५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय आवास कम्पनीमा भद्रगोल

सहरी विकास मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय आवास कम्पनीमा कार्यकाल सकिनुभन्दा एक दिनअगाडि महाप्रबन्धकले ५४ जना करारमा कर्मचारी नियुक्त गरेका छन्। कम्पनीका तत्कालीन महाप्रबन्धक नारायणप्रसाद बास्तोलाले साउन १ देखि लागु हुने गरी अस्थायी २७, करारका २७ गरी ५४ जना करारका कर्मचारी नियुक्त गरेपछि कम्पनीका अध्यक्ष सन्दिप मिश्र बास्तोलासँग रुष्ट बनेका छन्।

मिश्रले बास्तोलाले गरेका सबै करार नियुक्ति प्रक्रिया रद्द गर्न÷गराउन निमित्त महाप्रबन्धक अश्विनीकुमार खड्कलाई चिठी लेखेर निर्देशन गरेका छन्। यसैगरी उनले यस विषयमा सहरी विकास मन्त्रालयलाई पनि बोधार्थ दिएका छन्।

कम्पनीमा कर्मचारीहरूको दरबन्दी संख्या ७३ छ, जसमध्ये चारजना मात्र स्थायी कर्मचारी छन्। बाँकी सबै अस्थायी र करारमा कार्यरत छन्। हाल कम्पनीमा ५६ जना कर्मचारी करारमा कार्यरत छन्।

बोर्डको सञ्चालक समितिको बैठकले प्रत्येक वर्षमा एकपटक करारमा कर्मचारीको म्याद नविकरण गर्न र बजेट पास गर्न अनुमति दिने व्यवस्था छ। तर लामो समयदेखि कम्पनीको सञ्चालक समितिको बैठक नै बसेको छैन। सञ्चालक समितिको बैठक बस्न नसक्दा कम्पनीको बजेट पास हुन सकेको छैन र करारमा कर्मचारी नियुक्त गर्न स्वीकृति दिएको छैन। सञ्चालक समितिले स्वीकृति नदिई करारका कर्मचारी भर्ना गरिएकाले उक्त करार नियुक्त प्रक्रिया स्वतः अवैधानिक भएको कम्पनीका अध्यक्ष सन्दिप मिश्रको भनाइ छ। ‘सञ्चालक समितिले स्वीकृति नदिई करारका कर्मचारी नियुक्त गर्ने प्रक्रिया स्वतः अवैधानिक छ’, मिश्रले भने, ‘बजेट पास नभई कसरी करारमा कर्मचारी नियुक्त गर्न सकिन्छ ? यो त सरासर जालझेलको कुरा हो।’

महाप्रबन्धक बास्तोलाको ४ वर्षीय कार्यकाल यही असार २९ गते सकिँदै थियो। असार २५ गते नै मिश्रले ‘तपाईंको कार्यकाल २९ बाट सकिँदै छ’भनेर अध्यक्ष बास्तोलालाई चिठी लेखेर जानकारी गराए। यता, बास्तोलाले कार्यकाल सकिनुभन्दा एक दिनअगाडि अस्थायीमा २७ जना र २ दिनअगाडि करारमा २७ जना कर्मचारीको सेवा नविकरण गरे। करारमा नियुक्त गरिएका २७ जनामध्ये दुईजनाको दरबन्दी नै नरहेको मिश्रको भनाइ छ।

बास्तोलाले आफूमातहतका कर्मचारी अश्वनीकुमार खड्कालाई निमित्त महाप्रबन्धकमा नियुक्त गरे। जबि कि निमित्त महाप्रबन्धक नियुक्त गर्ने अधिकार कम्पनीको सञ्चालक समितिको अधिकार रहेको मिश्रको भनाइ छ। ‘उहाँ (बास्तोला) ले बुझबुझारथ गर्नुभएको छैन। बुझबुझारथ नगरी उहाँ यहाँबाट हिँड्नुभएको छ’, मिश्रले भने, ‘कार्यालयबाट लगेको मोबाइल, ल्यापटपसमेत उहाँले फिर्ता गर्नुभएको छैन।’ यस विषयमा सम्पर्क गर्न खोज्दा महाप्रबन्धक बास्तोलासँग सम्पर्क हुन सकेन। मिश्रका भनाइअनुसार तत्कालीन महाप्रबन्धक बास्तोलाले एकजना करारका कर्मचारीको चलानी नम्बर नक्कली राखेर नियुक्त गरेका छन्। आर्थिक वर्ष सुरु हुनुअगाडि नै अघिल्लो महिना नयाँ आर्थिक वर्षका लागि कर्मचारी नियुक्त गर्न अथवा नविकरण गर्न कानुनी रूपमा निमल्ने सहरी विकास मन्त्रालयका एक उच्च कर्मचारीको भनाइ छ।

राष्ट्रिय आवास कम्पनीमा लामो समयदेखि कम्पनीका अध्यक्ष मिश्र र तत्कालीन महाप्रबन्धक बास्तोलाबीच विवाद बढ्ेको थियो। यही विवादका कारण अध्यक्ष मिश्रले लामो समयदेखि सञ्चालक समितिको बैठक बोलाएका थिएनन्। बास्तोलानिकट एक कर्मचारी भन्छन्, ‘कार्यविधि नबनाएरै अध्यक्ष मिश्रले कम्पनीबाट तलब तथा सुविधा बुझ्ने गर्नुभएको छ। यसबारेमा महालेखापरीक्षकको कार्यालयले समेत चिठी पठाएको छ।’ महाप्रबन्धकलाई अप्ठ्यारो पार्नका लागि जानीजानी अध्यक्षले सञ्चालक समितिको बैठक नबोलाएको बास्तोलानिकट कर्मचारीको भनाइ छ। मिश्र र बास्तोलाबीच सम्बन्ध बिगे्रका बेला बास्तोलाको कार्यकाल सकिएको हो।

यसैगरी सहरी विकास मन्त्रालयमातहतको अर्का कार्यालय अधिकारसम्पनन्न बागमती सभ्यता एकीकृत विकास समितिले यही असार २५ बाट लागु हुने गरी त्यहाँ कार्यरत ४७ जना ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाएको छ। यसअघि गत पुसमा यसरी नै ४७ जना ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाएको थियो। बागमतीमा ज्यालादारी र करारका कर्मचारी भर्ना गर्ने, नियुक्त गर्ने र कर्मचारी हटाउने विषयमा निकै भद्रगोल हुँदै आएको छ। बागमतीमा अहिले १ सय ४ जना कर्मचारी करारमा कार्यरत छन्। जब कि, त्यहाँ २६ जना मात्र स्थायी कर्मचारी छन्।

प्रकाशित: २ श्रावण २०८० ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App