२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पुन:मतदानको विरोधमा एमालेको प्रदर्शन

चितवन- निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान हुने निर्णय सुनाएको विरोधमा एमाले चितवनले शनिबार साँझ मसाल जुलुस निकाल्यो। नारायणगढ लायन्स चोकबाट निस्केको मसाल जुलुस बजार परिक्रम गर्दै पुलचोकमा पुगेर सकिएको थियो ।

उनीहरुले मतदान गर्ने निर्णय खारेज गरेर मतगणना सुरु गर्न माग गर्दै नारा लगाएका थिए । निर्वाचन आयोगको निर्णयको विरोधमा चितवनमा एमालेसँगै अन्य तीन दलले पनि विरोध वक्तब्य निकालेका छन्। नेकपा (माले), राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपालले एमालेसँगै संयुक्त विज्ञप्ती निकालेर निर्वाचन आयोगको निर्णय अस्वीकार गर्ने बताएका छन्।

                एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, राष्ट्रिय जनमोर्चका जिल्ला उपध्यक्ष अमरबहादुर जिसी, नयाँ शक्ति नेपालका जिल्ला सहसंयोजक पदमबहादुर गुरुङ र नेकपा (माले)का जिल्ला सदस्य सन्तोष श्रेष्ठले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा आयोगको निर्णय गैर कानुनी र अलोकतान्त्रिक भएको उल्लेख छ। निर्वाचन जसरी पनि जित्ने माओवादी योजनाको मतियार आयोग बनेको उनीहरुको आरोप छ।

                भरतपुर महानगरपालिकाको २९ वटा वडामध्ये २७ वटा वडाको निर्वाचन परिणाम घोषणा भएको छ । घोषणा हुन बाँकी १९ र २० नम्बर वडामध्ये १९ नम्बर वडाको गणना सुरु भएर अन्तिम चरणमा पुग्नै लाग्दा गएको आइतबार राति मतपत्रहरु च्यातिएका थिए । मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीका दुईजना प्रतिनिधिलाई गणना स्थलबाटै समाएको थियो । उनीहरु विरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

                मुद्दा दायर भएसँगै उनीहरु एक एक लाख रुपैयाँ धरौटी राखेर छुटेका छन् । भरतपुरमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल छ । मेयर पदमा माओवादीबाट काँग्रेसको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल उठेकी छन् । उनी सुरु देखि नै एमालेका उम्मेद्वार देवि ज्ञवाली भन्दा पछाडी थिइन् ।

                मतगणना अन्तिम हुँदै गर्दा मतान्तर कम भए पनि दाहालले भन्दा ज्ञवालीले नै जित्ने सम्भावना बलियो थियो । यस्तो अवस्थामा मतपत्र च्यातेर सत्तारुढ गठबन्धनले वडा नं. १९ मा फेरि चुनाव गराउने नियत राखेको एमालेको आरोप थियो । काँग्रेसको गढका रुपमा चिनिएको वडा नं. १९ मा फेरि मतदान भए दाहालका पक्षमा धेरै मत पर्न सक्ने सम्भावना भएर यस्तो गरेको एमालेले भन्दै आएको छ।

                कुल २८९७ मत खसेको वडा नं. १९ मा १८०३ मत गनेर सकिदा दाहालभन्दा ज्ञवाली ७३३ मतले अगाडी थिए । निर्वाचन आयोगले सो वडामा चुनाव गराउने निर्णय दिएपछि एमाले चितवनले शान्तीपुर्ण रुपमा विरोधका कार्यक्रमहरु गर्नै बताएको छ ।

 

               

 

प्रकाशित: २० जेष्ठ २०७४ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App