२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

चुनाव मिति सार्ने राजपाको प्रस्ताव सरकारद्वारा ठाडै अस्वीकार

काठमाडौं- संविधान संशोधनबिना चुनावमा नजाने  अडान राख्दै आएको राजपाले सरकारसँग चुनाव मिति सार्न प्रस्ताव गरेको छ। सरकारले राजपाको प्रस्ताव अस्वीकार गदै मिति सार्न नसकिने प्रस्ट पारेको छ।

सत्तासीन दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेतासँग शनिबार प्रधानमन्त्री कार्यालय सिहंदरबारमा भएको वार्तामा राजपाका नेताहरूले आफ्ना माग सम्बोधन गर्न चुनाव मिति केही दिन सार्न प्रस्ताव गरेका हुन्। राजपा नेताहरूले यथास्थितिमा  आफूहरू चुनावमा जान नसक्ने बताउँदै मिति सारेर संविधान संशोधनलगायत आफ्ना माग सम्बोधन गर्न प्रस्ताव गरेका थिए।

वार्तामा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाको प्रस्तावलाई तत्कालै अस्वीकार गरेका थिए। प्रधानमन्त्रीले चुनाव मिति सार्दा सबै फस्ने बताएका थिए। 'चुनाव मिति सार्ने कुरा नगरौं। मिति सार्दा हामी सबै फस्छांै,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो।

राजपा नेताहरूले  आफूहरूसँग सत्ता पक्षले गरेको तीनबुँदे सहमति कार्यान्वयन भएपछि मात्र चुनावमा जाने अडान राखे। सहमति कार्यान्वयन गरी आफूहरूलाई चुनावमा भाग लिने अवसर दिन पनि मिति सार्नुपर्ने उनीहरूको तर्क थियो।  प्रधानमन्त्री देउवाले चुनाव मुखमै आइसकेकाले तत्काल संविधान संशोधन र स्थानीय तह संख्या थप गर्न नसकिने तर   चुनावपछि संशोधन गर्ने वचन दिएका थिए। 'तपार्इंलाई चुनावमा ल्याउन निर्वाचन ऐन संशोधन भएको छ। अन्य प्राविधिक कुरा मिलाउन पनि सरकार तयार छ तर चुनाव मिति सार्न सकिँदैन,' देउवाले भने, 'चुनावलगत्तै संविधान संशोधन र अरु माग पनि पूरा गर्छौं।'

राजपाका नेताहरूले भने तीनबुँदे सहमति  कार्यान्वयनमा सरकारले कन्जुस्याइँ गरेको आरोप लगाएका थिए। 

बैठकको सुरुमै प्रधानमन्त्री देउवाले चुनावमा सहभागी हुन आउन राजपाका नेताहरूलाई आग्रह गरेका थिए। जबाफमा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले यथास्थितिमा चुनावमा जान नसक्ने प्रस्ट पारेका थिए। उनले राजपा चुनावमा जान संविधान संशोधन र स्थानीय तह संख्या थप हुनुपर्ने पुरानै अडान दोहोर्‍याए।

राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले जबरजस्ती चुनाव गराउन खोजे  चुनावको दिन आफूहरूले भर्जनकीर्तन गरेर नबस्ने चेतावनी दिए। 'हामीलाई नलिईकन चुनाव गराउन खोज्नुभयो भने चुनावको दिन हामी भर्जनकीर्तन गरेर बस्दैनांै,' उनले भनेका थिए। उनको भनाइको अर्थ चुनाव हुन नदिने थियो।

भण्डारीलाई शान्त पार्दै प्रधानमन्त्री देउवाले राजपालाई छाडेर सरकार चुनावमा जान नचाहेको बताएका थिए। देउवाले भने, 'हामी तपाईंहरूलाई लिएरै चुनावम जान खोजेका छौं। यसका लागि चुनाव मिति सार्नेबाहेक अरु विषय के के छन् भन्नुस्, हामी मिलाउँछौं।' 

वार्तामा सहभागी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनाव मिति सार्न राजपाले प्रस्ताव राखेको तर सरकारले अस्वीकार गरेको जानकारी दिए। उनले नागरिकसँग भने, 'चुनाव मिति सार्ने प्रस्तावलाई हामीले हुँदैन भन्यौं। मिति सार्न सकिँदैन भन्यौं।'

 राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले  आफूहरूले तीनबँुदै सहमति  कार्यान्वयन गरेर चुनावमा जाऔं भन्ने  प्रस्ताव राखेको बताए। नागरिसँग उनले भने, 'हामीले चुनाव मिति सारांै भनेर प्रस्ताव राखेको भन्दा पनि हामीसँग गरिएको तीनबुँदे सम्झौता कार्यान्वनय गरेर चुनावमा जाऔं भनेका छौं।'

सरकारले चुनावी वातावरण नबनाएको आरोप लगाउँदै यादवले भने, 'वातावरण बनाए हामी चुनावमा जान तयार नै छौं तर सरकारले वातावरण बनाएकै छैन।'

राजपा अध्यक्षमण्डलका अर्का सदस्य अनिल झाले सरकासँगको वार्तामा आफूहरूले चुनाव मिति सार्न  प्रस्ताव राखेको बताए। 'उहाँहरू (सत्तासीन दलका नेता) ले हाम्रा माग सम्बोधन गर्न समय छैन भन्नुभयो। हामीले समय छैन भने मिलाउनुहोस् भन्यौं,' झाले भने, 'समय वर्वाद सरकारले नै गरेको हो।'

वार्तामा सहभागी माओवादी केन्द्रका नेताले पनि चुनाव मिति सार्ने प्रस्ताव अस्वीकार गरेको स्रोतले बतायो। प्रधानमन्त्री देउवासँग  निकट पत्रकार  तथा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले राजपासँगको छलफलमा प्रधानमन्त्रीले चुनाव मिति सार्न नसक्ने प्रस्ट पारेको बताए। 'प्रधानमन्त्रीले अरु विषय मिलाउन सकिन्छ तर चुनाव मिति सार्न सकिँदैन भन्नुभयो,' सिग्देलले प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भने, 'माघ ७  भित्र तीनवटै तहको चुनाव गर्नुपर्ने भएकाले  मिति सार्न नसकिने उहाँले बताउनुभयो।'

वार्ता निष्कर्षमा पुग्न नसकेपछि आइतबार पुनः छलफलमा बस्ने सहमति भएको छ। वार्तामा प्रधानमन्त्री देउवा, कांग्रेस नेता पौडेल, कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, राजपा अध्यक्षमण्डल संयोजक ठाकुुर, सदस्य यादव, भण्डारी र झाको उपस्थिति थियो।

'कात्तिकका सार्दा उपयुक्त'

राजपाका नेताले  केही दिन चुनाव मिति सार्ने भने पनि मिति प्रस्ताव गरेका थिएनन्। नागरिकसँगको कुराकानीमा राजपा नेताले असार १४ को चुनाव सारेर कात्तिकमा गर्नुपर्ने बताए।  राजपा नेता केशव झाले  माग सम्बोधन गर्न समय लाग्ने भएकाले कात्तिकमा चुनाव सार्दा उपयुक्त हुने बताए। 'हामीले राखेका संविधान संशोधन, स्थानीय तहमा संख्या थप, चुनाव चिह्न, पार्टी दर्तालगायत माग पूरा गर्न कात्तिकमा चुनाव सार्दा उपयुक्त हुन्छ,' झाले भने, 'तर यसबारेमा पार्टीमा कुनै छलफल भने भएको छैन।' 

यसैबीच आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न राजपासहित संघीय गठबन्धनको बैठक आइतबार बस्ने तयारी भएको झाले बताए।  राजपाले यसअघि सार्वजनिक  गरेका आन्दोलनका कार्यक्रम आइतवारसम्मका मात्र छन्।

प्रकाशित: २८ जेष्ठ २०७४ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App