९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

बाँकेका स्थानीय तहमा कांग्रेस उम्मेदवारको टुंगो, नेपालगञ्जको मेयर उम्मेदवारमा कनोडिया

नेपालगञ्ज- लामो समयको प्रतिक्षापछि नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी उम्मेदवारको टुंगो लगाएको छ । सो पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा डाक्टर सुरेशकुमार कनोडिया, उपमेयरमा उमा थापामगर, कोहलपुर नगरपालिकाको मेयरमा भानुभक्त भट्टराई र सन्जुकुमारी थारु तथा राप्तीसोनारी गाउँपालिकाको प्रमुखमा लाहुराम थारु र उपप्रमुखमा धनीकुमारी खत्री, बैजनाथ गाउँपालिकामा देबबहादुर खत्री र भावना चौधरी, खजुरा गाउँपालिकामा नक्की खाँ र दिपा आलेमगर, नरैनापुरमा रामचन्द्र मौर्य र अतिकुल निसा, डुडुवा गाउँपालिकामा नरेन्द्र चौधरी र सायदा बानो तथा जानकी गाउँपालिकामा छब्बन खाँ र रामप्यारी यादवलाई उम्मेदवार बनाएको छ।

क्षेत्रीय कार्यसमितिको सिफारिसमा आएका विभिन्न नामावलीलाई जिल्लाले आफ्नो राय सहित केन्द्रलाई सिफारिस गरेको थियो । सोही आधारमा केन्द्रिय समितिले उम्मेदवारको टुंगो लगाएको कांग्रेस बाँकेका सभापति किरण कोईरालाले जानकारी दिईन्। ‘पार्टी केन्द्रिय कार्यालयबाट आधिकारिक पत्र आएको त छैन, तरपनि केन्द्रिय कार्यालयका मुख्य सचिव जीले मलाई टेलिफोनमा उम्मेदवारको नाम टिपाउनु भएको छ,’ उनले भनिन् । उम्मेदवारको टुंगो लागेपछि पार्टीले अब चुनाव प्रचार अभियानलाई ब्यापक रुपले अगाडी बढाउने सभापति कोईरालाले बताईन् ।

कांग्रेसले कस्तो उम्मेदवार चयन गर्छ भन्नेमा बाँकेबासी प्रतिक्षामा थिए । पार्टीभित्र आकांक्षी धेरै देखिएपछि कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको थियो । उम्मेदवारको टुंगो नलाग्दा कांग्रेसले जिल्लामा चुनावी अभियानको काम तिब्र रुपले गर्न सकेको थिएन । उम्मेदवार टुंगो नलाग्दा अधिकांस कांग्रेस नेताहरु राजधानी केन्द्रित भएका थिए, भने केही नेताहरु घरदैलोमा सक्रिय भएका थिए।

टिकटको चर्चा नहुँदै मतदाता भेटघाट तथा घरदैलोमा व्यस्त रहदै आएका नेता कनोडियाले पार्टीले उम्मेदवार टुंगो लगाइसकेपछि एक खालको उत्साह थपिएको बताए । ‘पार्टीले प्रमुख पदमा उम्मेदवारको टुंगो लगायो, सबैको समन्वयमा चुनावी अभियानलाई ब्यापक बनाउँछौं,’ उनले भने । पार्टीका नेता, कार्यकर्ता तथा भातृ तथा शुभेच्छुक संगठनसँग समन्वय गरेर अगाडी बढ्ने कनोडियाले बताए ।

कांग्रेस बाहेक एमाले, माओबादी केन्द्र, राप्रपा, संघिय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत दलले यसअघि नै उम्मेदवार टुंगो लगाएर प्रचार–प्रसारमा जुटिसकेका छन्।

प्रकाशित: २७ जेष्ठ २०७४ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App