८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

सुन तस्करीमा नाम जोडिएका ‘हाई प्रोफाइल’ हरू

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा मात्र होइन विगतको एउटा सुन तस्करी काण्डमा तत्कालीन गृहमन्त्री तथा पूर्व उपप्रधानमन्त्री समेत भएका नेकपा एमालेका तत्कालीन नेता बामदेव गौतमको नाम पनि मुछिएको थियो।

उनीसहित नेपाली काँग्रेसका नेता र प्रशासकहरूको नाममा तस्करीमा जोडिएर आएका थिए। तर ‘हाई प्रोफाइल’ का ती व्यक्तिहरूको अनुसन्धानमा राज्यका सरोकारवाला निकायहरू सधैँ चुकिरहेका छन्। 

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले आफ्नो बयानमा यी व्यक्तिहरूको नाम किटान गर्दा र विभिन्न अनुसन्धान प्रतिवेदनमा यिनीहरूको नाम आउँदा समेत बयान लिन चुकिरहेका छन् अनुसन्धान निकायहरू।

तत्कालीन सञ्चार उद्यमी तथा व्यापारी जमिम शाह हत्याको छानबिन गर्न गठित आयोगमा प्रकाश टिवडेवालले सुन तस्करीमा उच्च पदस्थ व्यक्तिको संलग्नता रहेको बयान दिएका थिए। तत्कालीन गृहमन्त्री वामदेव गौतमको नाम उनले लिएका थिए।

सेप्टेम्बर ३, २००८ मा पठाइएको अमेरिकी सरकारको केबलमा समेत गौतम सुन तस्करीमा संलग्न भएको उल्लेख गरिएको छ। टिवडेवालले सुनको लाइनवाला समूहले सरकार बनाउनेदेखि ढाल्नेसम्मको काम गरेको बयान दिएका थिए।

त्यसपछि काँग्रेस नेता खुमबहादुर खड्कालाई समेत सुन तस्करीमा मुछिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की पनि सुन तस्करीमा मुछिएका थिए। उनले आफू अख्तियार प्रमुख भएपछि विमानस्थलमै टोली खटाएर तस्करीको सहजीकरण गरेका थिए।

मोतीलाल बोहरा आइजिपी हुँदा ९२०४९–५३० जमिमले विमानस्थलबाट सुन तस्करी गरेको टिवडेवालले बताएका थिए। अनिश इब्राहिम (दाउदका भाइ) ले दुबईबाट काठमाडौँमा सुन पठाउने गरेको र त्यसको व्यवस्थापन जमिमले गरेको बयानमा उल्लेख छ।

त्यति मात्र होइन, अर्थमन्त्री हुँदा विमानस्थलबाट सुन तस्करीमा संलग्न भएका रविन्द्रनाथ शर्मा मरणोपरान्त अदालतबाट दोषी ठहर भएका थिए। २०६२/०६३ साको आन्दोलनपछि नेकपा माओवादी सरकार जाँदा त्यो पार्टीका नेता कार्यकर्ता पनि सुन तस्करीमा मुछिए।

२०७४ भदौमा सिआइबीद्वारा १५ किलो सुन बरामद भएपछि सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका तत्कालीन प्रमुख राजकुमार पौडेल फरार भएका थिए। उनी माओवादी निकट थिए। उनी मात्र होइन, माओवादीका उपल्लो तहका नेताहरू पनि सुन तस्करीमा मुछिएका थिए। तर प्रहरीले प्रमाण अभावमा पक्राउ गर्न सकेको थिएन।

गत पुस १० गते त्रिभुवन विमानस्थलमा ल्याइएको तस्करीको ९ किलो सुनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको संलग्नता रहेको कुरा बाहिर आएको छ। तर प्रहरीले उनीहरूसँग बयानसम्म लिने आँट गरेको छैन।

२०४२ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा (सुर्खेत) र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य नरबहादुर गुरुङ (लमजुङ) ले हङकङबाट अवैध रूपमा सुन ल्याएका थिए। अवैध रूपमा सुन ल्याउँदाल्याउँदै उनीहरू समातिएका थिए। त्यसपछि नेपालमा सुन तस्करीको धन्दा उकालो लाग्दै गएको देखिन्छ। सुन तस्करीमा राजनीतिक नेतृत्व र शक्तिशाली व्यक्तिहरू संलग्न रहेको खुलेको थियो।

२०४४ सालमा तत्कालीन अधिराजकुमार धीरेन्द्रका अङ्गरक्षक भरत गुरुङ र तत्कालीन आइजिपी डिबी लामा सुन तस्करीमा पक्राउ परेका थिए। यसले सुन तस्करीमा उच्च तहको संलग्नतालाई थप पुष्टि गरेको थियो। मुलुकमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पनि त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको विषयमा पटक पटक समाचार आएका छन्। तर तस्करी घट्नुको साटो बढिरहेको छ।

यो पनि पढ्नुहोस्

कहाँ जान्छ हङकङबाट आएको सुन ?

यो पनि पढ्नुहोस्

सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल’, दश वर्षमा ८ क्विन्टल सुन बरामद

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री कार्यालयबाटै ढुंगानाले दिएको सुन तस्करीको सूचना गृह र भन्सारले वास्ता गरेनन्

प्रकाशित: ५ श्रावण २०८० १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App