पुगेको छ। दलहरू २०८४ सालमा हुने आम निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न संगठन सुधारका कार्यक्रममा केन्द्रित बन्न पुगेका छन्।

त्यसको प्रभाव संगठित सदस्यता नवीकरणमार्फत देखिएको जनाउँदै एक नेताले भने, ‘गाउँ तहका नेता–कार्यकर्ताले हाम्रो कार्यशैलीमा परिवर्तन चाहेका छन्। त्यो हामीले गर्न सकिराखेका छैनौं।’

फरक मत राख्यो कि पार्टीभित्र ‘सफाया’ हुने अवस्था आएको जनाउ ती नेताले थपे, ‘नेतृत्वविरुद्ध बोल्नै हुन्न भन्ने मानसिकता हाबी हुँदै जाँदा तल्लो तहका नेता–कार्यकर्तालाई रोक्न समस्या परेको छ।’ यद्यपि अहिले एमालेले पालिका तहमै नेताहरूलाई उतारेर प्रशिक्षणसहितका संगठन परिचालनका कार्यक्रम गर्दै आएको छ।

सत्तारूढ कांग्रेस पनि पार्टी संगठन सुदृढीकरण गर्न भन्दै गाउँ पसेको छ। महाधिवेशन भएको डेढ वर्षमा संगठन सञ्चालनमा कुनै चासो नदिएको कांग्रेसले दश दिने अभियान सुरु गरेको छ। सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरूले पार्टी संगठनको अवस्था, विधानअनुसार गठन हुनुपर्ने संरचना गठन भए नभएको साथै स्थानीय सरकार र पार्टीबीचको सम्बन्धनजस्ता विषयमा सहजीकरण गर्नुका साथै केन्द्रमा प्रतिवेदन पेस गर्नेछन्। पार्टीका सबै तहका बैठक राख्नुका साथै भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरू छलफलपछि कांग्रेसले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि एक वर्षे कार्यक्रम कांग्रेसले तयार गरेको छ। महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले २०८४ को चिन्ता र चिन्तन गरेर अभियान सञ्चालन नगरेको दाबी गर्दै आएका छन्। २०८४ को चिन्ता गर्नैपरे २०८३ मा गरौला भन्दै देश र जनताको हितमा विगतमा गरेको वाचाअनुसार काम गर्ने नै कांग्रेसको प्राथमिकता र योजना रहेको र भएको बताए।

पार्टीले सञ्चालन गरेको र गर्ने अभियान सोहीअनुसार भएको जनाउँदै आएका शर्माले जनताले बेहोर्नुपर्ने विविध प्रकृतिका आकस्मिक घटनाहरू, व्यावहारिक सहजीकरणका अपेक्षाहरू, सामाजिक, प्रशासनिक एवं अन्य विविध सन्दर्भमा जनसेवा गर्न गाउँ सेवा दल गठन गर्ने नीति लिएको दाबी गरे। गाउँ तथा नगर समितिअन्तर्गत रहनेगरी कांग्रेसले गाउँ सेवा दल गठनको प्रक्रिया सुरु गरेको छ। कांग्रेसका पुराना पुस्ताले आफूहरूलाई अपमानित गरेको बताइरहेका बेला युवा पुस्तामा आक्रोश र असन्तुष्टि तीव्र बन्दै गएको छ।

साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि एक वर्षे कार्यक्रम कांग्रेसले तयार गरेको छ। महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले २०८४ को चिन्ता र चिन्तन गरेर अभियान सञ्चालन नगरेको दाबी गर्दै आएका छन्।

नयाँ पुस्तासँग जोडिने गरी कांग्रेसले कुनै अभियान सञ्चालन गर्न नसक्दा संगठन निरन्तर क्षयीकरण हुँदै गएको निष्कर्षमा नेताहरू पुगेका छन्। त्यसलाई जोगाउन पार्टीका दुई भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा विधानको व्यवस्थाबाहिर गएर ७ सय र ४ सयको केन्द्रीय समिति बनाएका छन्। त्यसो गर्दा असन्तुष्ट युवा पुस्तालाई पार्टीमा रोक्न सकिन्छ कि भन्ने बुझाइ रहेको देखिन्छ।

सरकारको नेतृत्व गरे पनि माओवादी केन्द्रको अवस्था कांग्रेस र एमालेभन्दा राम्रो छैन। कमजोर संगठनको जगमा दुई ठुला दलसँग तालमेल गर्दै माओवादी सत्ता राजनीतिको केन्द्रमा छ। पार्टीका पुराना नेता तथा कार्यकर्ताले छाड्दै जाने र नयाँ जोडिने अवस्था नहुँदा माओवादी केन्द्रको संगठन निरन्तर कमजोर बन्दै आएको नेताहरूले नै स्वीकार गरेका छन्।

सोहीअनुसार सो पार्टीले पनि अन्य दलले जस्तै भदौ १६ गतेदेखि तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। देशभरका ६ हजार ७ सय ४३ वडाहरूमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान माओवादीले सञ्चालन गर्नेछ। भदौ १६ गतेदेखि सुरु हुने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘भदौ १६ गते ६ हजार ७ सय ४३ वटामा एकै साथ उद्घाटन हुन्छ। अध्यक्षले सात प्रदेशको सातवटा वडाहरू जिम्मा लिनुभएको छ।

हामीले पनि सबैले जिम्मा लिएका छौं। यसमा हामीले वैचारिक पुनर्गठन, राजनीतिक पुनर्गठन, संगठनात्मक पुनर्गठन र सांस्कृतिक पुनर्गठनका कुरा गर्छौं। यो एउटा परीक्षा हो, मलाई विश्वास छ, हामी यो परीक्षामा उत्तीर्ण हुन्छौं।’

त्यस्तै राप्रपाले नवीन राप्रपा निर्माणको अभियान सुरु गरेको छ। पार्टीका उपाध्यक्षहरूलाई सात प्रदेशको जिम्मा लगाएर आगामी पुससम्म संगठन सुधारको अभियान सुरु गरेको हो। आगामी पुससम्म संगठन निर्माणमा केन्द्रित हुने लक्ष्य राखेको राप्रपाले युवा र महिलालाई पार्टीमा जोड्ने योजना बनाएको छ। त्यसका लागि केन्द्रीय तहका नेताहरूलाई तल्लो तहसम्मको संगठन निर्माणमा केन्द्रित हुनेगरी खटाएको राप्रपाले वडा तहसम्मको संरचना निर्माण गर्ने लक्ष्य राखेको छ।

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाले नयाँ सोच, शैलीका साथ पार्टीलाई अघि बढाउने योजनामा आफूहरू रहेको बताए। ‘युवा पुस्ताको सोचअनुसारको पार्टी संगठन निर्माण गर्न हामी लागिपरेका छौं,’ उनले भने, ‘युवा र महिलालाई पार्टी संगठनसँगै देश निर्माणमा राप्रपा जोड्न चाहन्छ। पुरानो राप्रपा होइन नवीन राप्रपा बनाउने हाम्रो अभियान हो।’

प्रकाशित: २८ श्रावण २०८० ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App