१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रहस्यमय बन्दै  छानबिन

काठमाडौं- नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को लेटरप्याड दुरुपयोग गरी दुबईमा नक्कली विद्यार्थी पठाउन खोजेको प्रकरणमा आरोपित व्यक्तिमाथिको छानबिन प्रक्रिया रहस्यमय बन्दै गएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले साढे तीन महिना बित्दासमेत प्रभावकारी अनुसन्धान नगरेको पाइएको हो। विशेष स्रोतले नागरिकलाई बताएअनुसार गृह मन्त्रालयका उच्च अधिकारी र अख्तियारका एक आयुक्तसमेत उक्त प्रकरणका दोषी आरोपितलाई जोगाउन लागेका छन्।

सरकारी लोगो र छाप दुरुपयोग गरेको पाइएपछि थप कारबाहीका लागि फाइल अख्तियारमा पठाए पनि प्रक्रिया अघि बढेको छैन।

प्रतिष्ठानबाट इन्टर्नसिपका लागि भन्दै नक्कली विद्यार्थी बनेर दुबई जान लागेका ८ युवालाई गत फागुन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काएको थियो। दुबईमा ६ महिनाका लागि इन्टर्नसिप पठाएको किर्ते कागज बनाई पठाएका १२ जनामध्ये ४ जना दुबई गइसकेको र प्रतिष्ठानको सिफारिस पत्र शंकास्पद लागेर ८ जनालाई विमानका क्याप्टेनले फर्काएपछि प्रतिष्ठानमा सोधपुछ गर्दा उनीहरु नक्कली विद्यार्थी भएको रहस्य खुलेको थियो। यसमा प्रतिष्ठानकै प्रमुख प्रशिक्षक मनराजा खत्री संलग्न भएको आरोप लागेको छ। इन्टर्नसिपको पत्रमा प्रशिक्षक खत्रीको नाम, पद र हस्ताक्षर पाइएपछि प्रतिष्ठानले उनलाई पदबाट दुई महिनाका लागि निलम्बन गरेको कार्यकारी निर्देशक चूडामणि शर्मा कट्टेलले बताए। उनले भने, 'तीन वर्षको कुनै पनि रेकर्डमा ती व्यक्तिले यहाँबाट तालिम लिएको भेटिएन।'

खत्रीले आफूमाथि लागेको आरोप अस्वीकार गरे। 'मैले गरेको होइन। स्क्यानिङ साइन प्रयोग गरेर मलाई फसाउन खोजिएको देखिन्छ,' उनले नागरिकसँग भने।

छानबिनमा आलटाल

यस विषयमा छानबिन गर्न संस्कृति मन्त्रालयले मन्त्रालयका शाखा अधिकृत लेखा पनेरु महत र प्रतिष्ठानका प्रशासन प्रमुख केशवप्रसाद थपलिया रहेको छानबिन समिति बनाएको थियो। समितिले महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा र राष्ट्रिय सतर्कता केन्द्रमा प्रतिवेदन बुझाइसकेको छ।

'हामीले यथार्थ विवरणसहितको प्रतिवेदन सम्बन्धित निकायलाई दिइसकेका छौं,' प्रशासन प्रमुख थपलियाले भने। राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान गरेर थप कारबाहीका लागि दुई महिनाअघि फाइल अख्तियारमा पठाएको थियो। सरकारी लोगो र छापको दुरुपयोग गरेको पाइएपछि थप कारबाहीका लागि फाइल अख्तियारमा पठाए पनि कारबाही अघि बढेको छैन। अख्तियारका आयुक्त गणेशराज जोशीले अनुसन्धान प्रक्रिया रोकेको स्रोतको दाबी छ। 'यसअघि प्रतिष्ठानमा अध्यक्ष रहँदा खत्रीसँग रहेको मित्रवत् सम्बन्धका कारण जोशीले अनुसन्धान प्रक्रिया रोक्न लगाएको बुझिन्छ,' स्रोतले भन्यो। यस विषयमा बुझ्न खोज्दा जोशीसँग सम्पर्क हुन सकेन। आयोगका प्रवक्ता जीवराज कोइरालाले भने अनुसन्धान प्रक्रिया चलिरहेको बताए।

प्रहरी परिसर र अपराध महाशाखाले पनि अनुसन्धानमा आलटाल गरिरहेको देखिन्छ। 'तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनअनुसार एक उच्च अधिकारीको दबाबमा प्रहरी परिसर र अपराध महाशाखाले छानबिन प्रक्रिया फितलो बनाई दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको छ,' स्रोतले भन्यो।

महानगरीय अपराध महाशाखा, टेकुले अध्यागमन कार्यालयबाट सक्कली कागजात उपलब्ध नहुँदा अनुसन्धानमा कठिनाइ भएको जनाएको छ। 'हामीलाई पठाएको लेटरप्याड स्क्यान गरी प्रिन्ट गरिएको रहेछ। सक्कली कागजात पठाउन हामीले अध्यागमनलाई पटकपटक आग्रह गरे पनि अहिलेसम्म पठाएको छैन,' महाशाखाका प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले भने, 'स्क्यान कपीबाट टेस्ट गर्न मिल्दैन। अनुसन्धानको अरु प्रक्रिया चलिरहेको छ।'

अध्यागमन कार्यालयले भने कार्यालयबाट सक्कल कागजात पठाइसकेको जनाएको छ। 'महाशाखाले मागेपछि हामीले सक्कल कागजत पठाइसकेका छौं,' कार्यालयका एक अधिकारीले भने, 'ती प्रशिक्षकले स्क्यान गरेकै लेटरप्याड प्रयोग गरेर मिसयुज गरेका छन् भने कसरी सक्कली पाइन्छ।' प्रतिष्ठानबाट आधिकारिक रुपमै ती व्यक्तिबाट संस्थाको लेटरप्याड दुरुपयोग गरेको जानकारी दिइसकेकोले निजमाथि कारबाही प्रक्रिया बढाउनुपर्ने उनले बताए।

'सरकारी कागजात कीर्ते गरेको विषय हाम्रो अनुसन्धानको दायरामा पर्दैन। हामीले सम्बन्धित निकायमा कारबाहीका लागि लेखेर पठाइसकेका छौं,' अध्यागमन विभागका विभागीय प्रमुख गंगराम गेलालले भने, 'आफ्नो कर्मचारीबाट अनधिकृत काम गरेको जानकारी प्रतिष्ठानले दिइसकेको छ। सक्कली लेटरप्याड नभएको बहानामा कारबाही रोक्नु हुन्न।'

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App