१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

पुनः मतदानको निर्णय एमालेलाई अमान्य

काठमाडौँ- नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ।

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने र यसका लागि कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको हो।
सो महानगरपालिकाको वडा नं– १९ को मतगणना जारी हुँदा केही मतपत्र च्यातिएको घटनाको छानबिनपछि आयोगले सो वडामा पुनः मतदानमा जाने निर्णय गरेको थियो । यही विषयमा पुनःमतगणना हुनुपर्ने माग राखी एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।

बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगले मुलुकमा निर्वाचन गराउने दायित्वभन्दा सत्तारुढ दलको दबाब र प्रभावमा परेर यस्तो निर्णय गरिएको आरोप लगाउँदै यो प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रह गरे।

उनले भने, “बरु सत्तारुढ दलका उम्मेदवारलाई सरक्क विजयी घोषणा गर्दा हुन्छ, निर्वाचन अपराधमा संलग्नलाई प्रोत्साहन हुने निर्णय लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल खाँदैन।”

अध्यक्ष ओलीले भोलिका लागि तय भएको नयाँ प्रधानमन्त्रीको निर्वाचनमा सदन अवरोध भएका कारण भाग लिने प्रश्नै नआउने बताउँदै सो सम्बन्धी निर्वाचन प्रक्रिया नै संसद्मा प्रस्तुत भइनसकेको उल्लेख गरे। रासस

 

प्रकाशित: २० जेष्ठ २०७४ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App