१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीय समाजवादी फोरम र नेपाल सद्‍भावना पार्टीबीच एकता

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र पूर्वमन्त्री सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच शुक्रबार एकता भएको छ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यी दुई पार्टीवीच एकता भएको औपचारिक रुपमा घोषणा गरियो।

पार्टी एकता कार्यक्रमका सभापति समेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नव–निर्वाचित सरकारले संविधान संशोधनको लागि गरेको वाचा तत्काल पुरा गर्नुपर्ने बताए।

अध्यक्ष यादवले भने,‘प्रधानमन्त्री देउवाले हामीसँग जुन प्रण गर्नुभएको छ, ती सबै बाचा पुरा गरेर आउने असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनतासहभागिता बढाउने वातावरणको निर्माण गर्नुहुनेछ।’

त्यस्तै कार्यक्रममा सद्भावना पार्टीकी राष्ट्रिय अध्यक्ष सरिता गिरीले मधेसका जनता निर्वाचनको पक्षमा रहेको दाबी गरिन्।

उनले भनिन्,‘म विगत दुई महिनादेखि मधेशमा छु, त्यहाँका जनता निर्वाचनको पक्षमा छन्, २० वर्षदेखि रिक्त रहेका स्थानीय तहमा जनताले आफ्ना अधिकार प्राप्त गर्ने यो सुनौलो मौका हो, अर्कोतर्फ हामीले संविधान आलोचनात्मक रुपमा स्वीकार गरेका छौँ, यस संविधानलाई अभ्यासको माध्यमबाट नै स्विकार्यता बढाउनुपर्छ, केही प्रगतिशिल कुराहरु छन्, यस्ता कुरालाई संस्थागत गर्नुपर्छ।’

एकता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गिरीले विगत लामो समयको गृहकार्यपछि संघीय समाजवादी फोरमसँग आफ्नो  एकतामा परिणत भएको जानकारी दिएकी छिन्।

प्रकाशित: २६ जेष्ठ २०७४ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App