१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

को को उठ्दैछन् बुटबलमा कांग्रेसको तर्फबाट मेयरमा ?

भैरहवा—लामो समयको कसरत पछि नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका नगरपालिकाहरुमा मेयर पदकालागि उम्मेदवारको टुङ्गो लगाएको छ। नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले सोमबार बुटवल उपमहानगरपालिका सहित ६ वटै नगरपालिकामा मेयरका उम्मेदवारको टुंगो लगाएको हो। 

काँग्रेसले बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेलाई मेयरको उम्मेदवार बनाएको छ। विद्यार्थी कालदेखि नै नेपाली काँग्रेसको सक्रिय राजनीति गर्दै आएका पाण्डे काँग्रेस बुटवल उपमहानगर समितिका सभापती हुन । मधेसी,पहाडी र अल्पसंख्यक समुदायको संयुक्त बसोबास रहेको सिद्धार्थनगर नगरपालिकाको मेयर पदका लागि काँग्रेसले मातृका प्रसाद यादवलाई उम्मेदवार बनाएको छ । उनी काग्रेसको क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुन।

बुटवल भैरहवाको बिचमा रहेको तिलोत्तमा नगरपालिकामा रामकृष्ण खाँणले मेयरको टिकट पाएका छन्। उनी काँग्रेसका जिल्ला सचिव हुन । यसअघि पनि उनले एक कार्यकाल जिल्ला सचिवको पद सम्हाली सकेका थिए । त्यस्तै देवदह नगरपालिकामा क्षेत्र नं. १ का सभापति हिराबहादुर खत्रीलाई मेयरको उम्मेदवार बनाएको छ । युवा उद्यमी खत्री यसअघि पार्टीको जिल्ला सचिव थिए । सैनामैना नगरपालिकामा काँग्रेसले फणेन्द्र शर्मालाई मेयरको उम्मेदवार बनाएको छ । उनी काँग्रेसका जिल्ला सदस्य हुन । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सईद खाँलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । खाँ लुम्बिनी सांस्कृतिक नगरपालिकाका पार्टी नगर सभापति हुन ।

उम्मेदवार नटुङ्गिएपनि काँग्रेसले सुरुदेखिनै आसन्न निर्वाचनमा पार्टीका उम्मेदवार जिताउनकालागि प्रचार प्रसारका कार्यक्रमलाइ तिब्रताका साथ अगाडी बढाएको थियो ।  काँग्रेसले यसअघिनै तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीसंग चुनावी तालमेल गरि प्रचारलाई तिब्रता दिएको छ । तिलोत्तमामा उपमेयर  सहित चार वटा वडामा वडाध्यक्ष राष्ट्रिय जनमुक्तिलाई दिने गरी चुनावी तालमेल गरीसकेको छ। त्यस्तै बुटवलका बिभिन्न वडामा पनि नेपाली काँग्रेस र जनमुक्तिबीच चुनावी तालमेल भएको छ। त्यस बाहेकका स्थानीय तहमा विभिन्न पार्टीसंग चुनावी तालमेलका लागि पहल भईरहेको नेपाली काँग्रेस रुपन्देही जिल्ला प्रचार प्रसार समन्वय समितिका संयोजक विश्वेश्वरप्रसाद बस्यालले जानकारी दिए।

प्रकाशित: २२ जेष्ठ २०७४ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App