१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहिद परिवार भन्छन्- ‘मधेस बलिदानीको हिसाब माग्छौं’

लहान- प्रदेश २ अन्तर्गतका जिल्लामा स्थानीय तह निर्वाचनको चहलपहल बढेको छ। दलका कार्यकर्ताले सहरदेखि गाउँसम्म चुनावी अभियान तीव्र पारेका छन्। तर उम्मेदवार र दलका नेता मधेस आन्दोलनका सहिदका गाउँमा भोट माग्न जान सकेका छैनन्। 

गत फागुन २३ गते पाँचजनाको ज्यान जाने गरी सप्तरी, मलेठमा भएको घटनाले गाउँ केही समय स्तब्ध भयो। जनजीवन सामान्य हुँदै गए पनि यहाँ चुनावी चहलपहल छैन। घटनामा यो गाउँका तीनजना निर्दोषले ज्यान गुमाएका थिए। असार १४ गते चुनाव हुने जानकारी पाए पनि उम्मेदवार र दलका नेता चुनाव प्रचारका लागि गाउँ नआएको स्थानीय बासिन्दा बताउँछन्।

मझौरा मधेस आन्दोलनको पहिलो सहिद रमेश महतोको गाउँ हो। छिमेकी गाउँमा चुनावी प्रचारप्रसार तीव्र भइरहेका बेला  गाउँमा भोट माग्न उम्मेदवार पुगेका छैनन् ।

सोही आन्दोलनमा सहिद भएका प्रमोद सदायको गाउँ मिर्जापुरमा पनि भोट माग्न कोही नआएको गाउँले बताउँछन्।

राजविराज–९ मलेठ, सिरहाको सखुवाननकारकट्टी गाउँपालिका–३ मिर्जापुर र नवराजपुर गाउँपालिका–९ फूलबरियामा पनि चुनावी चहलपल देखिएको छैन।

मझौराका सर्वसाधारण यसपालि चुनावमा दल हेरेर होइन, उम्मेदवारको व्यक्तित्व, इमानदारी र जनउत्तरदायित्व आकलन गरेर मात्र मतदान गर्ने योजनामा छन्।

सहिद रमेशका पिता रवि महतोले भने, ‘मत माग्न आउनेसँग प्रश्नको भारी बिसाएर उत्तर माग्छु। यसपालि धेरै सोचविचार गरेर मात्र मतपत्रमा छाप हान्छु।’

रमेशको स्मृतिमा गाउँमै सहिद रमेश महतो स्मृति माध्यमिक विद्यालय छ। 'विद्यालयका कारिन्दा माइला छोरा बालकृष्णलाई हटाए,' उनी भन्छन्, ‘हटाउँदा उनलाई तीन वर्षको तलब–सुविधा दिइएन।’ गाउँमा सहिद रमेश महतो स्मृति ट्रस्ट छ। तर रमेशको परिवारबाट ट्रस्टमा कसैको उपस्थिति छैन।

'छोराको स्मृतिमा सञ्चालित ट्रस्टमा कति बजेट आउँछ? कसरी खर्च हुन्छ भन्ने हामीलाई जानकारी दिइँदैन,' रविले गुनासो गरे। छोराबुहारी उच्चशिक्षा पढेर घरमा बेकामे भएर बसे पनि जागिर दिन कसैले चासो नदेखाएको उनको गुनासो छ।

छोराको बलिदानीपछि ढाडस दिन धेरै नेता आए पनि कसैले सहयोग नगरेको उनले बताए। उनले भने, 'सहिद परिवारले कहिलेसम्म अपहेलना सहेर बसिरहने?'

तीन वर्षदेखि  माघ ५ गते मनाइँदै आएको बलिदानी दिवसमा समेत सहिद परिवारलाई बेवास्ता गरिँदै आएको छ। उनी भन्छन्, ‘सहिदको बलिदानीको सिँढी चढेर धेरै अपरिचित अनुहार नेता भए,  मन्त्री भए, तर हामीले सरकारी क्षतिपूर्ति रकमबाहेक केही पाएनौं।'

२०६३ देखि २०७२ सम्म मधेस अधिकारका नाममा आन्दोलन गरेर दर्जनौंले सहादत प्राप्त गरे पनि मधेसले त्यसअनुसार उपलब्धि नपाएकोमा उनी आक्रोशित छन्। ‘यसपालि भोट माग्न आउने मधेसी नेतासँग बलिदानीको हिसाबकिताब माग्छु,’ उनले भने।

 मधेस आन्दोलनका क्रममा गत फागुन २३ गते मलेठमा सहिद भएका सञ्जन मेहताका पिता लक्ष्मणले भने,

  'अधिकारका नाममा भिडन्त गराएर नेताहरूले हाम्रो परिवारको सहारा ‘छोरा’ खोसे।’ छोरा सञ्जनको निधनसँगै बुहारी घर छाडर गईहालिन्। मधेस आन्दोलनले मेरो परिवार बरबाद बनाइदियो।’ छोरालाई सरकारले सहिद घोषणा गरेर १० लाख क्षतिपूर्ति दिए पनि त्यो चेक अहिलेसम्म जिल्ला प्रसाशन कार्यालय सिरहामै थन्केको उनको भनाइ छ। घर छाडेर गएकी बुहारीले क्षतिपूर्ति रकममा एकलौटी दाबी गरेकालेे विवाद आएको हो। उनी भन्छन्, 'छोरा त मैले  गुमाएको हुँ, बुहारी घर छोडेर गएपछि क्षतिपूर्ति रकममा एकलौटी दाबी गर्न कसरी मिल्छ?

 गरिबलाई पीडामात्र थपिरहने आन्दोलनको काम नभएको उनको अनुभव छ। 'निर्दोषको लास भजाएर कहिलेसम्म राजनीति गरिरहने? यति धेरै मधेसी युवाको बलिदानीले मधेसी समाजमा के परिवर्तन ल्यायो?' लक्ष्मणले प्रश्न गरे। उनले भोट माग्न आउने मधेसी नेताका लागि प्रश्नको लामै सूची रहेको बताए। उनी भन्छन्, ‘मेरो छोराको राजनीतिसँग कुनै साइनो थिएन। आन्दोलनले निम्त्याएको भिडन्तले मैले काबिल छोरा गुमाउन पुगें। आखिर त्यो आन्दोलन जे माग राखेर गरिएको थियो, त्यो पूरा त भएन।’ चुनावमा भोट माग्न आउने नेतासँग निर्दोष मधेसीको बलिदानीको हिसाब माग्ने उनको योजना छ।

 सिरहा मिर्जापुरका सहिद प्रमोद सदायकी आमा धनमादेवी भन्छिन्, ‘छोराको बलिदानीले धेरै नेताको मुहार फेरियो। तर, हाम्रो दुःख उस्तै छ।' यति धेरै आमाले सहारा गुमाउँदा आखिर मधेस र मधेसीले के पाए? अबको चुनावमा मधेसीको नाममा भोट नदिने उनले सुनाइन्। उनले भनिन्, ‘हाम्रो दुःख 'दुर' गर्ने अनि खाना र छानाको बन्दोबस्त गरिदिनेलाई भोट हाल्छु।’

प्रकाशित: २३ जेष्ठ २०७४ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App