३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कोशी प्रदेशः सरकार टिक्ने टुंगो छैन, मन्त्री बन्न हानाथाप

काेशी प्रदेशमा सभामुखलाई राजीनामा गराएर जेनतेन बहुमत पुर्याएर बन्न लागेको सरकारको मन्त्री हुन दलका नेताहरूवीच हानाथाप भइरहेको छ। मन्त्री बन्न दलका नेताहरूवीचको हानाथाप कै कारण मुख्यमन्त्री उद्धव थापाकाे बुधबारको सपथग्रहणसमेत स्थगित भएको छ।  

बुधबार बिहान साढे १० बजेलाई निर्धारण गरिएको मुख्यमन्त्रीको सपथ माओवादी  केन्द्रबाट पठाउने मन्त्रीको नामा विवाद भएको र गठबन्धनदलहरूबीचमा पनि मन्त्रालय भागबण्डामा विवाद भएका कारण  स्थिगित भएको थियो। माओवादी केन्द्रबाट मन्त्री पठाउने विषयमा दलभित्र विवाद भएको माओवादी केन्द्र स्रोतले जनाएको छ।

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने तय भए पनि अन्तिम समयमा प्रधानमन्त्री दाहालका ज्वाई जीवन आचार्यले मन्त्री बन्ने अडान लिएपछि माओवादीबाट मन्त्री पठाउने विषय टुंगोमा पुग्न नसकेको स्रोतको दाबी छ। माओवादीका जीवन आचार्य हिक्मतकुमार कार्की नेतृत्वको सरकार हुँदा कोशी प्रदेशको पर्यटन,वन तथा  वातावरण मन्त्री बनेका थिए। त्यसपछि कांग्रेसका उद्वव थापा असार २१ गते  मुख्यमन्त्रीमा नियुक्त भएपछि आचार्य आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।  

तर, सर्वोच्चले सभामुखसमेतको हस्ताक्षरमा संविधान विपरित मुख्यमन्त्री नियुक्त भएको भन्दै मुख्यमन्त्रीको नियुक्ती खारेज गरेपछि जीवन आचार्य  पनि पदबाट मुक्त भएका थिए। साउन १६ गते पुनः थापा मुख्यमन्त्रीमा नियुक्त भएपछि बिस्तार हुन लागेको मन्त्रिपरिषद्मा आचार्यले दाबी गरेपछि पार्टीमा विवाद चुलिएको माओवादी निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार मन्त्री बन्ने विषयको  विवाद मिलाउन दलको बैठक बसिरहेको छ।  

माओवादी दलभित्र मात्रै नभई गठबन्धन दलहरूबीचमा पनि मन्त्रालय भागबण्डामा विवाद उत्पन्न भएको छ। नेकपा एकिकृत समाजवादीले  पूर्वाधार विकास मन्त्रालय मागेपछि गठबन्धनमा भागबण्डाको विवाद भएको हो। यस अघि पनि नेकपा एकिकृत समाजवादीले पूर्वाधार विकास मन्त्रालय माग्दै सरकारमा समावेश नहुने घुर्कि लगाएको थियो।  

कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्वव थापाले गठबन्धन दलहरूबीच  मन्त्रालय भागबण्डा टुंगो नलागेका कारण सपथग्रहण साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिए। थापाले मन्त्रालय भागबण्डा टुंगो लगाउन दलहरूबीचमा छलफल भइरहेको बताए।  ‘मन्त्रालय भागबण्डा टुंगो लगाउने विषयमा गठबन्धनका दलहरूबीच छलफल भइरहेको छ’ उनले भने ‘चाँडै टुंगो लगाउँछौं।’ 

यता पूर्व सभामुख  बाबुराम गौतमले आफूलाई मन्त्री बनाउने विषय केन्द्रमा सहमति भइसकेको भए पनि प्रदेश स्तरबाट कुनै जानकारी नआएको बताए। गौतमले माओवादी केन्द्रको संसदीय दलको बैठकमा आफू सहभागि नभएका कारण बैठकमा के–के विषयमा कुराकानी भइरहेको छ भन्ने जानकारी नभएको बताए। गौतमलाई  माओवादी केन्द्रको भागमा परेको आर्थिक मामिला तथा योजना मन्त्री बनाउने विषयमा दलको बैठकमा छलफल भइरहेको स्रोतले जनाएको छ। साना पार्टीहरू मिलाएर बनाउने तयारी गरिएको कोशी प्रदेश सरकारको भविश्य सुनिश्चित नभए पनि दलका नेताहरू मन्त्री बन्न हानाथापमा लागेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनतेन ४७ मत (बहुमत) पुर्याएर मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत पाउने आधार अझै तयार भइसकेको छैन।  

प्रकाशित: १७ श्रावण २०८० ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App