१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गुटैगुटको कांग्रेसमा ‘आन्तरिक एकता’को खोजी

‘कमजोरी सुधार गर्दै जनताले आशा र भरोसा गर्ने पार्टी बनाउने’

नेपाली कांग्रेसका पदाधिकारीहरूले पार्टीभित्र देखिएका समस्या सुधार गर्दै जनताले आशा र भरोसा गर्ने पार्टीका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। साउन २ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकअन्तर्गत सोमबार पार्टी पदाधिकारीहरूले धारणा राख्दै जनतामा बढ्दै गएको निराशालाई कांग्रेसले सम्बोधन गर्नुपर्नेमा जोड दिए। सबै र सधैं राजनीतिक परिवर्तनका लागि जनताले नेपाली कांग्रेस र उसको नेतृत्वलाई साथ दिए पनि उनीहरूले आफ्नो जीवनमा कुनै परिवर्तन नआएकोमा चरम असन्तुष्टि र निराशा प्रकट गरिरहेको जनाउँदै पदाधिकारीहरूले विगतमा भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए। जनताको हितमा पार्टी संगठन र सरकार समर्पित हुनुपर्ने धारणा उनीहरूको थियो।  

उपसभापति पूर्णबहादुर खड्काले जनतामा आएको निराशालाई आशा र विश्वासमा बदल्न पार्टीभित्रको एकतामा जोड दिए। पार्टीमा गुनासो नहुने गरी काम गर्न सके मात्र कांग्रेस सुधार र रूपान्तरण भएको मान्न सकिने धारणा राख्दै उनले बैठकमा आएका गुनासाहरू सभापतिले आफ्नो तहबाट र पदाधिकारीहरूले आफ्नो तहबाट सुधार गर्नुपर्ने धारणा राखे। महामन्त्रीहरूले ल्याएका प्रस्ताव सकारात्मक भएको जनाउँदै उनले विगतमा यस्ता निर्णय भए पनि कार्यान्वयनमा नआएको स्मरण गर्दै व्यवहारमुखी बन्नुपर्ने तर्क गरे। पार्टीभित्र विचार समूह हुने जनाउँदै उनले ती सबैलाई निर्णय प्रक्रियामा समेटेर अघि बढ्नुपर्ने धारणा राखे। ‘निर्णय प्रक्रियामा समस्या छ भने त्यसलाई सुधार गरेर जानु नै पार्टीको रूपान्तरण हो, जहाँजहाँ गुनासो आयो त्यसलाई मेट्दै गयो भने पार्टी सुधारको बाटोमा जान्छ,’ उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा रहेका खड्काले भने, ‘त्यसैले निर्णय गर्नुअघि विमर्श गरौं।’

गुनासो नहुने गरी काम गर्न सके मात्र कांग्रेस सुधार र रूपान्तरण भएको मान्न सकिन्छ।पूर्णबहादुर खड्का

त्यसले मात्र विधान कार्यान्वयनसँगै पार्टीभित्र भावनात्मक एकता कायम हुने जनाउँदै पार्टीमा सद्भाव र भावनात्मक एकता कमजोर हुँदै गएको खड्काले बताए। तर पार्टीमा गुट र विचार समूह हुने कुरालाई नकार्न नहुने धारणा राख्दै खड्काले भने, ‘पार्टीभित्र विचार समूह हुन्छ, यसलाई नकारेर हुँदैन। बिपी, गणेशमान, किसुनजीलगायतको पनि विचार समूह थियो। त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने कुरा महत्वपूर्ण हो।’

आफ्नो अजेन्डामा सम्झौता गरेर गठबन्धनमा नगएको बताउँदै उपसभापति खड्काले अहिलेको गठबन्धनलाई साथमा लिएर पाँच वर्ष जानुपर्ने बताए। त्यसका लागि पार्टीको घोषणापत्र र जनहितको पक्षमा काम गर्ने प्रयत्न भइरहेको उनले बताए। भ्रष्टाचार, सुशासन, महँगी नियन्त्रणसहित जनजीविकाका सवालहरूलाई पार्टीले स्पष्ट रूपमा अघि सार्न पनि खड्काले आग्रह गरे। तीन दलका शीर्ष नेताहरूबीचकै समझदारी र बैठकमा भएका समझदारीअनुसार चार दल सहभागी समाजवादी मोर्चा गठन भएको जनाउँदै खड्काले त्यसलाई अन्यथा नठान्न आग्रह गरे । ‘हामी मन्त्रीहरू व्यक्तिगत र सामूहिक रूपमा पार्टीको घोषणापत्र, पार्टीको विचार र एजेन्डाप्रति इमानदार हुनु जरुरी छ। परिवार, व्यक्तिगत लोभ र स्वार्थबाट हामीले काम ग¥यौं भने हामीलाई अपराध लाग्छ,’ उनले भने, ‘यो कुरालाई हेक्का राखेर जिम्मेवारीमा रहेका साथीहरूले काम गरेका छौं।’

कांग्रेसका अर्का उपसभापति धनराज गुरुङले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा पार्टी तथा देश र जनतालाई अप्ठेरो पर्ने विषय नराखिने दाबी गरे। तर त्यसको बचाउ गर्दै उपसभापति गुरुङले चामलको बोरामा चामल मात्र नभएर बियाँ र भुस पनि हुने धारणा राखे। विधेयकमा नराम्रो कुरा रहेको भए संशोधन गर्ने प्रतिबद्धता जनाउँदै गुरुङले आफ्नै पार्टीका नेताहरूले आफ्नो राजीनामा मागेकोमा गुनासो गरे। नेताहरूलाई ठाउँ खाली गरिदिए हुन्थ्यो भन्ने लागेको भए आफू मन्त्रीबाट राजीनामा दिन तयार रहेको जनाउँदै उनले भने, ‘आफ्ना लागि पद, आशक्ति ठुलो कुरा छैन।’

समाज बदल्नु छ भने आफू बदलिनुपर्यो। कांग्रेस बदल्ने हो भने हाम्रो कर्म र व्यवहार बदलौं।धनराज गुरुङ

कानुनमन्त्रीसमेतको जिम्मेवारीमा रहेका उपसभापति गुरुङले न्यायाधीश नियुक्ति छिट्टै हुने धारणा राखे। तर पार्टी अजेन्डाले चल्ने भन्दै प्रस्तावित पार्टीका विभागको संख्या थप गर्ने कुरा व्यावहारिक नभएको धारणा राखे। २०१५ सालमा पार्टीका विभाग, भ्रातृ र शुभेच्छुक संगठन नहुँदा पनि ३८ प्रतिशत मत आएको धारणा राख्दै उनले भने, ‘त्यति मत अजेन्डाले आयो।’ पार्टीका नेताहरूलाई आफ्नो कर्म र व्यवहार बदल्न आग्रह गर्दै उपसभापति गुरुङले भने, ‘समाज बदल्नु छ भने आफू बदलिनुप¥यो। कांग्रेस बदल्ने हो भने हाम्रो कर्म र व्यवहार बदलौं।’ गुरुङले सभापति बदल्नु पहिला आफैं बदलिन लागिपरेको बताए।

बैठकमा महामन्त्री गगनकुमार थापाले १३ बुँदे लामो प्रस्ताव पेस गरे। उनले २१औं शताब्दी अनुकूल हुने बलियो र एकताबद्ध पार्टी बनाउनुपर्ने धारणा राख्दै त्यसका लागि आफू पार्टीको साधारण सदस्य मात्र भएर काम गर्न पनि तयार रहेको बताए। पार्टीको केन्द्रीय समितिबाट निस्कँदा पार्टी नेता तथा कार्यकर्ता मात्र होइन, सिंगो मुलुकलाई आशा र भरोसा दिलाउनुपर्ने धारणा राख्दै महामन्त्री थापाले पार्टीको १५औं महाधिवेशन २०८२ सालभित्र गर्नुपर्ने धारणा राखे।  

पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आम नेपालीमा तीव्र निराशा छाएको धारणा राख्दै थापाले त्यसबाट आफू आत्तिएको बताए। कांग्रेसले निराश जनतालाई आशा र भरोसा भर्न सक्नुपर्ने उनले तर्क गरे। तर अहिले पार्टीमा सबै बर्वाद भयो भनेर आत्मनिन्दा गर्नु हितकर नभएको धारणा उनले राखे। ‘हामी स्थानीय, प्रदेश र संघको चुनाव जितेका छौं। तर जितेर पनि हामी हारेको जस्तै भएका छौं,’ थापाले भने, ‘नागरिकले हामीलाई तिमीहरूले भनेअनुसार साथ दियौं तर हाम्रो अवस्था किन बदलिएन भनेर प्रश्न गरिरहेका छन्।’ दलीयकरणको दुश्चक्रबाट कांग्रेसले देशलाई निकाल्नुपर्ने धारणा राख्दै महामन्त्री थापाले कुनै पनि तहको सरकार टिकाउन पार्टीको आधारभूत कुरामा सम्झौता गर्न नहुने धारणा पनि राखे।  

जनतासँग गरेका वाचा पूरा गर्न सरकारको स्वामित्व लिनुपर्ने तर्क गर्दै थापाले भने, ‘हामीसँग अहिले राम्रो संविधान छ, अधिकार छ, डकुमेन्ट छ तर हामीले भनेजस्तो वाचा पूरा भएको छैन। यसको स्वामित्व हामीले लिने हो र जनतामा कांग्रेसले नै गर्छ भन्ने आशा र भरोसा जगाउनुपर्छ।’

नागरिकले हामीलाई तिमीहरूले भनेअनुसार साथ दियौं तर हाम्रो अवस्था किन बदलिएन भनेर प्रश्न गरिरहेका छन्।गगन थापा

संघीय लोकतान्त्रिक गणतन्त्रलाई मानेर संविधान संशोधनको मुद्दाको पनि कांग्रेसले अगुवाइ गर्नुपर्ने धारणा राख्दै थापाले प्रदेश सरकारबारे प्रश्न उठेको बताए। चार प्रदेश सरकारको नेतृत्व कांग्रेसले गरेको धारणा राख्दै थापाले आगामी चार वर्ष काम गरेर प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखे। अन्य राजनीतिक दलले मिसन २०८४ भन्दै हिँडेको जनाउँदै थापाले भने, ‘हामी २०८० सालमा छौं, अझै साढे चार वर्ष समय सरकार चलाउनु छ। हामीले यो समयमा काम गर्नुपर्छ। यो चार वर्षको जिम्मेवारी हामीले लिनुपर्छ। लिड गर्नुपर्छ।’

नेपालमा राजनीतिक दलको नेतृत्व परिर्वतनलाई निकै जटिल बनाइएको धारणा राख्दै थापाले भने, ‘मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो। म बदल्न लागिरहेको छु, सके बदल्छु नसके चुप लागेर स्विकार्छु।’ पार्टी केन्द्रीय समितिको बैठकमा नेतृत्व परिवर्तनको विषय उठाएको भन्दै केन्द्रीय सदस्यहरूको निसानामा परेका थापाले आगामी दिनमा पनि त्यसको प्रयास गर्ने बताउँदै त्यस विषयमा प्रश्न नगर्न आग्रह गरे। पार्टी र गठबन्धनका निर्णय प्रक्रियामा आफूहरूलाई सहभागी नगराइएकोप्रति असन्तुष्टि जनाउँदै थापाले भने, ‘सञ्चारमाध्यमबाट थाहा पाएका विषयको प्रतिक्रिया पनि सञ्चारमाध्यमबाटै दिएको हुँ।’

बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले २०८४ सालको निर्वाचनको होइन, अहिले देशको चिन्ता र चिन्तन गर्ने बेला भएको बताए। उनले देश र जनताको हितमा परिपक्व र एकताबद्ध निर्णय गरेर अघि बढ्नुपर्ने धारणा राखे। २०८४ सालको चिन्ता २०८३ मा गरौंला भन्दै शर्माले पार्टीको सम्पूर्ण संरचनालाई परिचालन गर्नुपर्ने प्रस्ताव गरे। पार्टीका नेता–कार्यकर्तालाई काँधमा जिम्मेवारी र हातमा काम दिनुपर्ने धारणा राख्दै शर्माले तीन दिन पार्टीलाई चार दिन रोटीका लागि समय दिनुपर्ने प्रस्ताव गरे। केन्द्रीय सदस्यहरूले उठाएका कतिपय विषयमा निकै कूटनीतिक र सन्तुलित धारणा राख्दै शर्माले सभापति शेरबहादुर देउवालाई आफ्ना नजिककाहरूसँग सजग रहन पनि आग्रह गरे। छायाजस्तो बनेर होइन ऐनाजस्तो बनेर साथ दिन आफ्ना सहयोगीलाई भन्न उनले सुझाए।  

नेता–कार्यकर्तालाई काँधमा जिम्मेवारी र हातमा काम दिनुपर्छ। तीन दिन पार्टीलाई चार दिन रोटीका लागि समय दिनुपर्छ।विश्वप्रकाश शर्मा

बैठका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधानको कार्यान्वयन र संरक्षणका लागि पार्टीले ठोस कार्यक्रम तय गर्नुपर्ने धारणा राखे। त्यसका लागि आवश्यक परे संविधान संशोधन गर्नुपर्ने धारणा राख्दै सिटौलाले त्यसको अगुवाइ पनि पार्टीले लिनुपर्ने तर्क गरे। बैठकमा सदस्य र पदाधिकारीहरूले धारणा राख्ने क्रम सकिएको छ। तर कांग्रेसले लिने निर्णयसहित सभापति देउवाले बुधबार आफ्नो धारणा राख्दै बैठक सकिने भएको छ। बैठक बुधबार दिउँसो ४ बजेका लागि बोलाइएको छ। 

प्रकाशित: ९ श्रावण २०८० ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App