२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सुन प्रकरणले मुख देखाउनै लाज भयोः सांसदहरु

सांसदहरुले नेपाल तस्करहरुको स्वर्णभूमि बनेको बताउँदै नेपाली जनतासमक्ष आफूलाई मुख देखाउनै गाह्रो भएको बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरु नेपाल तस्कहरुको लागि स्वर्णभूमि बन्नु राम्रो नभएको बताएका हुन्। 

उनीहरुले पछिल्लो समय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणले मुलुकको साख गिरेको बताए। उनीहरुले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री र मन्त्रालयहरुलाई बोलाएर छलफल गर्नुपर्ने र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग गरे।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सुन काण्डले राष्ट्रको इज्जतमाथि गम्भीर प्रश्न उठाएको बताए। उनले सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित पैसा प्रयोग भएको खबर बाहिरिएको सुनाए। 

सरकार जवाफदेही बन्ने भन्दापनि वादप्रतिवादमा उत्रिने काम गरेको उनकाे भनाइ थियाे। उनले सुन तस्करीमा प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी नेकपा (माओवादी केन्द्र) का उच्च तहका नेताहरु संलग्न रहेको कुरा बाहिरिएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिनको आयोग बनाउनुपर्ने बताए। उनले छानबिन गर्नुपर्नेहरुको एजेन्सीबाट निष्पक्ष छानबिन हुन नसक्ने ‍जिकिर गरे।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले जनप्रतिनिधि मुलक संस्था निस्क्रिय बनाएर सरकार अस्थिर भइरहेको बताए। उनले वर्तमान सरकार सेटिङमा चलेको भन्दै सुनकाण्डमा सरकारमा रहेका गृहमन्त्री र अर्थमन्त्रीको प्रत्यक्ष संलग्नता छ भनेर सरकार पक्षकै सांसदहरुलै कुरा उठाएपछि समिति गम्भीर हुनुपर्ने बताए।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले नेपाल सुन तस्करको स्वर्णभूमि बनेको बताए। उनले सुन तस्करीका कारण मुलुकको साख खसेको र आफूलाई मुख देखाउनै गाह्रो भएको बताए। 

उनले भ्रष्टाचारका जुनसुकै काण्डमा पनि सरकार निष्पक्ष रुपमा अन्तिम बिन्दुसम्म पुग्नुपर्ने उल्लेख गरे। स्कुटरको ब्रेक सुमा सुन आएको भनिरहँदा स्कुटर कहाँबाट आयात हुन्छ ? कसरी विमानस्थलबाट स्कुटरको ब्रेक सु छिर्न दिइयो ? भन्नेबारेमा छानबिन हुनुपर्ने उनकाे भनाइ थियाे।

उनले यति ठूलो मात्रामा सुन तस्कर हुँदा प्रधानमन्त्री कार्यालयसहित अर्थ, गृह र पर्यटन मन्त्रालय के गरेर बसेका थिए ? भन्दै प्रश्न गरे।

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सुन काण्डबारे सम्बन्धित मन्त्रीहरुलाई बोलाएर छलफल हुनुपर्ने बताए। सांसद केसीले मुलुक साँच्चै भ्रष्टाचारीको मुलुक भएको हो ? भन्दै प्रश्न गरे।

प्रकाशित: १४ श्रावण २०८० १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App