१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सभापति देउवाको आदेशमा ३५ जनाको कारबाही फुकुवा, ८७ जना कारबाहीमा

नेपाली काँग्रेस अनुशासन समितिले विभिन्न तहका निर्वाचनलगायतका विषयमा पार्टी र पार्टी गठबन्धनको निर्णय विपरीत गतिविधि गरेको आरोपमा ८७ जनालाई कारबाही गर्ने र ३५ जनाको कारबाही फुकुवा गर्ने प्रस्ताव गरेको छ।

मङ्गलवार सुरु भएको काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा समितिका संयोजक आनन्द ढुंगानाले उक्त प्रस्ताव गरेका हुन।

संयोजक ढुंगानाले सभापति देउवाको मौखिक आदेशको आधारमा कारबाही फुकुवा गरेको जानकारी बैठकलाई दिएका थिए। ‘सभापतिको मौखिक आदेशको आधारमा कारबाही फुकुवा गरेको छु’, उनले भने। संयोजक ढुंगानाले ३५ जनाको नामावली पढेर सुनाएन्।

‘३५ जनालाई हामीले कारबाही फुकुवा गरेका छौँ। जो जोले चुनाव जित्नुभएछ र गल्ती स्वीकार गर्दै पार्टीमै बसेर काम गर्न इच्छा व्यक्त गर्दै निवेदन दिनु भएको छ उहाँहरूको कारबाही फुकुवा गरेका छौँ’, उनले भने।

संयोजक ढुंगानाले महोत्तरीका मेयर, उपमेयर र चन्दननाथ नपाका मेयरलगायतको कारबाही फुकुवा गरेको जानकारी दिए।

उनका अनुसार चितवनमा कारबाहीमा परेका दिनेश कोइराला, कृष्ण सापकोटा, भीमबहादुर श्रेष्ठ, शम्भुप्रसाद अर्याल, मिना खरेल र आनन्द राउतको कारबाही फुकुवा गरिएको छ। बारा, चितवन र तनहुँका नेताहरूको कारबाही फिर्ता गरिएको छ।

संयोजक ढुंगानाले सदस्यता समेत नरहने गरी ८७ जनालाई कारबाही गरेको जानकारी पनि दिए। कारबाही गरिएका व्यक्तिहरूको सूचि लामो भएकाले पढन नसकिने बताए।

उनले कारबाही गरिएका र फुकुवा गरिएकालाई पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्र यो निर्णय लागु हुने गरी पत्र दिएका जानकारी दिएका थिए। यस विषयमा बैठकमा उपस्थित सदस्यहरूले प्रश्न उठाएपछि संयोजक ढुंगानाले यस्तो जवाफ दिएका हुन।

यसबिचमा ४६ जिल्लाबाट १२१ वटा उजुरी परेको र ती सबैको छानबिन गर्न नसकेको ढुंगानाको जिकिर थियो।

‘अनुशासन समिति पूर्ण भइसकेको छैन। संयोजक पदमा मात्र मनोनयन गरियो। अन्य सदस्यको मनोनयन बाँकी नै रह्यो। ४ जना सदस्य थप्नु पर्ने व्यवस्था विधानमा छ। त्यसैले सबै काम सम्पन्न गरिसकेका छैनौँ’, उनले भने।

प्रकाशित: २ श्रावण २०८० १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App