२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कार्यकारीलाईसमेत कारवाही गर्न सक्ने आयोग गठन गराैंः डा. भट्टराई

समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेसम्म देशमा भएका ठूला घोटालाहरुको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन्।

उनले ललिता निवास प्रकरणमा आफू मुछिएको बताउँदै त्योलगायत अहिलेसम्मका सबै घोटालाहरुको छानवीनका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाईसमेत कारवाही गर्न सक्ने खालेको उच्चस्तरीय आयोग आवश्यक रहेको बताए।  

‘अंश अंंशमा छानविन गरेर समस्याको समाधान हुँदैन्, कार्यकारीको मातहतमा रहेको अंगले छानबिन गर्दा त्यो प्रभावकारी हुँदैन, कार्यकारीकै मानिस मुछिने अवस्था आए कसरी छानवीन हुन्छ,’ शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘त्यसैले उच्चस्तरीय आयोग बनाएर अहिलेसम्मका सबै घोटालाहरुको छानवीन गर्नु आवश्यक छ।’ उनले अहिलेसम्म सत्तामा रहेका सबैले थुप्रै घोटाला र निजी लाभ लिएको दावी गरे।  

‘ललिता निवाससँगै भुटानी शरणार्थी काण्ड, वाइडबडी, ओम्नी काण्ड, नेपाल टस्टको जग्गा प्रकरण, लडाकु शिविरको घोटालालगायतका अहिलेसम्म भएका सबै काण्डहरुको एममुष्ट छानवीन गरिनुपर्छ,’ उनले भने, ‘सत्तामा रहनेले आफ्नो स्वार्थका लागि छानवीन गरेजस्तो गर्नु हुँदैन्।’

ललिता निवास प्रकरणमा आफू छानवीनमा सघाउन पूर्ण तयार रहेको बताए। ‘पशुपति टिकीछा गुठीको जमिन गल्तीबस समरजंग कम्पनीको नाममा गएको र त्यो सच्याइनुपर्छ भनेर मन्त्रिपरिषद्मा प्रस्ताव आएको थियो,’ उनले भने, ‘सोही अनुसार म प्रधाननमन्त्री हुँदा निर्णय भएको हो, नियतबस लाभका लागि मैले गरेको होइन्, त्रुटी भएको रहेछ र राज्यलाई नोक्सानी भएको रहेछ भने नियम–कानुन बमोजिम गरिनुपर्छ।’

उनले अहिलेको गठनबन्धन जुनसुकै बेला परिवर्तन हुन सक्ने बताए । ‘संसदमा कसैको बहुमत छैन्, सानो दलले सरकारको नेतृत्व गरिरहेको छ,’ उनले भने, ‘जति बेला पनि अहिलेको सरकार परिवर्तन हुनसक्छ।’ उनले अहिलेको निर्वाचन प्रर्णालीनै परिवर्तन आवश्यक रहेको बताए।

अध्यक्ष भट्टराईले अहिलेको व्यवस्थाले देशमा स्थायित्व कायम गर्न नसक्ने भएकाले केन्द्रमा राष्ट्रपति र प्रदेशहरुमा प्रत्यक्ष मुख्यमन्त्री चयनका लागि संविधान संशोधन गर्नुपर्ने आवश्यकता औल्याए।

प्रकाशित: २७ श्रावण २०८० ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App