८ वैशाख २०८१ शनिबार
राजनीति

‘धेरै भए चिप्ला भाषण, अब विकास’

धनकुटाको साँगुरीगढी–६, भेडेटारमा भोट माग्दै कांग्रेसका उम्मेदवार जितेन्द्र रुम्दाली राई । तस्बिर : सिद्धराज रार्इ

साँगुरीगढी – नेपाली कांग्रेसबाट साँगुरीगढी गाउँपालिका प्रमुखका उम्मेदवार जितेन्द्र रुम्दाली राई बिहीबार बिहान भेडेटारका घरघर पुगेर भोट माग्दै थिए । उनी आफूले जितेमा गाउँपालिकामा लागू गर्ने विकासनिर्माणका योजना मतदातालाई सुनाइरहेका थिए ।  ‘बाटोघाटो, पर्यटन र कृषि प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्नेछु, जनताको मतको सम्मान गर्नेछु,’ उनले भने । उनले यसो भनिरहँदा छेउमै उभिएकी साँगुरीगढी ६ की गजेनश्वरी लिम्बू केही बोल्न तयार भइन् । ‘चिप्ला भाषण र आश्वासन त धेरै सुनियो, अब विकास गर्ने नेता चाहिएको छ । यसपालि राम्रो उम्मेदवार छानेर भोट हाल्नेछु,’ उनले भनिन् ।

चैत अन्तिमदेखि नै जितेन्द्र मतदाता भेटघाटमा व्यस्त छन् । ‘मतदाता जागरुक हुँदै गएकाले मैले व्यक्तिगत रूपमै भेट्ने गरेको हुँ,’ उनी भन्छन्, ‘उनीहरूमा स्वतस्फूर्त जागरण आएको देखिन्छ ।’

मतदाताले उम्मेदवारसँग चिप्ला भाषण र फोस्रा आश्वासनभन्दा तत्काल गर्न सकिने विकास योजना माग्न थालेका छन् 

संघीय समाजवादी फोरम नेपालबाट साँगुरीगढी गाउँपालिका वडा नं. ६ का अध्यक्षका उम्मेदवार रमेश सुब्बा यसपटकको चुनावमा मतदाताको मनस्थिति बदलिएको धारणा राख्छन् । २०५४ सालमा एमालेबाट साबिक भेडेटार ४ मा अध्यक्ष जितेका उनी यसपालि फोरमबाट लड्न लागेका हुन् । ‘आमजनतालाई पहिचान, अधिकारका कुराभन्दा पनि गाउँमा विकास चाहिएको छ,’ २० वर्षअघिको चुनावी अभियान स्मरण गर्दै उनी भन्छन्, ‘त्यसबेला मतदाता घन्टौंसम्म पार्टीका सिद्धान्त, नीति र दार्शनिक भाषण सुन्थे, तर अहिले भाषण छाँट्न थाल्यो भने मतदाता चिढिएलान् भन्ने डर छ ।’

धनकुटाका दुरदराजका गाउँमा पनि पहिलेको दाँजोमा मतदातामा व्यापक चेतना आएको कांग्रेसका उम्मेदवार जितेन्द्रको ठम्याइ छ । ‘पहिलेको चुनाव जस्तो चिल्ला कुरा गरेर जित्न मुस्किल छ,’ उनी भन्छन्, ‘मतदाताले कसलाई जिताइयो भने गाउँमा विकास हुन्छ भनि लेखाजोखा गरिसकेका छन् ।’

घरदैलो अभियानमा गाउँगाउँ पुगेका कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय फोरमलगायत दललाई मतदाताले पेचिलो प्रश्न सोध्ने गरेका छन् । ‘केही दिनअघि चुनावी अभियानमा मुक्तेन, धारापानी गाउँमा पार्टीले उठाएको पहिचानको मुद्दाबारे कुरा गर्दा मतदाताले वास्तै गरेनन्,’ संघीय फोरमका सुब्बा भन्छन्, ‘उनीहरूले बाटोघाटो, बिजुली, खानेपानी, स्कुल, स्वास्थ्य चौकी, सामुदायिक भवन आदिको माग राखे ।’ उनको विचारमा अब गाउँमा कुरा मात्र गरेर मतदाता आकर्षित गर्न गाह्रो छ ।

साँगुरीगढी गाउँपालिकाका जनताले सडक, कृषि, पर्यटन, खानेपानीलगायत क्षेत्रमा दीर्घकालीन विकास योजना अगाडि सार्ने उम्मेदवारलाई यसपालि जिताउने भेडेटारमा तीन दशकदेखि चियापसल गर्दै आएकी लघुमाया तामाङले बताइन् । ‘१५ वर्षदेखि जनप्रतिनिधि नभएकाले जनता दिक्क छन्, त्यही भएर पनि विकासका लागि योग्य उम्मेदवार छान्नुपर्छ भन्ने जनताको सोच छ,’ उनी भन्छिन्, ‘जनताले गाउँ राम्रो होस्, विकास पुगोस् भन्ने चाहन्छन् ।’

एमालेका नेता पनि कांग्रेस र संघीय फोरमका नेताजस्तै धारणा अघि सार्छन् । साँगुरीगढीका एमाले नेता तथा भेडेटारका पूर्वगाविस अध्यक्ष अनिल रानामगर मतदाताको मनोविज्ञान बुझेर चुनावी रणनीति नै परिवर्तन गर्नुपरेको सुनाउँछन् ।

‘पहिले गाउँगाउँमा मञ्च बनाउँथ्यौ, भाषण गथ्र्याैं, अब त्यस्तो छैन,’ उनी भन्छन्, ‘अहिले मतदातालाई भाषण सुन्न चाख छैन ।’ गाउँका समस्या पहिल्याएर समाधानको उपाय पत्ता लगाउन एमालेले सरोकारवालासँग विभिन्न क्षेत्रमा गएर अन्तरक्रिया गर्ने गरेको उनी प्रस्ट पार्छन् । तीन सातादेखि एमालेको चुनावी अभियानमा खटिएका रानामगर मतदाताले तत्काल गर्ने कामको योजना माग्ने गरेको बताउँछन् ।

साँगुरीगढी ६ का हरिबहादुर लिम्बूको विचारमा लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन भएकाले चुनावपछि मतदाताले ठूलो अपेक्षा राखेका हुन् । पछिल्लो समयमा गाउँगाउँमा मोबाइल र इन्टरनेटको पहुँच बढेकाले मतदाता चनाखो हुँदै गएका छन् । ‘हाम्रो मात्र होइन, राम्रोलाई जिताउनुपर्छ भन्ने जनताको मनसाय छ,’ उनी भन्छन्, ‘त्यही भएर पार्टीहरूले पनि यसपटक काम गर्नसक्ने उम्मेदवारलाई उठाएका छन् ।’

जनप्रतिनिधि नहुँदा लामो समयसम्म स्थानीय तहमा कर्मचारीको मनोमानीले विकासले गति लिन नसकेको तथा दलीय संयन्त्रको भागबन्डाले बेथिति बढेकाले जनता प्रतिनिधि छान्न उत्सुक रहेको उनको धारणा छ ।

धनकुटा बहुमुखी क्याम्पस ग्रामीण विकासका उपप्राध्यापक किरण घिमिरे एक दशकयता धनकुटा जिल्लामा चेतनाको स्तर बढेकाले स्थानीय निर्वाचनमा त्यसको प्रतिबिम्व देखिएको बताउँछन् । ‘साक्षरतादर पहिलेभन्दा बढेको छ, वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले गाउँमा पूर्वाधार विकास हँुदै गएको छ,’ उनी भन्छन्, ‘साँच्चिकै गाउँको विकास गर्ने हो भने पार्टीभन्दा पनि राम्रो व्यक्तिलाई जिताउनुपर्छ भन्ने सोचको विकास भएको छ । पार्टीको कार्यकर्ताभन्दा पनि विवेकी मतदाताको संख्या बढेको छ ।’

स्थानीय तह चुनावमा उठेका उम्मेदवारलाई मतदाताले चिन्ने भएकाले भाषणभन्दा पनि कामबाट मूल्यांकन गर्ने घिमिरेको विश्लेषण छ । एक वर्षअघि साक्षरता दर ९५ प्रतिशतभन्दा माथि पुगेपछि धनकुटालाई पूर्ण साक्षरता जिल्ला घोषणा गरिएको थियो ।

साविकको भेडेटार, आहाले, महाभारत, डाँडाबजार, बुढीमोरङ, फाक्सिव र खुवाफोक गाविस गाभिएर बनेको साँगुरीगढी गाउँपालिकामा १३ हजार ७ सय ७५ मतदाता छन् । विगतको चुनावमा एमालेको पकड क्षेत्र रहेको यस गाउँपालिकामा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने स्थानीय हरिबहादुर लिम्बूको आकलन छ । २०५४ को स्थानीय निर्वाचनमा यस क्षेत्रबाट एमालेले जितेको थियो । २०७० को दोस्रो संविधानसभा चुनावमा पनि एमालेले बढी मत ल्याएको थियो । २०६४ को पहिलो संविधानसभा चुनावमा भने माओवादीको पक्षमा जनमत देखिएको थियो ।

परिस्थिति फेरिँदै गएकाले दुई दशकअगाडिको नजितालाई मात्र आधार मान्नु युक्तिसंगत नहुने कांग्रेस उम्मेदवार जीतेन्द्रको धारणा छ । कांग्रेस र समाजवादी फोरमबीच तालमेल भएकाले आफ्नो अवस्था सुदृढ बन्दै गएको उनको दाबी छ ।

कांग्रेसले उपमेयरमा समाजवादी फोरमका बलबहादुर राई र फोरमले मेयरमा कांग्रेसका जीतेन्द्रलाई सघाउने सहमति छ । एमालेबाट गाउँपालिका प्रमुखमा देवमान राई र कुमारजंग याक्खा आकांक्षी देखिए पनि पार्टीले टुंगो लगाइसकेको छैन । उपप्रमुखमा विन्द्रा राई, तुलसा सुब्बा र रमा इबा लिम्बू आकांक्षी देखिएका छन् । माओवादी केन्द्रबाट प्रमुखमा जगत राई र उपप्रमुखमा सरस्वती लिम्बूको टुंगो लागिसकेको छ । राप्रपाबाट प्रमुखमा धर्मध्वज राई र चन्द्र याक्खा आकांक्षी देखिएको जिल्ला उपाध्यक्ष टीकाप्रसाद घिमिरेले बताए ।

धनकुटा, पाख्रिबास र महालक्ष्मी गरी तीन नगरपालिका तथा साँगुरीगढी, चौबिसे, खाल्सा–छिन्ताङ–सहिदभूमि र छथर जोरपाटी गरी चार गाउँपालिका रहेको धनकुटाका कूल मतदाता संख्या ९५ हजार ८ सय ८७ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०५४ सालको स्थानीय निर्वाचनमा धनकुटा नगरपालिकासहित ३५ गाविसगरी ३६ स्थानीय निकायमध्ये एमालेले नगरपालिकासहित ३५ र राप्रपाले एक गाविसमा जित हासिल गरेको थियो । त्यसबेला कांग्रेसले कुनै पनि नगर र गाविसमा प्रमुख जितेको थिएनन् । महाभारत र होलिखर्क गाविसमा मात्र राप्रपासँग तालमेल गरी कांग्रेसले उपाध्यक्ष जितेको थियो ।

प्रकाशित: १९ जेष्ठ २०७४ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App