२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताएका हुन्।

सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका (नवराज ढुंगाना) लाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताए। उनले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरुले खोज्नुपर्ने बताए।

उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान आझेलमा पर्ने दाबी गरे। भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको उनले बताए। नेता कोईरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताए। उनले देशमा अराजकता र दण्डहीनता बढीरहेको बताए। उनले मानिसको हत्या गर्नेहरुलाई राजनीतिक लेपमा छुट दिनु देशका लागि राम्रो नभएको जिकिर गरे।

उनले भने, ‘भ्रष्टाचारले देश गाँजेको छ। अर्को भनेको दण्डहीनता बढीरहेको छ। मान्छे मार्नुहुन्छ, राजनीतिक लेपमा छुट्नुहुन्छ। सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतले निर्णय गरिसकेको हुन्छ। यस्ता कुरलाई हामीले ठिक राख्न सकेनौँ भने देश अराजकतातिर जान्छ। अहिले गइरहेको छ। भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ। एउटा प्रकरण निस्किन्छ, त्यो इस्यु अघि बढाउँदै अर्को इस्यु आउँछ, पहिलाको इस्यु साइड लाग्छ। भूटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो, भूटानी शरणार्थी प्रकरण रोकियो। झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ। सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही इन्भल्व हुन्छ। सुनकाण्डमा त नेपालका बजार धेरै ठूलो छैन। यो काण्ड चल्दाचल्दै अर्को काण्ड निस्किन्छ, कुनैपनि काण्ड निस्कर्षमा पुग्दैन, किनभने माथिका मानिस सहभागी हुन्छन्। सुन काण्डमा रोचक के छ भने सिबिआई इन्भल्व छैन। राजश्व अनुसन्धान मात्रै इन्भल्व छ। सिआईबी इन्भल्व छैन, त्यो इन्ट्रेस्टिङ छ। राजश्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अण्डरमा हुन्थ्यो, ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो, शेरबहादुरजी आइसकेपछि उहाँले फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन। त्यहाँ डिजी जो हुनुहुन्छ, सुन काण्ड भन्दा ७ दिन पहिला प्रधानमन्त्रीजीको पिए हुनुहुन्थ्यो। के हुँदैछ, कहाँ पुग्न खोज्दैछौँ।’

प्रकाशित: १८ श्रावण २०८० ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App