कर्मचारीको विवरण भुवन शर्मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई अन्य सबै मन्त्रालय र निकायहरूले टेरेका छैनन्। मन्त्रालय स्रोतका अनुसार मन्त्री मोदीले ती मन्त्रालय र निकायलाई कर्मचारीहरूको विवरण पठाउन पाँच पटकसम्म परिपत्र गरिसकेका छन्। तर अहिलेसम्म त्यो विवरण कहिबाट आएको छैन।
उनी मन्त्री भएर आए देखिनै सामान्य प्रशासन मन्त्रालयले अन्य १७ वटा मन्त्रालय तथा ४० वटा विभिन्न निकायले सामान्यको चिठी पठाएर तत्काल कर्मचारीहरूको विवरण पठाउन ताकेता गरिरहेको छ। मन्त्री मोदीको निर्णयमा कहीँ कतैबाट कार्यान्वयन भएको छैन। कर्मचारीको विवरण पठाउन सामान्यले सुरुदेखि नै परिपत्र गर्दै आएको छ र मन्त्रालयको यस निर्देशनलाई अन्य मन्त्रालय, विभाग तथा निकायहरूले नटेरेका हुन।
स्रोतका अनुसार मन्त्रालयको परिपत्रलाई अन्य मन्त्रालय तथा कार्यालयहरूले बेवास्ता गरिरहेका छन्। मन्त्रालयले कार्यालयमा कार्यरत सबै कर्मचारीको दरबन्दी, पदपूर्ति अवस्था, काजमा रहेका कर्मचारीको स्थितिलगायत विषयमा विवरण पठाउन ताकेता गर्दै आएको छ। मोदी सामान्य प्रशासनमन्त्री भएलगत्तै उनले यस्तो परिपत्र गरेका थिए। त्यसपछि करिब एक सातापछि अर्को परिपत्र गरेका थिए। तर जतिपटक परिपत्र गरे पनि सामान्यको चिठीलाई अन्य मन्त्रालयहरूले गम्भीर रूपमा लिएका छैनन्। मन्त्रीको सचिवालयले भने ४० मध्ये २५ निकायबाट यस्तो विवरण आइसकेको दाबी गरेको छ।
प्रकाशित: १५ श्रावण २०८० ०७:४४ सोमबार