१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्व सांसद र वडाध्यक्षले कार्यालय प्रमुख कुटे

वडाध्यक्ष खेमबहादुर रावल र पूर्व प्रदेशसभा दानसिंह परियार।

पूर्व प्रदेशसभा सदस्य दानसिंह परियार र एक जना वडाध्यक्षले पूर्वाधार विकास कार्यालय मुगुका प्रमुखलाई कुटपिट गरेका छन्। सांसद विकास कोषको रकमबाट भएको कामको पूरै भुक्तानी नदिएको भन्दै कर्णाली प्रदेशसभाका पूर्व सदस्य परियार र मुगुको छायानाथ रारा नगरपालिका वडा नं. ६ का अध्यक्ष खेमबहादुर रावलले पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दत्त बुडथापालाई कुटपिट गरेका हुन्।

पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख बुडथापाका अनुसार संसद विकास कोष अन्तर्गत सञ्चालित दुई वटा योजनाका लागि छुट्याइएको बजेट पूरै भुक्तानी दिन पूर्व सांसद परियारले दवाव दिएका थिए । ‘प्रक्रियाविपरित आफूले भुक्तानी दिन नसक्ने बताएपछि उहाँ (परियार) र वडाध्यक्ष रावलले कार्यकक्षमै कुटपिट गर्नुभयो,’उनले भने, ‘प्राविधिकहरुलाई पनि ज्यान मार्ने धम्की दिनु भएको छ।’

पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ४० लाख र ५० लाखका दुई वटा सडक निर्माण भएका थिए। संसद विकास कोष अन्तर्गतको पूर्वाधार विकास कार्यक्रममार्फत माथिबालै हुँदै पातीहाल्ना सडकका लागि ४० लाख र खडकधारादेखि रिगामाडुसम्मको सडकका लागि ५० लाख छुट्याइएको थियो।

४० लाखको योजनामा ११ लाख र ५० लाखको योजनामा ३३ लाख बराबरको मात्रै काम भएको छ । ‘कार्यालयबाट नापजाँच गर्दा ४० लाखको योजनामा ११ लाखको मात्रै काम भएको देखियो, ५० लाखको योजनामा ३२ लाखको हाराहारीमा काम भएको छ,’ उनले भने, ‘जति काम भएको छ, त्यतिनै रकमको फाइल खडा गर्न खोज्दा ममाथि आक्रमण भयो।’  

उनले शनिबारको दिन भएपनि भुक्तानीको काम भइरहेको थियो। बेलुका चार बजेतिर परियार र रावलसहितका आएर पूरै भुक्तानी गर्न भनेको र आफूले त्यसो गर्न नसक्ने भनेपछि हातपात गरेको बताए। उनले प्राविधिक कर्मचारीहरुलाई पनि परियारले ज्यान मार्ने धम्की दिएको बताए।  

प्रहरीले कर्मचारी कुट्ने पूर्व सांसद परियार र वडाध्यक्षलाई पक्राउ गरेको जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले पीडितको उजुरीका आधारमा शनिबार रातिनै आरोपितहरुलाई पक्राउ गरिएको बताए। ‘हामीले दुई जनालाई पक्राउ गरेर हिरासतमा राखेका छौं, अहिले यो विषयमा छलफल हुँदैछ,’ उनले भने 

प्रकाशित: २४ असार २०८० ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App